जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १२:५३

वातावरण परिवर्तनको प्रभाव नियन्त्रण नगर्ने हो भने मानव सभ्यता नै खतरामा पर्न सक्छ : आरजु देउवा 


काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी नेपालले खेप्नु परेको बताउनुभएको छ ।

शुक्रबार नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रमा बोल्दै राणाले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम् वातावरणको लागि धेरै ठुलो योगदान गरे पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको बताउनुभयो । ‘छिट्टै समाधान ननिकाल्ने हो भने भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्छ, छिट्टै यसको समाधान खोज्नु पर्छ’, उहाँले भन्नुभयो ।

हिमालहरूले जलवायु परिवर्तनको ठुलो भार बोक्नु परेको बताउँदै उहाँले जलवायु परिवर्तनबाट भएको प्राकृतिक प्रकोपले सो क्षेत्रमा बस्ने मानिसको अस्तित्व संकटमा परेको बताउनुभयो । ‘हिम नदीहरू पग्लिरहेका छन्, हिमाली क्षेत्रमा बस्ने मानिसहरू प्रकृतिमा निर्भर हुने भएकाले जलवायु परिवर्तनबाट भएको प्राकृतिक प्रकोपले त्यहाँ बस्ने मानिसको अस्तित्व नै खतरामा परेको छ’, राणाले भन्नुभयो ।

जलवायु परिवर्तन विश्वव्यापी सङ्कट भएको बताउँदै उहाँले यसलाई कम गर्न साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्कटमा परेका देशका लागि पर्याप्त र प्रभावकारी क्षति र नोक्सानीको क्षतिपूर्ति दिनु पर्ने उहाँको धारणा छ ।