काठमाडौं, असार २८। नेकपा एमालेका नेता भीम आचार्यले कानुनी र संवैधानिक बाटो हिँड्न छाडेर सर्वोच्च अदालत राजनीतिक बाटोमा हिँडेको बताउनुभएको छ ।
सर्वोच्च अदालतको आजको फैसलाको विषयमा बोल्दै उहाँले एमालेका सचिव रहेका आचार्यले संसद पुनःस्थापना गरेर प्रधानमन्त्री छान्ने जिम्मा प्रतिनिधिसभालाई दिनुपर्नेमा अदालतले त्यसो नगरेको बताउनुभयो । आचार्यले सर्वोच्च अदालतले नै प्रधानमन्त्री तोकिदिनुलाई अधिकार क्षेत्र मिचेको समेत बताउनुभयो ।
उहाँले अदालतलाई राजनीतिक बाटोमा हिँड्नका लागि उकास्ने काम भने राजनीतिक दलले नै गरेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा चर्को बिरोध गरेका नेता आचार्यले अदालतले हिँडेको बाटो त्यति राम्रो नभएको बताउनुभयो । उहाँले आइतबार नेकपा एमालेका फरक फरक समूहको बीचमा भएको सहमतिलाई भने अदालतको फैसलाले कुनै असर नगर्ने बताउनुभयो । आचार्यले भन्नुभयो , ‘त्यो हाम्रो आन्तरिक समस्या हो, यो अर्कै । हामी एकता प्रक्रियामा अगाडि बढेका छौँ ।’
आचार्यले शेर बहादुर देउवाले विश्वासको मत लिने बेलामा आफूहरुले सोच्ने बताउनुभयो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका नेपाल–खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए । आचार्य नेपाल–खनाल पक्षका नेता हुनुहुन्छ। उहाँ पछिल्लो समय एमाले एकताको लागि प्रयासरत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्