काठमाडौं, भदौ ३ । नेपाल खेलकुद महासंघले राजनीतिक अस्थिरता र कुशासनका विरुद्ध आफ्नो विरोधको कार्यक्रम आज पनि जारी छ । देउवा सरकारले राजनीतिक दल विभाजन गर्ने उद्देश्यले जारी गरेको अध्यादेश, भूमि आयोग खारेजीलगायतका मुद्दा उठाएर देशैभरी आन्दोलनको घोषणा गरेको महासंघले आज काठमाडौंको त्रिपुरेश्वरलगायत नेपालका विभिन्न शहरमा प्रदर्शन तथा कोणसभाको आयोजना गरेको हो ।
खेलाडी, खेलकर्मी तथा महासंघका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको काठमाडौंको सभालाई सम्बोधन गर्दै अध्यक्ष रमेशकुमार पौडेलले महासंघको पहलकदमीमा अघिल्लो सरकारले बजेटमा धेरै कुराको व्यवस्था गरेको तर वर्तमान सरकारले कार्यान्वयन गर्ने कुरामा दिनप्रतिदिन शंका बढ्दै गएको हुँदा खेल र खेलाडीको अहित हुने तथा अनादर गरिने सबै किसिममा कार्यका विरुद्ध लड्नका लागि महासंघ सधैं तत्पर रहेको धारणा राख्नुभयो ।
महासंघ राज्यका सम्पूर्ण निकायलाई खेलकुदको समग्र विकासका सन्दर्भमा रचनात्मक सहयोग तथा सहकार्य गर्नका लागि सधैं तत्पर रहेको पनि अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘राजनीतिक दल विभाजन गर्नका लागि परमादेशबाट बनेको देउवा सरकारले ल्याएको विधयकले सिंगो बहुदलीय व्यवस्था तथा स्थिरता र तिव्र विकासको अभियानलाई कमजोर पारेको छ । भूमि समस्या समाधान आयोग खारेजीलगायतका सरकारका पछिल्ला गतिविधिले सरकार गरीब तथा भूमिहिन जनताको विरुद्धमा रहेको समेत पुष्टि भएको छ ।’
महासंघका महासचिव मेघराज पौडेलले देशको समग्र राजनीति शुद्धिकरणका लागि खेलाडी तथा खेलक्षेत्रको महत्वपूर्ण भूमिका हुनसक्ने र राजनीतिक क्षेत्रका व्यक्तिहरुले खेलकुद क्षेत्रबाट अनुशासनको पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुको अधिकारका लागि खेलकुद महासंघले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताउँदै आम खेलाडी तथा खेलकर्मीहरुलाई साथ दिनका लागि आग्रह समेत गर्नुभयो । विरोध सभामा महासंघका सम्पूर्ण पदाधिकारीहरु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुलगायत खेलक्षेत्रका अग्रजहरुको उपस्थिति रहेको थियो । उहाँहरु सबैले यस आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्