काठमाडौं, साउन १५ । दोलखा जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई संचालनको अनुमती पाएको छ । उक्त अनुमति पाएसँगै शैक्षिक गुणस्तरका लागि राय सुझावका लागि राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जिल्लाको प्रतिष्ठा बनेको क्याम्पसको समग्र शैक्षिक गुणस्तर सुधार एवं प्रतिस्पर्धाका लागि शैक्षिक दीग्गजहरु राखेर कार्यपत्रसहितको कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य विशाल खड्काले क्याम्पस दोलखाको साझा पहिचान भएको भन्दै एकिकृत रुपमा लाग्न आवश्यक भएको बताउनुभयो। यता एमाले सांसद शान्ती पाख्रीनले व्यवस्थापन विषयसँगै अन्य प्राविधिक शिक्षालाइ पनि जोड दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्काले आगामी दिनमा क्याम्पसले दुरदराजमा रहेका विद्यार्थीलाइ सहज र सुलभ ढंगले शैक्षिक व्यवस्था गर्नुपर्ने सुझाव राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. हरीदर्शन श्रेष्ठले क्याम्पसमा ग्रामिण विकासको अध्ययन पनि संचालन गर्न सुझाँउदै विश्वविद्यालयबाट विभिन्न विधाका प्रोफेसरहरुलाइ अतिथिको रुपमा निश्चित समयका लागि पारिश्रमिक दिएर प्राध्यापनमा गर्न लगाउन सके झनै व्यवस्थापन पक्ष र विद्यार्थीलाइ फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय तहले अबका दिनमा शैक्षिक संस्था खोल्नुभन्दा भएको शैक्षिक संस्थामा छात्रवृत्तिको व्यवस्था गराउनु पर्ने, जिल्लालाइ शैक्षिक हब बनाउन सबै मिलेर लाग्नुपर्ने, संस्थागत सहयोग र समन्वय आवश्यक भएको जस्ता सुझाव राखेका थिए । क्याम्पस संचालन समिति अध्यक्ष राजेन्द्र मानन्धरले विज्ञहरुको सुझावलाई मनन गर्दै आगामी दिनमा यसको शैक्षिक गुणस्तर एवं प्रतिस्पर्धाका लागि काम गर्ने बताउनुभयो ।

उहाँले क्याम्पस स्थापनाका निम्ति अमुल्य योगदान दिने सबै अग्रजहरुको सम्मान र इतिहासको जगेर्ना गर्न पुस्तिका निकाल्ने तयारी भएको पनि जानकारी गराउनुभयो । त्रिभुवन विश्व विद्यालयले विभिन्न जिल्लाका २३ सामुदायिक क्याम्पसहरुलाई व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाउन अनुमति दिए संगै दोलखाको चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पनि यो विषयमा पढाई सुरु हुन लागेको हो।
भदौदेखि सुरु हुने व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढ्न छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोकमा जिल्लाका विद्यार्थी समेत आउन सक्ने अपेक्षा समितिले राखेको छ । करिब ११ सय विद्यार्थी र २५ जना प्राध्यापक रहेको उक्त क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका विषयहरुमा स्नातकोत्तर तहसम्म अध्ययन भइरहेको छ । कार्यक्रममा प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, क्याम्पस संस्थापकहरु आत्मकृष्ण श्रेष्ठ, बैकुण्ठ प्रधान, देवेन्द्र राज शर्मा, सुन्दर खड्का, दिव्य ध्वज कार्की, संस्कृतिविद् , संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्