जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १२:१८

पूर्वमन्त्री श्रेष्ठले खोले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुको भित्री कुरा


काठमाडौं, भदौ १० । पूर्वमन्त्री तथा एमाले उपत्यका इञ्चार्ज कृष्णगोपाल श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन र कसले हटाएको भन्ने कुरा संसारका सबैलाई थाहा भएको दाबी गर्नुभएको छ । ओली नेपाली इतिहासको राजनेता भएकाले हटाइएको बताउनुभयो । नेकपा एमाले ओली समूह कीर्तिपुर नगर कमिटीले आज बिहान कीर्तिपुरमा आयोजना गरेको नगरस्तरीय छलफल कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले भन्नुभयो ,‘संसारको सबैलाई थाहा छ, केपी ओलीलाई गलत ढङ्गले सत्ताबाट हटाएको कुरा,’ ‘ओली नेपाली इतिहासको राजनेता हो कसैले बिरोध गर्दैमा केही हुनेवाला छैन ।

उहाँले मदन भण्डारीले बनाएको पार्टीमा बसेर उहाँकै श्रीमतीलाई हमला गरी अर्कोलाई सहयोग गर्नेहरु एमाले हुनै समेत दावी गर्नुभयो । १० बुँदे सहमतिलाई स्वीकार गरेर नेपाल पक्षीय ९ जना स्थायी समिति सदस्य एमालेमा फर्केकोतर्फ लक्षित गर्दै उहाँले सहमति सुझबुझका साथ गरिएको भन्नुभयो । उहाँले कीर्तिपुर एमालेमा पार्टीभित्र एकता नरहेको बारे पनि श्रेष्ठले संकेत गर्नुभएको छ । उहाँले सिङ्गो देशमा एमाले एउटा रहेको तर केही व्यक्तिका कारण कीर्तिपुरमा अर्कै प्रकारको एमाले रहँदै आएको उल्लेख गर्नुभयो । कीर्तिपुरमा पार्टीको दुई वटा कार्यालय रहेता पनि आधिकारिक र नियमित खुल्ने राधाकृष्ण बस्नेत अध्यक्ष रहेकै कार्यालय भएको पनि इञ्चार्ज श्रेष्ठले सबैलाई जानकारी गराउनुभएको छ । माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादल,लेखराज भट्टलगायतका नेताहरु एमाले र कम्युनिष्टपार्टीप्रति अति नै इमान्दार रहेको उहाँको ठोकुवा गर्नुभयो ।

त्यसैले उहाँहरुलाई पार्टीले उचित जिम्मेवारी दिनुपर्ने कृष्णगोपालको धारणा छ । पार्टी विगतको सांगठनिक ढाँचामा गइसकेको सन्दर्भ पनि उहाँले उठाउनुभयो । सोही सन्दर्भमा श्रेष्ठले पार्टीमा एकताको नाममा छिरेका नेताहरुले इमान्दार ढङ्गले काम नगरे जुनसुकै बेला हटाइने चेतावनी समेत दिनुभएको छ । आजको छलफलमा विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागे पनि अघिल्लो साता पुनः एमालेमा नै फर्किएकाहरुको सहभागिता थिएन । ओली निकटहरुले अर्को पक्षलाई संस्थापन पक्षको आधिकारिक अध्यक्ष राधाकृष्ण बस्नेत नै रहेको र पार्टी कार्यालय पनि बस्नेतकै रहेको सन्देश दिन आज बिहान छलफल कार्यक्रम राखिएको बताइएको छ ।