जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार १४:१७

संसदबाट ओलीको घोषणा : असाधारण जनमतका साथ फेरि पनि मुल ढोकाबाट सिंहदरवार प्रवेश गरिने छ (भिडियोसहित)


काठमाडौं, साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च फेरि पनि असाधारण जनमतका साथ सिंहदरवार प्रवेश गर्ने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बिशेष समय लिएर बिपक्षी दलका नेताका रुपमा पहिलो पटक आफ्नो धारणा राख्दै निवर्तमान प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

आफू जनमतबाट प्रधानमन्त्री भएको तर परमादेशबाट हटाइएको भन्दै ओलीले सर्वाेच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाउनु भयो । ‘पहिलो पटक प्रधानमन्त्री हटाउँदा पनि मैले भनेको थिएँ, म मुलढोकाबाट, मुल बाटोबाट, मुल गेट बाट, मुल ढोकाबाट आउने छु, अहिले फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधरण जनमतका साथ फेरि पनि मुल बाटोबाट, मुल ढोकाबाट सिंहदरवार प्रवेश गरिने छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पहिलो पटक प्रधानमन्त्री भएको बेला आफ्नो काम हेरेर जनताले जिताएको भन्दै अवको निर्वाचनमा असाधारण जनमत लिएर सिंहदरवारमा आउने बताउनु भयो । ‘मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन । म बिभिन्न पार्टीका नेताहरुका महत्वाकांक्षा, कुण्ठा, इष्र्या, जलनबाट पनि म प्रधानमन्त्री भएको होइन । बिभिन्न नेताको गठजोडबाट पनि प्रधानमन्त्री भएको होइन,’ ओलीले भन्नुभयो ।

उहाँले आफू जालझेल र किर्ते काम गरेर प्रधानमन्त्री नबनेको र षडयन्त्रबाट हटनु परे पनि किन्चित चिन्ता नभएको बताउनु भयो । ‘म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिईंन, र म परमादेशबाट पनि प्रधानमन्त्री भएको होइन, जनादेशबाट भएको हो, प्रधानमन्त्री पद दाइजोबाट पाउने चिज होइन, म जनताबाहेक अरुबाट प्रधानमन्त्री बन्ने चाहना राख्दिन । असंबैधानिक गठबन्धनबाट त्यो जिममेवारी खोसिएको छ । दुनियामा राजनीतिमा कहिले काँही यस्तो हुँदोरहेछ,’ ओलीले भन्नुभयो ।