जनता टाइम्स

१४ असार २०७८, सोमबार ०७:३०

गलवानको सेरोफेरोमा भारत–चीन सम्बन्ध


भारत–चीनको सम्बन्धलाई लिकमा ल्याउन चिनियाँ राष्ट्रपति देग र भारतीय प्रधानमन्त्री राजीव गान्धीको योगदान मुर्धन्य रहेको थियो । कालान्तरमा मोदी र जिनपिङ् ले १८ पटक वार्ता गरेता पनि सम्बन्ध लिकमा नआउनु आफैंमा दुर्भाग्यपूर्ण तथा लज्जास्पद रहेको छ । यस सम्बन्धमा किशोर मेह्बुबानीले केहि कुटनीतिक सुत्रहरु सार्वजनिक गरेका छन् । उनले प्रष्ट रुपमा जापान र चीनको उदाहरण दिँदै के भनेका छन् भने जापानले चीनको भू–भाग कब्जामा लिएता पनि चीनले जापानको प्रविधि र अनुभवलाई उपयोग गरेर प्रगतिका पथमा अगाडी बढेको छ

विपिन देव

सन् २०२० को जुलाई महिनामा चीन र भारतका बीच चलिरहेको सीमा विवादमा परी १५ जुलाईतिर भारतका लगभग ३० सैनिक जवानहरु गलवान घाटीको लडाईंमा सहादत प्राप्त गरेका थिए । हुन त चिनियाँ कम्युनिष्ट पार्टीद्वारा संरक्षित मुख्य पत्रिका ग्लोबल टाइम्सले चीनको सैनिक हाताहात नभएको जानकारी दिँदादिँदै गरेको भएता पनि एसियाका समाचार सुत्रहरुले चिनियाँ सैनिकहरुको सहादतको संख्या ५० भन्दा माथि नै रहेको दाबी गरेका थिए । सन् २०२०, जुलाई १५ को दिनमा भएको घटनाको बारेमा सन् २०२१ जुलाई १५ देखि संसारका मुर्धन्य समाचार गृहहरुले भारत–चीनको सम्बन्धको बारेमा बहस र छलफल चलाएका छन् । आजभोलीका दिनहरुमा भारत–चीनको सामरिक क्षमता र सामरिक चुनौतीको बारेमा पनि व्यापक बौद्धिक बहसहरु भैरहेका छन् । सिंगापुरका ली क्वाउन विश्व विद्यालयका प्रकाण्ड विद्वान कान्ती बाजपेयीले यहि सेरोफेरोमा “इण्डिया भर्सेज चाइना” भन्ने पुस्तक प्रकाशित गरेका छन् । कान्ती बाजपेयीको पुस्तक चीन, भारतको वर्तमान सामरिक अवस्थालाई आलोकित गर्दछ ।

बाजपेयीले आफ्नो पुस्तकमा चीनको नीति निर्माताको मनोविज्ञानको बारेमा चर्चा गरेका छन् । साथ–साथै चीन–भारतका सम्बन्धलाई निर्धारण र मापन गर्ने चारटा प्रमुख आधारहरु रहेका छन् । तीमध्ये आपसी दृष्टिकोण, भू–भागीय समस्या, सामरिक दृष्टिकोण र राष्ट्रवाद हुन् । आपसी दृष्टिकोणलाई आधार मान्ने हो भने चिनियाँ कम्युनिष्ट पार्टीले भारतको बारेमा नयाँ भाष्य तयार गरेको छ । भारतको राजनीतिक व्यवस्थालाई जङ्गल राज्यको संज्ञा दिएको देखिन्छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ् ले भारतको शासन व्यवस्थालाई जङ्गली प्रजातन्त्र भनेर उपहास गरेका छन् । त्यस्तै कम्युनिष्ट पार्टीले चीनलाई केन्द्रीय शक्तिको रुपमा राखेका छन् र वरिपरिका मुलुकहरुलाई सहायकका रुपमा वर्गीकृत गरेका छन् ।

बाजपेयीले आफ्नो पुस्तकमा चीन र भारत जहिले पनि अलग–अलग कित्तामा रहेको कुरा नै उद्घोष गरेका छन् । नेहरु युगदेखि राजीव गान्धीको युगसम्म पनि भारत, सोभियत संघ रुसको कित्तामा थियो भने चीन ७० को दशकमा निक्सन र हेनरी किसिञ्जरको सद्भाव प्राप्त गरेर मात्र पश्चिमा अर्थतन्त्र र प्रविधिको प्रचुर मात्रामा लाभ लिन सफल भएको थियो । भारत, अमेरिकासँग नजिक भैरहेको परिवेशमा चीन–रसियाको मैत्री चुलिएको अवस्थामा छ । साथ–साथै चीन र भारतको द्वन्द बढ्नुको कारण भारतको काश्मिर नीति र गलवान क्षेत्रमा भारतले पूर्वाधार विकास गर्नु पनि हो । अर्थात् काश्मिरमा धारा ३७० हटाएपछि चीन भारतसँग चिढिएको छ । कान्ती बाजपेयीका अनुसार भारत–चीनको बीचमा भएको द्वन्दको कारक तत्वहरुमध्ये राष्ट्रवाद पनि प्रमुख हो ।

चीनले राष्ट्रावादको एउटा नयाँ भाष्य तयार गरेको छ । ती भाष्यका अनुसार चीनको पुरानो वैभव र सामर्थ्यलाई फर्काउनु चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख उद्देश्य रहेको छ । अर्थात् चीनको सीमा र भुमिसँगको विवाद १४ वटा छिमेकीसँग रहेको देखिन्छ । भारत र चीनको विवादको प्रमुख कारण तिब्बत रहेको कुरा ली क्वाउन विश्वविद्यालयका मुर्धन्य विद्वान रहेका किशोर मेह्बुबानीले जाहेर गरेका छन् । मेह्बुबानीले तिब्बतको मुद्दाको कारणले चीन जहिले पनि भारत सँग शंका–उपशंका तथा वैरीको नजरले आफ्नो सामरिक नीतिहरु अगाडी बढाइरहेको कुरा उनले जनाएका छन् । तिब्बतको भू–भाग चीनको कुल भू–भागको ४० % जति रहेको छ । दलाई लामा जीवनको दोषाधमा छन् । नयाँ दलाई लामाको चयनमा भारतको ठुलो भूमिका तथा प्रभाव रहेको छ ।

तिब्बती मनोविज्ञान, पश्चिमा खेल र दलाई लामाको चयनजस्ता माध्यमहरुबाट भारत, चीनमाथि ठुलै दबाब सिर्जना गर्न सक्दछ । किशोर मेह्बुबानीका अनुसार चीनले बोर्डरमा भारतमाथि दबाब दिनुको कारण भारतको तिब्बत नीतिलाई प्रभावित गर्नु जस्तै हो । भारतको क्वार्डमा सक्रियता हुनु, जी सेभेनको सम्मेलनमा सहभागिता हुनु र इण्डोप्यासिफिक रणनीतिमा अगाडी बढ्नुजस्ता परिघटनाले चीन, भारतप्रति सशंकित रहेको छ । डोकलामदेखि गलवानसम्म भारतलाई दबाबमा राखेर भारतको अन्तर्राष्ट्रिय सक्रियतालाई निस्तेज पार्न चिनियाँ नीति रहेको छ । तर, भारतले यसलाई अवसरको रुपमा प्रयोग गर्दै चीनको प्रभाव र दबाबलाई मत्थर पार्न आफ्नो सम्बन्ध र समीकरण अमेरिका, युरोप, अष्ट्रेलिया, जापान र आसियानका मुलुकहरुसँग व्यापक रुपले सम्बन्ध बलियो पारिरहेको छ ।

भियतनाम चीनसँग आक्रान्त भएता पनि चीनसँग लाभ लिँदै आफ्नो अर्थतन्त्रमा कायापलट गरेको छ । अमेरिकाले बेलग्रेड स्थित चिनियाँ राजदूतावासमा बम प्रहार गरेता पनि चीनले अमेरिकाको बजारलाई परित्याग चैं गरेनन् । यस अर्थमा भारतले धीर र गम्भीर भएर पनि आफ्नो आर्थिक क्षमतामा व्यापक सुधार गरेर र चीनको प्रविधि र बजारलाई ध्यानमा राखेर अगाडी बढ्नुपर्ने देखिन्छ । सोभियत संघको विकल्पको रुपमा चीन उभिएको छ , त्यही ऐतिहासिक अवसर र भू–राजनीतिक अवस्था भारतलाई प्राप्त भएको छ । यस अवस्थामा भारतको अर्जुनदृष्टि आर्थिक विकासमा लक्षित हुनुपर्दछ र द्वन्द शिथिलिकरणतर्फ भारत अगाडी बढ्नु पर्दछ

भारत–चीन सम्बन्ध शिथिलिकरण नभएको खण्डमा एसियाका अरु मुलुकहरुले पनि अमन–चयन महसुस गर्न सक्दैनन् । यस परिवेशमा भारत र चीनको सम्बन्धलाई सामान्य र शान्त बनाउन बारम्बार पहल भएता पनि कुनै खास प्रतिफल प्राप्त नभएको अवस्था छ । भारत–चीनको सम्बन्धलाई लिकमा ल्याउन चिनियाँ राष्ट्रपति देग र भारतीय प्रधानमन्त्री राजीव गान्धीको योगदान मुर्धन्य रहेको थियो । कालान्तरमा मोदी र जिनपिङ् ले १८ पटक वार्ता गरेता पनि सम्बन्ध लिकमा नआउनु आफैंमा दुर्भाग्यपूर्ण तथा लज्जास्पद रहेको छ । यस सम्बन्धमा किशोर मेह्बुबानीले केहि कुटनीतिक सुत्रहरु सार्वजनिक गरेका छन् । उनले प्रष्ट रुपमा जापान र चीनको उदाहरण दिँदै के भनेका छन् भने जापानले चीनको भू–भाग कब्जामा लिएता पनि चीनले जापानको प्रविधि र अनुभवलाई उपयोग गरेर प्रगतिका पथमा अगाडी बढेको छ ।

भियतनाम चीनसँग आक्रान्त भएता पनि चीनसँग लाभ लिँदै आफ्नो अर्थतन्त्रमा कायापलट गरेको छ । अमेरिकाले बेलग्रेड स्थित चिनियाँ राजदूतावासमा बम प्रहार गरेता पनि चीनले अमेरिकाको बजारलाई परित्याग चैं गरेनन् । यस अर्थमा भारतले धीर र गम्भीर भएर पनि आफ्नो आर्थिक क्षमतामा व्यापक सुधार गरेर र चीनको प्रविधि र बजारलाई ध्यानमा राखेर अगाडी बढ्नुपर्ने देखिन्छ । सोभियत संघको विकल्पको रुपमा चीन उभिएको छ , त्यही ऐतिहासिक अवसर र भू–राजनीतिक अवस्था भारतलाई प्राप्त भएको छ । यस अवस्थामा भारतको अर्जुनदृष्टि आर्थिक विकासमा लक्षित हुनुपर्दछ र द्वन्द शिथिलिकरणतर्फ भारत अगाडी बढ्नु पर्दछ ।