जनता टाइम्स

२६ असार २०७८, शनिबार १५:५३

कोपा अमेरिकामा अर्जेन्टिनाबिरुद्ध ब्राजिल : यस्तो छ इतिहास


काठमाडौं, असार २६

कोपा अमेरिकाको महाभिडन्त आईतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा हुने भिडन्तले दक्षिण अमेरिकी फुटबलको नयाँ शक्ति राष्ट्रको टुङ्गो लगाउनेछ । दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र १ सय ११ पटक एक आपसमा भिडेका छन् । जसमा अर्जेन्टिनाले ४० खेलमा जित दर्ता गरेको छ ।

ब्राजिल ४६ खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्यांक छ । अन्तिम पटक दुवै टिम सन् २०१९ को नोभेम्बरमा मैत्रीपूर्ण फुटबलमा भिडेका थिए । जहाँ मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो । तर अन्तिम पटक मुख्य प्रतियोगितामा दुवै टिम न् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा भिडेका थिए । जहाँ ब्राजिल २–० ले विजयी बनेको थियो ।

हेड टू हेडका आधारमा ब्राजिल बलियो देखिन्छ । कोपा जस्तो ठुलो खेल स्पर्धामा ब्राजिलको ईतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन । कोपा अमेरिकाको ईतिहासमा अर्जेन्टिनामाथि ब्राजिल सधै हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।

दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्रको कोपा अमेरिकाको पछिल्ला ५ नतिजा

कोपा अमेरिका २०१९ :

दुवै टिम कोपा अमेरिकाको सन् २०१९ को संस्करणमा भेटेका थिए । सेमिफाईनलको सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकालेको थियो । ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए ।
कोपा अमेरिका २००७ :

सन् २००७ को कोपा अमेरिकाको फाईनलमा दुवै टिम भिडेका थिए । सो खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । ब्राजिललाई उपाधि जिताउन जुलियो बापिस्टा र ड्यानी आल्भेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोबर्टो अयालाले एक गोल फर्काएका थिए ।

कोपा अमेरिका २००४ :

सन् १९९ को कोपा अमेरिकामा पराजित बनेको ५ वर्षपछि अर्जेन्टिनाले ब्राजिलसंग सन् २००४ को कोपाको फाईनलमा प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिल ४–२ ले विजयी बनेको थियो ।

कोपा अमेरिका १९९९ :

दक्षिण अमेरिकी प्रतिद्धन्दी सन् १९९९ को कोपाको क्वार्टरफाईनलमा भिडेका थिए । सो खेल ब्राजिलले २–१ ले जितेको थियो । ब्राजिलका लागि रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए । अर्जेन्टिनाका लागि जुआन पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।

कोपा अमेरिका १९९५ :

कोपा अमेरिका सन् १९९५ को क्वार्टरफाईनलमा ब्राजिल र अर्जेन्टिनाको भेट भएको थियो । ब्राजिल खेलमा फर्कदै निर्धारित समयको खेलमा २–२ को बराबरी गरेको थियो । अन्तिममा सेमिफाईनलको तय टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिलले ४–२ ले बाजी मारेको थियो । एजेन्सी