जनता टाइम्स

९ असार २०७६, सोमबार १४:२२

शिक्षामन्त्री पोखरेलको चेतावनी : कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्छ


काठमाडौं, असार ९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गर्न सुझाव दिनुभएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले सो सुझाव दिनुभएको हो ।

उहाँले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने सरकारको मान्यता सुनाउनु भयो । ‘शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस, नयाँ पुस्ता आउँछन,’ मन्त्री पोखरेलले भन्नुभयो ।

शिक्षामा क्रान्ति र सुधार गर्दै परिवर्तन गर्ने हो भने कक्षा कोठा सिकाइ केन्द्रित हुनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । गुणस्तरहीन भयो भनी सार्वजनिक शिक्षाको निकै आलोचना भएको भन्दै उहाँले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्ने चेतावनी दिनुभयो । मन्त्री पोखरेलले देशभर अहिले पनि करीब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उहाँले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताउनुभयो ।

नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।’ स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस, आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस,’ मन्त्री पोखरेलको भनाई थियो ।
देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पुर्याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पु¥याउने, ३५ हजार विद्यालयमा बिरुवा रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गर्नुभयो । उहाँले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको बताउनुभयो । चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षामा समेत लागू गरिने उहाँले बताउनुभयो ।