जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १३:२९

कोरोना खोप भनेर ८ हजार बढीलाई नुनपानी


काठमाडौं, साउन २९ । जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ । बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोपको साटो नुनपानी लगाउनुभएको हो । उक्त घटना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । उक्त समयमा ६ जनालाई मात्रै नुनपानी दिइएको बताइएको थियो ।

आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गर्नुभएको थियो । तर, प्रहरीको अनुसन्धानले ८ हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीको ठहर छ । कोरोना विरुद्धको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्याउन आग्रह गरेका छन् ।

उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ । तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । अहिलेसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ ।

जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्याउनका लागि तयार भएको बताइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्याउनका लागि समय लिएका छन्। जर्मनी खोपविरुद्ध थुप्रै प्रदर्शनहरू भएको देश हो । प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई ती ४० वर्षीया स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा ‘कोरोनाबारे नकारात्मक जानकारी’ लेलेको र सरकारले भाइरसको सङ्क्रमण रोक्न लगाएको प्रतिबन्धको पनि आलोचना गरेको बताएका छन्।