जनता टाइम्स

३० भाद्र २०७८, बुधबार २०:५७

सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्नै नसक्ने स्थितिमा पुग्यो : सुवास नेम्वाङ


उदयपुर, भदौ ३० । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख अग्नि सापकोटा नसच्चिएर संसद नचल्ने बटमलाइन सुनाउनु भएको छ । नेकपा एमाले उदयपुरले आयोजनामा गरेको कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेम्वाङले यस्तो बटमलाइन सुनाउनु भएको छ ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको विकासका आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको पनि बताउनु भयो । नेम्वाङले वर्तमान सरकारले विकास निर्माणका कार्यलाई प्राथमिकता नदिनु र भइरहेका काम रोक्नुले सरकार जनताका पक्षमा काम गरिरहेको छैन भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले विकासको गतिलाई रोक्ने सरकारको कदमलाई ‘प्रतिगमन’को संज्ञा दिनुभयो । सरकारका हठात् निर्णयहरूले मुलुकको विकास र समृद्धिको मार्गमा गम्भीर ठेस लाग्ने भन्दै नेम्वाङले वर्तमान सरकारले आशा गर्ने ठाउँसमेत नराखेको बताउनु भयो ।

कहिल्यै प्रचलनमा नरहेको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी गर्नुको उद्देश्य नेकपा (एमाले) विभाजन गर्नु मात्र रहेको स्पष्ट भएको उहाँको भनाइ छ । ुअध्यादेशलाई यथास्थितिमा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने हिम्मत सरकारसँग छ ? भन्दै नेम्वाङले विगतमा ४० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी हुँदा विरोध गर्नेहरूले अहिले २० प्रतिशतको प्रावधानको अध्यादेशबारे आवाजसमेत नउठाएको आरोप लगाउनु भयो ।

नेम्वाङले मुलुकलाई अस्थिरताको खाडलमा हाल्ने प्रयास भइरहेको पनि बताए । सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुगेको पनि प्रष्ट पार्नुभयो । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले विद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई एकीकृत गर्न एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ । पार्टी विभाजन भए पनि २ जेठ २०७५ को अवस्थामा फर्काउँदै उदयपुर एमालेले ईश्वरमणि राउतलाई अध्यक्ष मानेर पुनारो कमिटी ब्युँताएको छ ।

एमालेले एकीकृत समाजवादीमा गएका जिल्ला कमिटी सदस्यहरूका ठाउँमा नयाँ सदस्य पदपूर्ति गर्ने जनाएको छ । भेलालाई प्रदेश १ का पूर्व आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री मञ्जुकुमारी चौधरीले सम्बोधन गरेका थिए ।