काठमाडौं, १८ फागुन । एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्न नहुने मत पनि सार्वजनिक भएका छन् । तर, आफू प्रहरी नियन्त्रणमा पर्नुअघि आरोपी पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘साइबर बुलिङ’को शिकार भइरहेकी भन्दै आवाज पनि उठिरहेको छ ।
नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।
विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायका विरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरू समेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन् ।
नाबालिकाले जाहेरी दिएकै कारण ‘साइबर बुलिङ’ को शिकार हुनुपरेपछि मौनता साँधेको आरोप खेपिरहेका केही अभिनेत्रीहरूले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको बताउनुभयो । आफ्नो आधिकारिक फेसबुक पेजमा उहाँ लेख्नुहुन्छ,‘समाजको दायित्व नाबालिकालाई संरक्षण गर्नु हो । उनको को–कोसँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतिक मापदण्ड र हिलो छ्याप्ने लज्जाजनक व्यवहार नदेखाउँ ।’
अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिकाको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले दायित्व पूरा गर्ने बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।
अभिनेत्री सञ्चिता लुइँटेलले आपत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद् भएको उनहाँ भनाइ छ । कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न सञ्चिताले सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको छ । यसमा उहाँले प्रहरीको पनि ध्यानाकर्षण गराउनुभउको छ ।
अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत नै कानुनविपरीत कार्य गर्दा सजाय भोग्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘हामीले बुझ्नु पर्छ, कानुनविपरीत क्रियाकलाप गर्दा सजाय भोग्नु पर्छ । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैँमा मुर्खता हो,’ लक्ष्मीले लेख्नुभएको छ ।
मिस नेपाल श्रृङ्खला खतिवडाले एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको बताउनुभएको छ । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।
मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ? हो, उनी जताततै अन्तरवार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् ।
यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ । म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ, बहिनी । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो ।
यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् । ‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन् भने ‘हुन्न’ भन्ने काम वयस्कको हो । किनभने यहाँ पीडित केही निर्णय गर्नका लागि असाध्यै सानी छिन् । जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए । यसले उमेर,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ ।
आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो । यसले नाबालिग (केटा–केटी) को फाइदा उठाउन खोज्नेहरूलाई खबरदारी गर्छ । यो मुद्दा धेरैका लागि जागरुकताको माध्यम र धेरैका लागि पाठ बन्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्