जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १३:३२

केपी ओलीसँग एक्लै लड्ने हिम्मत कसैसँग छैन : खीमलाल भट्टराई


बुटवल, भदौ ६ । एमाले नेता खिमलाल भट्टराईले नेकपा एमालेसँग लड्ने आँट कसैसँग नभएको ठोकुवा गर्नुभएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै नेता भट्टराईले एमाले र केपी शर्मा ओलीसँग एक्लै लड्ने हिम्मत कसैसँग नभएको बताउनुयो ।

‘कसैले नेकपा एमालेसँग एक्लै फाइट गर्ने आँट गर्दैन, आज नेकपा एमाले एउटासँग फाइट गर्न, केपी ओलीसँग फाइट गर्न सबै मिल्नुभएको छ,’ केही दिन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो कुरा स्वीकार गर्नुभएको बताउँदै भट्टराईले भन्नुभयो, ‘अस्ती प्रचण्ड जीले एउटा कुरा स्वीकार्नुभयो, असाध्यै राम्रो गर्नुभयो–केपी ओलीसँग एक्लै लड्न सकिँदैन भनेर, एक्ला एक्लै फाइट गर्न आउने दम राख्नुस्, नेकपा एमाले च्यालेन्ज गर्छ ।’

उहाँले आगामी चुनावमा एमालेलाई हराएर देखाउन पनि चुनौती दिँनुभयो । ‘म चुनौती दिन चाहान्छु, अब सबै मिलेर आउनुस, केही छैन, अब जनताले जित्छ, एमालेले जित्छ,’ उहाँको भनाई थियो । एमाले नै नेपालको सर्वाधिक शक्तिशाली पार्टी रहेको भन्दै उहाँले पार्टीबाट केही व्यक्ति बाहिरिँदैमा केही फरक नपर्ने बताउनु भयो ।

भट्टराईले भन्नुभयो, ‘केही व्यक्ति आज फेरि नेपालमा अस्थिरता सिर्जना गर्ने तत्वको भरिया बनेर नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर विभिन्न स्वार्थ र पदको लोभले अर्को पार्टी बनाउन लागेका छन ।’