काठमाडौं, २ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद अहिलेको पुस्ताको लागि अत्यन्त गम्भीर चुनौतीलाई सम्बोधन गर्ने साझा प्रयास भएको बताउनुभएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले वातावरण परिवर्तनको प्रभाव आजको प्रमुख चुनौती बनेको बताउनुभयो । उहाँले हिमाल जोगाउन नसके जीव र पृथ्वीलाई नै जोगाउन नसकिने धारणा राख्नु भयो ।
अहिले संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिने बताउँदै उहाँले विश्व एउटा भूभागमा सल्किएको डँडेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउने बताउनुभयो । त्यसैले अब स्थानीय र विश्वव्यापी भन्ने चिज नै नरहेका उहाँले सुनाउनुभयो । ‘टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र बिथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन्, केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ’, उहाँले भन्नुभयो ।
यही गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवादको लागि स्थान सगरमाथा संवाद आयोजना गरिएको उहाँले बताउनुभयो । ‘आपसी ज्ञान साटासाट गर्न र सामूहिक कदम चाल्न सगरमाथा संवादको जन्म भएको हो, हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौँ’, उहाँले भन्नुभयो ।
सगरमाथा पृथ्वीको सर्वोच्च शिखर भएको बताउँदै ओलीले सगरमाथा संवाद पनि त्यत्तिकै उच्च बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘उच्च नैतिक स्पष्टतामा,दृढ बौद्धिक साहसमा र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा यो सफल बनोस्’, उहाँले भन्नुभयो ।
आज विश्व अग्ला बहुपक्षीय चुनौतीका पहाड सामु खडा रहेको ओलीले बताउनुभयो । ‘चुनौतीहरू विशाल छन् र तीव्र रूपमा नजिकिँदै छन्, महामारीपछिको पुनः स्थापना अझै नाजुक छ, जलवायु सङ्कट झन् तीव्र बन्दै छ, संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ, वैश्विक शासन प्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ, असमानता देशभित्र र देशहरूका बिचमा गहिरिँदो छ, एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्योलको आँधीमा रुमलिएको छ र अझै यस्तो अन्यौलता बिच हामी संवादको शक्ति बोकेर सरल तर शक्तिशाली विश्वासमा अडिग छौँ’, ओलीले भन्नुभयो ।
ओलीले भूगोलको टुक्रा मात्र नभएर चेतनाको जागृत भूमि पनि भएको बताउनुभयो । ‘नेपाल भूगोलको टुक्रा मात्रै होइन, यो पवित्र भूमि हो-जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ, यहीँ चेतना जागृत भएको थियो, यो बुद्धको भूमि हो, यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो-जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो, यो त्यही भूमि हो-जहाँ सन्तहरूले ध्यान गरे, साधकहरूले सत्य फेला पारे, जहाँ ऋषिहरूले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे’, ओलीले भन्नुभयो ।
नेपाल सदा खोजकर्ताहरूको थलो रहँदै आएको उहाँले बताउनुभयो । ‘विजेताहरूको होइन-चिन्तकहरूको,युद्धको होइन-संवादको, हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने संस्कृतिमा अडेको छ, सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा, सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो’, उहाँले भन्नुभयो ।
नेपाल प्राचीन परम्पराको एउटा सौम्य भूमि भएको उहाँले बताउनुभयो । ‘यस्तो स्पेस जहाँ प्रज्ञा नतमस्तक हुन्छ-विनम्रताका साथ, जहाँ विविध स्वरहरू एकसाथ गुन्जिन्छ श्रद्धाका साथ र जहाँ जवाफ खोजिन्छ-अहम्बाट होइन, सहअनुभूतिका साथ’, ओलीले भन्नुभयो ।
नेपाल र नेपालीलाई एउटा प्राचीन वादे वादे जायते तत्त्व बोधले सम्झाइ रहने उहाँले बताउनुभयो । ‘संवादबाटै सत्य, चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कश आवाजले, सत्य संवादले काम गर्छ, सुन्ने र गुन्ने क्षमताले, अन्तर्मनको वचनले’, उहाँले भन्नुभयो ।
सगरमाथा संवाद यस पवित्र परम्परालाई जीवन्त राख्ने विनम्र प्रयास भएको उहाँले बताउनुभयो । जलवायु परिवर्तन र हिमालहरू मानवताको भविष्यसँग जोडिएका उहाँले बताउनुभयो । हिमाली मुलुक हुनुको नाताले, नेपालको लागि यो थाहा नभएको विषय हुनै नसक्ने उहाँले बताउनुभयो । ‘यो त हाम्रो दैनिक यथार्थ हो, तर केवल हाम्रो मात्र होइन विश्वकै साझा चिन्ताको विषय हो, के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन संरक्षकहरूका संरक्षणबिना बचाउन सकिन्छ ? हिमालहरू टाढाका लाग्न सक्छन्, तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ, आर्कटिकदेखि एण्डीजसम्म, आल्प्सदेखि हिमालयसम्म, तिनीहरू पृथ्वीका जल भण्डार हुन्, तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् र तिनीहरू अहिले भयङ्कर संकटमा छन्, तिनीहरूको नाजुकता हाम्रो साझा असुरक्षित अवस्था हो’, उहाँले भन्नुभयो ।
हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो भन्ने सन्देश संसारकै सर्वोच्च शिखर सगरमाथाको काखबाट स्पष्ट र दृढताका साथ दिन खोजिएको उहाँले बताउनुभयो । ‘हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो, हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो, हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो, यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक सङ्कल्प होस्, सुनिने एउटा सङ्कल्प,कार्यमा उत्रने र हातेमालो गर्दै भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने सङ्कल्प’, ओलीले भन्नुभयो ।
जलवायु परिवर्तन अब सुदूरको खतरा नभई हाम्रो समयको सबैभन्दा ठुलो चुनौती भएको उहाँले बताउनुभयो । यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि, कुनै पनि राष्ट्र यसबाट अछुतो छैन, कुनै पनि समाज पूर्ण सुरक्षित छैन, तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्, ती गरिबहरू,ती अत्यन्त असुरक्षितहरू, ती हिमाली र कम विकसित राष्ट्रहरू, नेपाल पनि तीमध्ये एक हो’, ओलीले भन्नुभयो ।
यो सङ्कट ल्याउनमा नेपालको खासै भूमिका नभए पनि यसको सबैभन्दा कठोर परिणाम नेपालीले नै भोगिरहेका उहाँले बताउनुभयो । ‘हिमनदीहरू पग्लिरहेका छन्, वर्षा अनिश्चित बन्दै गइरहेको छ, पहिरोहरूले घर-बास बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात् आउँछन्, तर अझै, हामी डटिरहेका छौँ, हाम्रा उत्सर्जनहरू न्यून छन्, लगभग नगण्य, तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन्’, कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
हाम्रा हिमालय पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका भएका ओलीले बताउनुभयो । हाम्रा जङ्गल-जसले हाम्रो आधा भूभाग ढाकेका छन्, कार्बन सोस्छन्, आशाको सास फेर्छन्, हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्, लाखौँको प्यास मेटाउँछन्, हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन्, धरतीको समृद्ध जैविक विविधतालाई सम्हाल्छन्’, उहाँले भन्नुभयो ।
नेपालले सन् २०४५ सम्ममा खुद शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको बताउँदै उहाँले विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले नेपाले अनुकूलित योजनाहरू अघि बढाइरहेको बताउनुभयो । ‘हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दै छौँ, हामी दिगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दै छौँ, तर हामी यी काम एक्लै गर्न सक्दैनौँ, कुनै देशले पनि एक्लै गर्न सक्दैन, जलवायु परिवर्तन एक वैश्विक आपत् हो, यसको समाधान पनि वैश्विक हुनुपर्छ, एक यस्तो उपाय-न्यायमा आधारित, उत्तरदायित्वमा आधारित, ऐक्यबद्धताबाट उत्प्रेरित जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्ने उहाँको स्पष्ट धारणा छ । ‘उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ, वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिवृद्धि मार्फत’, ओलीले स्पष्ट शब्दमा भन्नुभयो ।
उहाँले हिमाललाई नबिर्सन सबैलाई आग्रह गर्नुभयो । विश्वका वार्ताहरूमा तिनीहरू प्रायजसो उपेक्षित हुने गरेका ओलीले गुनासो गर्नुभयो । तिनैले जलवायु सन्तुलन कायम राख्छन् भन्ने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘तिनैले पानीको भण्डारण गर्छन्, तिनैले जमिनलाई पुनः सिञ्चित गर्छन्, तिनैले जीवनको रक्षा गर्छन्, जब हिमाल पग्लिन्छन् उपत्यकाहरू पीडित हुन्छन्, नदीहरू सुक्छन्, बालीहरू नष्ट हुन्छन्, सागरहरू उर्लन्छन्, जीवन विखण्डित हुन्छ’, उहाँले भन्नुभयो ।
हिमालय हाम्रो तेस्रो ध्रुव भएको बताउँदै ओलीले अहिले विश्व औसतभन्दा छिटो तात्दै गएको प्रति चिन्ता जनाउनुभयो । ‘हिमनदीहरू हराउँदै छन्, हिमतालहरू फैलिँदै छन्, तटीय क्षेत्रका करोडौँ मानिसहरू जोखिममा छन्’, उहाँले भन्नुभयो ।
यति बेला विश्वलाई साहसी र एकीकृत दृष्टिकोण चाहिएको ओलीले बताउनुभयो । अहिले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको उहाँको धारणा छ । ‘हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्, हामीले ध्यान दिनुपर्छ विशेष वित्तीय सहयोगसहित, तदनुकूलका नीतिहरू सहित, हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ, जलवायु उत्थानशील बालीहरू बढाउनु पर्छ, महिला र युवालाई अगाडि ल्याउनु पर्छ र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ’, उहाँले भन्नुभयो ।
आलीले जोखिम मूल्याङ्कन बलियो बनाउन पूर्व सूचना प्रणाली निर्माण गर्न जरुरी रहेको बताउनुभयो । ‘डाटा साझेदारी गरौँ, सीमापार सहकार्य मजबुत पारौँ र सबैभन्दा महत्त्वपूर्ण–हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आबद्ध गरौँ, यसरी नै हो-दिगो उत्थानशीलता बढाउने, यसरी नै हो-पृथ्वीको सम्मान गर्ने र र यसरी नै हो-हाम्रो साझा भविष्य जोगाउने’, ओलीले भन्नुभयो ।
हिमालहरूले हामीलाई प्रेरणा दिने ओलीको धारणा छ । ‘अलग रहने भनेर होइन,अझै माथि उठ्न सकिन्छ भनेर हो, तिनीहरूले दृष्टिकोण दिन्छन्, तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन्, त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ-सङ्कीर्ण स्वार्थहरूभन्दा माथि, साझा उच्च उद्देश्यतर्फ, आउनुहोस्, हामी हातेमालो गरौँ, साहस र संवेदनाका साथ अगाडि बढौँ न्यायपूर्ण भविष्यका लागि’,उहाँले भन्नुभयो ।
दिगो पृथ्वीका लागि हामीलाई नवीन सङ्कल्प, साहसी विचार, नयाँ लगानी र क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य आवश्यक रहेको ओलीले बताउनुभयो । ‘हरित, उत्थानशील र दिगो भविष्य रोजाइ मात्र होइन अघि बढ्ने एक मात्र बाटो हो’, ओलीले भन्नुभयो ।
सगरमाथा संवाद विनम्र अर्पण भएको उहाँले जानकारी दिनुभयो । ‘सुन्ने-गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च, विश्वास निर्माण गर्ने एक साझा थलो, सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता र मानिसहरूबिचको समानता, दूरको सपना होइन, जीवित यथार्थ बनोस्, आउनुहोस्, हामी आरोहण गरौँ उत्थानशीलताको चुचुरोतिर, न्यायको शिखरतिर र साझा आशामा निर्माण भएको भविष्यतिर’,उहाँले भन्नुभयो ।
यसमा सबैको विद्धताको अपेक्षा गरिएको बताउँदै उहाँले सगरमाथा संवादभरि आफ्ना आवाज दृष्टिकोण राख्न सहभागीलाई अनुरोध गर्नुभयो ।
संवादमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाका प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्