काठमाडौं, असार १०
नेपाल खेलकुद महासंघले मनाङको नासो गाउँपालिका–१ मा राहत वितरण गरेको छ । १ असारमा परेको अविरल वर्षाका कारण पूरै गाउँ प्रभावित भएको मनाङमा आज राहत सामग्री वितरण गर्न महासंघ गएको पुगको हो । महासंघले कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै कोभिड नो भिड नाराका साथ अभियान सुरु गरेको हो । बाढी–पहिरो गएपछि देशका विभिन्न ठाउँमा राहत वितरण सुरु गरेको महासंघले आज नेकपा एमाले नेता कर्ण थापा र महासंघका इन्चार्ज दावा लामाद्धारा त्रिभुवन विमानस्थलमा राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा सुरु भएको यस अभियानमा आज काठमाडौंबाट हेलिकोप्टरमा सामान लगेर नासो गाउँपालिका–१ को ताल गाउँका बाढी–पीडितलाई वितरण गरिएको हो । उक्त गाउँका सबै ८० घर परिवार बाढी–पहिरोका कारण घरबारविहीन हुनुभएको छ । महासंघले आज नासो गाउँपालिका–१ का पीडितलाई लत्ताकपडा, भाँडाकुँडा, तेल, नुनलगायतका सामग्री दिएको हो ।
राहत वितरण कार्यक्रमको संयोजन गर्नुभएको महासंघको उप–महासचिव शान्ता माया परियारले ताल गाउँमा परेको विपत्तिमा थोरै भए पनि मल्हम लगाउन सकिन्छ कि भनेर राहत सामग्री लिएर मनाङ गएको बताउनुभयो । त्यस्तै उपाध्यक्ष पर्शुराम बस्नेतले देशमा नेपाली दाजुभाईलाई जहाँ दुःख पर्छ, प्रकृति विपत्तिका कारण समस्यामा पर्नुहुन्छ, त्यहाँ नेपाल खेलकुद महासंघको उपस्थिति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मनाङका नेपाली दाजुभाइको मन दुख्दा हाम्रो सानो भए पनि उपस्थिति भयो, यसले हामीलाई हाम्रो कर्तव्यसँग नजिक बनाएको आभाष भएको छ । खेलकुद महासंघ दुःखको साथी हो, सहारा हो । समस्यामा परेका थप ठाउँहरूमा पनि हामी राहत वितरण गर्नेछौं ।’ राहत वितरणका लागि नासो पुग्नुभएको महासंघका अध्यक्ष रमेशकुमार पौडेलले त्यहाँ बाढीको प्रभाव अतुलनीय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मनाङमा परेको विपत्तिले हामी सबैको मन दुखेको छ । समस्या परेको ठाउँमा हाम्रो उपस्थिति हुँदा त्यहाँको अवस्था सहज होला भन्ने हामीले अनुमान गरेका छौँ ।’ त्यस्तै राहत सामग्री हस्तान्तरण कार्यक्रममा नासो गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले महासंघलाई आभार प्रकट गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्