जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार ०५:४०

शाही कालमा झै लुम्बिनी सरकारले बाँड्यो पत्रकारलाई हण्डी, कस्ले कति पाए ? (सूचीसहित)


बुटवल, कार्तिक ६। लुम्बिनी प्रदेश सरकारले पार्टी र मुख्यमन्त्री निकट व्यक्तिका सञ्चारगृहहरूलाई पूर्व राज ज्ञानेन्द्रकै शैलिमा मनोमानी ढङ्गबाट बजेट वितरण गरेको भन्दै सञ्चार सम्बद्ध निकायले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज, एलायन्स फर कम्युनिटी मिडिया लगायतका संस्थाहरुले आपत्ति जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ती संस्थाहरुले तोक आदेशको भरमा बजेट वितरण गरी निजी सञ्चार माध्यमका घर बनाउने, पर्खालले घेर्नेदेखि लिएर उपकरण खरिद गर्ने जस्ता शीर्षकमा बजेट छुट्याइनु बेथितिका उच्च नमुना भएको प्रस्ट पारेको छ । ‘ज्ञानेन्द्र शाह नेतृत्वको शासनका समयमा पत्रकारहरुलाई हण्डी बितरण गरे जस्तै गरी लोकतान्त्रीक राज्यले निश्चित सञ्चार माध्यमलाई प्रभावित गर्ने गरी रकम बितरण गरिनु नैतिकता र आर्थिक अनुसासन बिरुद्धको कार्य हो ।’ एलायन्स फर कम्युनिटी मिडियाको विज्ञप्तिमा लेखिएको छ ।

त्यस्तै प्रकाशन तथा प्रसारण समाजले प्रकाशित गरेको विज्ञप्तिमा बेथितिहरुलाई तत्काल रोकी सञ्चार माध्यमलाई नगद अनुदानभन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणालीमा समेट्न आग्रह गरेको छ । समाजले यसअघिको सरकारले राखेका संचारसम्बन्धी कतिपय कल्याणकारी कोषको बजेट कटौती गरिएको भन्दै समाजले बजेटलाई पुनरावलोकन गरी लुम्बिनी प्रदेश सरकारलाई मिडियामैत्री बन्न पनि आग्रह समेत गरेको छ । समाजको विज्ञप्तिमा अध्यक्ष नवराज कुँवर र सचिब माधव नेपालले हस्ताक्षर गरेका छन् भने एलायन्स फर कम्युनिटी मिडियाको विज्ञप्तिमा संयोजक दिनेश पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

कसले कति पाए ?

रेडियो जलजलको रोल्पाको लागि ३५ लाख, बुद्ध दर्पण दैनिक कपिलवस्तुको लागि २० लाख, रेडियो मायादेवी र रेडियो बुद्धआवाजका लागि ५ लाख र थप बुद्ध दर्पणको सञ्चार भवनको लागि भन्दै थप २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बुद्ध दर्पणका प्रधानसम्पादक बसन्त गिरी पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष तथा प्रेस सेन्टरका नेता हुनुहुन्छ । यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरिदको लागि भन्दै ५ लाख विनियोजन गरेको छ । यस्तै रेडियो माडी आवाजलाई मेसिनरी खरिदको लागि भन्दै १० लाख, यस्तै रेडियो रोल्पा र जलजल एफएमको लागि थप शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै रेडियो देवदको लागि १० लाख रुपैयाँ र राजापुर नपा र गेरुवा गापाभित्रका पत्रकारहरुको लागि उचित प्रबन्ध तथा सामग्री खरिदको लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामुदायियिक रेडियो कपिलवस्तुको कम्पाउण्ड लाउनको लागि ५ लाख, सामुदायिक रेडियो प्रसार संघ, ब्रोकास्टिङ्ग एशोसीयसन र महिलाहरुको रेडियो लागि जम्मा ५÷५ लाख रकम विनियोजन गरिएको छ । विभिन्न संस्थागत संस्थाहरुलाई भन्दा व्यक्तिगत रेडियो, पत्रपत्रिकाहरुको भवन निर्माण र उपकरण खरिदको लागि लाखौं रकम विनियोजन गरिएको हो ।

यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले २० लाख छुट्याइएको छ । फरक–फरक शीर्षकमा ‘रोल्पा समाचार’को नाममा प्रदेश सरकारले १०–१० लाख रकम विनियोजन गरेको ‘बजेट पुस्तक’मा उल्लेख छ ।

मुख्यमन्त्री केसीको प्रेस संयोजकका रूपमा दुई महिनाअघि मात्रै नियुक्त भएका विश्वकर्माले पदको दुरुपयोग गरी निजी ‘अफसेट प्रेस’मा सरकारी बजेट विनियोजन गर्नुभएको हो । गुणस्तरीय अफसेट मेसिन साझेदारी खरिद (रोल्पा समाचार)लाई दश लाख र उद्योग विकास तथा प्रवद्र्धन कार्यक्रम गुणस्तरीय अफसेट मेसिन साझेदारी खरिद (रोल्पा समाचार) शीर्षकमा बजेट पारिएको छ ।

‘रोल्पा समाचार’ रोल्पाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । मुख्यमन्त्रीका प्रेस संयोजक विश्वकर्मा यस पत्रिकाका प्रकाशक–सम्पादक र ‘रोल्पा अफसेट प्रेस’का सञ्चालकसमेत हुनुहुन्छ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेट तथा कार्यक्रममार्फत मुख्यमन्त्रीका प्रेस संयोजकले आफ्नो निजी कम्पनीमा दुई–दुईवटा शीर्षकको नाममा २० लाख बजेट पारेका छन् ।