सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’ को गाउँ इटहरा पुगें । एकदिनको पर्खाइपछि कालो टोपी, फिक्का आकाशे रंगको टेरिकटनको सर्ट र हाफप्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटें । आखिर ‘जीवन शर्मा’ को नामले मसँग चिनाइएका व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदोरहेछ, जुन कुरा पछि मात्रै मैले थाहा पाएँ ।
ईश्वर पोखरेल
२०३५ को असार अन्तिमतिर हुनुपर्छ, मिति एकिन सम्झना छैन । मध्य वर्षातमा हराभरा बनेका खेतबारी र वनबुट्यानले गर्मीयामको खपिनसक्नु उष्णता रोक्न सकिरहेको थिएन । म भने कहिल्यै नगएका–नपुगेका बस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’ बाट प्रभावित भई ‘को-अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका ‘मुक्तिमोर्चा’ समूहका एक जना क्रान्तिकारी– ‘जीवन शर्मा’ लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट निर्देशित थियो ।
कुरा के थियो भने–पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टी ‘मोर्चा संगठन’ सित सम्बन्धित अधिकांश नेता–कार्यकर्ताले भर्खरै विद्रोह गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’ लाई कारण देखाउँदै विद्रोह गरेर उनीहरू ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’ मा सामेल हुने घोषणा गरिरहेका थिए । उनीहरूको संगठन ‘मुक्ति–मोर्चा’ को नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी २०३५ साल साउन ४–५ गते हुन लागेको ‘कोके’को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गइरहेको थिएँ ।
सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’ को गाउँ इटहरा पुगें । एकदिनको पर्खाइपछि कालो टोपी, फिक्का आकाशे रंगको टेरिकटनको सर्ट र हाफप्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटें । आखिर ‘जीवन शर्मा’ को नामले मसँग चिनाइएका व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदोरहेछ, जुन कुरा पछि मात्रै मैले थाहा पाएँ ।
घटना नम्बर-१
‘कोके’को ‘तेस्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भइरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पञ्चायती व्यवस्थाका पुलिसहरू बाहिर बाक्लो गस्तीमा थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो भन्ने ठेगान थिएन । तर, कुनै पनि बेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह–तहमा सुरक्षा प्रबन्ध त हामीले गरेका थियौं, तर त्यसले पुलिसको अस्वाभाविक आक्रमणको संभावना टार्न सकिन्नथ्यो ।
हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षा व्यवस्था गर्यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दूक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनुभएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका बारेमा त साथीहरूले केही केही बुझ्नुभएको थियो तर मदन पनि विश्वस्त भएर बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । तर, जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चकित भए ।
यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– वैचारिक रूपमा त उहाँ प्रखर नेता हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाइँका निम्ति पनि तयार नेताका रूपमा हामीले उहाँलाई बुझ्यौं ।
घटना नम्बर-२
‘कोके’को संगठन विस्तारमा मदनको भूमिका सशक्त थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठानिक संरचना खडा गरियो, जसको प्रमुख स्वयं मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुनः व्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो । ११–१४ पुस २०३५ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका–९, मोरङ) मा स्थानीय आधारभूत वर्गका किसानहरूको बस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । व्यवस्थापनको नेतृत्व मदनले गर्नुभएको थियो ।
यो सम्मेलन चलिरहँदा संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्यो । यही बेला पार्टीका सिनियर नेताहरू रामचन्द्र यादव र धनुषा जिल्ला कमिटी सदस्य अशेश्वर यादवले उग्रवामपन्थी चिन्तनको वकालत गरे । त्यहीबेला अर्को कोणबाट केही साथीहरूले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै विसर्जन उन्मुख विचार पनि अघि सारेका थिए । यसरी पार्टी स्थापनाको दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपरेको थियो । त्यसको प्रतिवादमा मदनले सक्रियताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निष्प्रभावी बनायौं ।
घटना नम्बर-३
२०४६ भदौमा सिरहाको सर्रेअम्बास (हाल धनगढीमाई नगरपालिका) मा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन सर्वसम्मत महासचिवमा निर्वाचित हुनुभयो । त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलनपश्चात् खुला भएका राजनीतिक पार्टीहरू वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक उचाइका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गडेको तथ्यलाई त्यसबेला सहजै बुझ्न सकिन्थ्यो ।
उक्त महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक अवस्थामा परिवर्तन ल्याउन दुइटा महत्वपूर्ण विषयमा नीतिगत निर्णय गरेको थियो । पहिलो, वाममोर्चा गठन गर्नुपर्ने आवश्यकता । विभिन्न वामपन्थी समूहलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो मदनको । किनकि सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एकठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत बहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– उहाँको । छरिएका वाम पार्टीहरूलाई गोलबन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । अर्को बिषय, प्रधान राजनीतिक शत्रुका रूपमा रहेको निरंकुश र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा रहेका सबै शक्तिसित सहकार्य गर्ने, यस अन्तर्गत नेपाली कांग्रेससित पनि निरंकुशता र निर्दलीयता विरोधी संघर्षमा कार्यगत एकता गर्ने प्रस्ताव थियो, उहाँको ।
अर्को ज्यादै महत्वपूर्ण कुरा के थियो भने– कार्यक्रमिक सोचमा नवीनता । परम्परागत ढंगले अघि बढाउँदै आएको नौलो जनवादी कार्यक्रमलाई अन्तर्वस्तु र सूत्रीकरणमा समेत परिवर्तन गरी ‘बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ अगाडि सारिएको थियो । यही मान्यता र सूत्रीकरणको जगमा उभिएर २०४९ को पाँचौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रमलाई ‘जनताको बहुदलीय जनवाद’ को रूपमा अघि सारिएको थियो । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन माले पार्टीले त्यसअघि २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सकेको थियो ।
२०४० सालसम्म मदन केन्द्रीय सदस्य मात्रै हुनुहुन्थ्यो । तर बैठकहरूमा उहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ सालमा सीपी मैनालीसँगको विवादपछि महासचिव बन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटब्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो केन्द्रीय कमिटी । बैठकमा बहस, छलफल हुँदा मलगायत अरू कति साथीहरू मदनले अगुवाइ गर्ने बहसमा पक्ष भएर उभिंदा गौरवबोध हुन्थ्यो । पछिपछि त उहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी बन्दै जान थाल्यो कि उहाँलाई पोलिटब्यूरोमा ल्याउनै पर्ने भयो ।
मदन पोलिटब्यूरो सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण र कार्यक्रमिक विषयहरूलाई अद्यावधिक गर्ने सवालमा उहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो । मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसबेला उहाँ केवल ३९ वर्षको मात्रै हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले एमालेभित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी बुझ्नसकेका छन जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्बन्धमा आ–आफ्नै धारणा राख्नेहरूको संख्या काफी छ । अझ कतिपयले त उहाँलाई भावनात्मक हिसाबले मात्र बुझिरहेका छन जस्तो लाग्छ ।
तर, मदन भण्डारीलाई बुझ्नु एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा होइन, यो त आन्दोलन र कम्युनिष्ट आन्दोलनभित्रका सही विचारको विकासक्रमलाई कसरी बुझ्ने वा बुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनुभयो । पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी साहित्यको गहन एवं समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताले विकसित भएको व्यक्तित्व थियो–मदन भण्डारीको । नेकपा (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले उहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त बेजोड मानेको छु ।
मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामञ्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका बीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले कांग्रेस र वामपन्थीबीच सहकार्यको मार्गचित्र तय गर्यो । उहाँको यही वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्यो। आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रक्रियाको ढिलाइले र विषयलाई बोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैनथ्यो । कतिपय बेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधवकुमार नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो ।
म त्यसबेला काठमाडौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २६ चैत २०४६ को राजा, कांग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रुझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशनविपरित सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेन्टिमेन्ट’मा चैत २६ गतेको ऐतिहासिक र संयुक्त विजय सभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो र बोल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सधैं लखेटिरहन्छ– त्यसबेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्याउन सकेका थियौं कि थिएनौं ? मदन आफैं यसबेला रहनुभएको भए यो प्रसंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?
२०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति बन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा ‘इतिहास र ऊर्जाको सम्मिश्रण’ गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरिछाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा उहाँ संकल्पबद्ध हुनुहुन्थ्यो । यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म मनमोहन अधिकारीलगायत नेताहरूलाई साथमा लिएर उहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनुभएको थियो ।
नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रूपमा एउटा अभियान बनेर देशव्यापी रूपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्यो । तीव्र वैचारिक बहसकै बीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक बहुमतले पारित गरेको थियो । त्यसले मुलुकको प्रजातान्त्रिक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उदघोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनुभयो ।
घटना नम्बर -४
आम निर्वाचनमा भर्खरै कांग्रेसका लोकप्रिय नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने मदनले बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतन्त्रीकरण, माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यता अघि सार्नुभएको थियो । उहाँले कार्यक्रमको यो सार र सूत्रीकरण अघि सारिरहँदा मूलतः तीनवटा कुरालाई मुख्य आधार मान्नुभएको थियो । पहिलो, नेपालकै कम्युनिष्ट आन्दोलनका अग्रजहरूले लिएका सकारात्मक विचारहरूको उन्नत निष्कर्ष । दोस्रो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवका निचोड । र, तेस्रो दर्शन र सिद्धान्तले अगाडि सारेका द्वन्द्वको सर्वव्यापकता सम्बन्धी मान्यता । मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र काठमाडौंको दशरथ रंगशालामा बीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालायित देखिन्थे ।
तर अचम्म ! मदनले हजारौंको त्यो उपस्थितिमा बोल्न पाउनुभएन । त्यहाँ मनमोहनले बोल्नुभो, माधव, झलनाथ र सीपीले समेत बोल्नुभो तर मदनले बोल्न पाउनुभएन । मदनले बोल्नुपर्छ भनेर मैदानमा बस्नेहरू कराइरहेका थिए, तर पनि उहाँले बोल्ने अवसर नै जुरेन । यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नि ? उदघाटन सभा सकेर मदन र म सँगै फर्किएका थियौं । उहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उदघाटन सभामा आफूलाई बोल्न नदिएको बारेमा मुखै खोलेर त केही बोल्नुभएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थताका बारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका बावजुद पनि महाधिवेशनको बन्दसत्रमा उहाँले प्रस्तुत गर्नुभएका विचार, योजना र नेतृत्वको सानदार विजय भएको थियो ।
घटना नम्बर -५
२०४८ सालको आम निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो, जसले उसभित्र भनिनसक्नुको उन्माद जन्मायो । कांग्रेसको सर्वसत्तावादी चिन्तन र एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने, त्यस हिसाबले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मूठभेडको स्थिति बन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरुद्ध एमाले लगायत प्रतिपक्षीहरू मात्र नभएर स्वयम् कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजीकै आग्रहमा यस मोर्चाबन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनुभएको थियो । यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफल भएका थिए । मलाई लाग्छ, केही महत्वपूर्ण योजनाहरू समेत बनेका थिए । १ जेठ २०५० मा मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा उहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरूतर्फ पनि संकेत गर्नुभएको थियो ।
गणेशमानजीसित त्यसबीच पटक–पटक भएका भेटघाटबारे जानकारी गराउँदै आफू काठमाडौं बाहिर रहेका बेला मलाई सम्पर्क विन्दुका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाइन टेलिफोन नम्बर गणेशमानजीलाई दिनुभएको थियो । अनि कुनै पनि बेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरण सहितको एउटा टिपोट दिनुभएको थियो । मैले त्यसबेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका बारेमा जिज्ञासा राखेको थिएँ ।
मदनको निर्देशन थियो– यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, गोपनीयता बचाउनुहोला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशन उदघाटनका लागि हिंड्ने तयारीमा लाग्नुभयो । म मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागें । बिसं २०३५ असारमा पहिलो पटक भेटेको मदनसँग १ जेठ २०५० बिहान साढे आठ बजेपछि फेरि कहिल्यै भेट भएन !
मदन भण्डारीसितको १४ वर्ष १० महिनाको लामो निरन्तरको सम्बन्ध, सहकार्य अनि मित्रता र सान्निध्यतामा अत्यन्त विश्वास, आत्मीयतामा एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रूपमा बिताएँ । ती मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरू हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ ।
हार्दिक श्रद्धाञ्जली जननेता मदन भण्डारी !
प्रतिक्रिया दिनुहोस्