जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार ०८:०४

प्रधानमन्त्री देउवासँग सुरु भयो प्रचण्डको लफडा


काठमाडौं, साउन १८ । नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल समूह मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।

यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाउनु भएको हो र भन्दै पनि आउनुभएको छ । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।

खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको छ । यो संकेत प्रधानमन्त्री भएको महिना दिन हुन लाग्दापनि मन्त्रीपरिषद विस्तार गर्न नसक्नुले पुष्टि गरेको छ । देउवाले पनि गठबन्धनलाई पेल्दै केहि दिन अघि गरेको स्वास्थ्य राज्यमन्त्री नियुक्ती पनि एक हो । प्रधानमन्त्री देउवाको कार्यशैलीको गठबन्धन भित्र तिव्र आलोचना सुरु भएको छ ।