जनता टाइम्स

७ बैशाख २०७९, बुधबार १०:२२

अर्थमन्त्रीको कनेक्सन : शाहले अमेरिकाबाट नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ‘ठगी’बाट


काठमाडौं, बैशाख ७। अछामका पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ प्रत्यक्ष रुपमा अपराधबाट सिर्जित लाभ भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयु) ले तयार पारेको विवरणपत्र अनुसार, उहाँले नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ठगी, अपराध, राजस्व चुहावट र आपराधिक लाभबाट आर्जन गरी पठाएको देखिन्छ ।

सो विवरणपत्र अनुसार पृथ्वीबहादुर शाह, उहाँका भाइ र अरु केही व्यक्तिका नाममा आएको र भुक्तानी भएको रकम आपराधिक क्रियाकलापबाट आर्जन भएको विवरणमा उल्लेख छ । १९ चैत २०७७ मा एफआईयुले तयार पारेको प्रतिवेदनमा पृथ्वीबहादुरले त्यतिबेला करिब ३५ करोड रुपैयाँ नेपाल भित्र्याइसकेको उल्लेख छ । केही रकम उहाँ र सेरोफेरोका व्यक्तिले भुक्तानी लिए भने केही राष्ट्र बैंकको पत्रबाट रोक्का छ ।

त्यतिबेला नै ३५ करोड रुपैया नेपाल ल्याएकाले त्यसपछि ल्याइएको अरु रकम जोड्दा ४० करोड हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विवरणमा नेपाल भित्रिएको ३५ मध्ये करिव ९ करोड रुपैयाँ आपराधिक क्रियाकलापबाट आर्जन भएको भन्ने उल्लेख छ ।इकाइले तयार पारेको ५ पेजको प्रतिवेदन त्यतिबेला राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको थियो । त्यही पत्रका आधारमा पृथ्वीबहादुर लगायत उनका दर्जनभन्दा बढी कम्पनीको खाता अहिले रोक्का छ ।

‘यस इकाइलाई पृथ्वीबहादुर शाह, विजय विक्रम शाह, देवेन्द्र ढुंगाना लगायत सम्वद्ध कम्पनीहरुको खातामा अस्वाभाविक कारोबार भएको जानकारी प्राप्त भएको’ नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले तयार पारेको विवरणपत्रमा भनिएको छ, ‘सो खातामा विभिन्न कारण देखाई विदेशबाट रकम जम्मा भएको र उक्त रकम ठगीबाट कमाइ भएको उल्लेख भई फिर्ता माग गरेको देखियो । यसबारे संयुक्त राज्य अमेरिकाको फिनसेनले समेत इकाइलाई जानकारी गराएको ।’

नेपाल राष्ट्र बैंक उच्च स्रोतबाट अनलाइनखबरलाई प्राप्त विवरण अनुसार, पृथ्वीबहादुर शाह र उनीसम्वद्ध कम्पनीहरुले १७ पटकको कारोबारमा भित्र्याएको करिब ९ करोड रुपैयाँ आपराधिक लाभबापतको भन्ने उल्लेख छ । अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले उक्त रकम भुक्तानी रोक्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने रकम फिर्ता दिनसमेत माग गरेको थियो ।रकम भित्र्याउने काम मात्रै होइन, त्यसको भुक्तानीको कारोबार पनि शंकास्पद रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विजय विक्रम शाह र पृथ्वीबहादुर शाहले वर्ल्ड एट वर्क कन्सल्टेन्टको नाममा १९ फागुन २०७७ मा ५७ लाख ४७ हजार ५४६ रुपैयाँ भित्र्याएको थियो । त्यसमा केही रकम थपेर विजयविक्रमले ५७ लाख ४८ हजार रुपैयाँ भुक्तानी लिनुभएको छ । ।

भोलिपल्ट अर्थात २० फागुन २०७७ त्यही खातामा अमेरिकाबाट थप १ करोड १५ लाख ८१ हजार ५२४ रुपैयाँ जम्मा भयो । उनीहरुले त्यसबाट प्राप्त रकम आफूसम्वद्ध कम्पनी र आफ्नो नाममा सारेको देखिन्छ । त्योमध्ये ५५ लाख ८४ हजार रुपैंया उनीहरु आवद्ध रहेको वर्ल्ड फस्ट होलिडे प्रा।ली।का नाममा भुक्तानी भयो । त्यो कम्पनीबाट विभिन्न व्यक्ति र कम्पनीका नाममा भुक्तानी भयो । जुन खाताबाट वर्ल्ड फस्ट होलिडे प्रा।ली।का नाममा भुक्तानी भएको थियो, त्यही खाताबाट फेरि १० लाख रुपैयाँ पहिलेको खातामा फर्काइयो । अनि त्यो खाताबाट रुकमाङ्गद काफ्ले, देवेन्द्र ढुंगाना लगायतका व्यक्तिले भुक्तानी लिए ।

This image has an empty alt attribute; its file name is image-2-768x299.png
This image has an empty alt attribute; its file name is image-3.png

अर्को दिन त्यही खातामा फेरि १ करोड १० लाख २६ हजार १७ रुपैयाँ भित्रियो । त्यहाँबाट सनराइज ज्वेलर्स, वर्ल्ड फस्ट होलिडे र विभिन्न चेकबाट व्यक्तिका नाममा रकम भुक्तानी भयो । पृथ्वीबहादुर र उनीसम्वद्ध कम्पनीहरुले नेपाल भित्र्याएको रकम केही सीमित व्यक्तिले भुक्तानी लिएको देखिन्छ । केही रकम चेकमार्फत विभिन्न खातामा गएको छ भने गहना पसलमा समेत रकम भुक्तानी भएको राष्ट्र बैंक उच्च स्रोत बताउँछ ।

पृथ्वीबहादुरलगायतले खडा गरेको अर्को कम्पनी वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा।ली।को खातामा १९ फागुन २०७७ मा ६९ लाख ५० हजार ६२२ रुपैयाँ जम्मा भयो । फेरि वर्ल्ड फस्ट होलिडे नामक कम्पनीका नाममा ३८ लाख ४० हजार रुपैयाँ आयो । यसरी कम्पनीका नाममा आएको रकम ज्वेलर्स, रुकमाङ्गद काफ्ले, विजयविक्रम शाह र देवेन्द्र ढुंगाना लगायतका व्यक्तिको नाममा जम्मा भएको देखिन्छ ।

This image has an empty alt attribute; its file name is image-4.png


पृथ्वीबहादुरकै वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालीमा २ फागुन २०७७ देखि १९ फागुनसम्मको अवधिमा पटक(पटक गरी ९१ लाख ३८ हजार रुपैयाँ भित्र्याएको देखिन्छ । तीन चरणमा ल्याइएको रकम माथि उल्लेख भएका व्यक्तिका साथै अनुप शर्मा र किशोर खड्काका नाममा भुक्तानी भएको छ । अमेरिकाको फिनसेनले सो रकम ठगीसँग सम्बन्धित रहेको भन्दै रोक्का राख्न र फिर्ता गर्न पत्राचार गरेको थियो । तर रकम रोक्का नहुँदै पृथ्वीबहादुर र उनी निकटका व्यक्तिहरुको नाममा रकम भुक्तानी भइसकेको देखिन्छ ।

This image has an empty alt attribute; its file name is image-5.png


वर्ल्ड फस्ट होलिडे नामक कम्पनीमा ४ र ६ चैत २०७७ मा गरी दुईपटक १ करोड ६७ लाख रुपैयाँ नेपाल भित्र्याइएको थियो । फिनसेनले उक्त रकम ठगीबाट आर्जन भएको र नेपालमा पठाइएको भनी राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यही कम्पनीका नाममा थप ५६ लाख ६९ हजार रुपैयाँ नेपाल भित्र्याइएको थियो । त्यसरी भित्र्याइएको रकममध्ये २७ लाख ७५ हजार रुपैयाँ शुक्रपथ बहुउद्देश्यीय सहकारीमा बचत भएको प्रतिवेदनमा उल्लेख छ । त्यही कम्पनीको खातामा थप ४५ लाख १३ हजार रुपैया अमेरिकी नागरिकका नामबाट नेपाल भित्रिएको थियो ।

पृथ्वीबहादुर शाहको खातामा थप १ करोड ९१ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । त्यो रकमलाई अमेरिकाले ठगीसँग सम्बन्धित भनेको छ । पाँच वर्षअघि नै जम्मा भएको थप ६६ लाख रुपैयाँलाई पनि वित्तीय जानकारी इकाइले ठगीसँग सम्बन्धित रकम भनेको छ । वित्तीय जानकारी इकाइले तयार पारेको विवरणपत्रमा भनिएको छ, ‘यस इकाइले हालसम्म तयार पारेको सूचना अनुसार निज सम्वद्ध कम्पनीहरुको खातामा ३५ करोड रुपैयाँ विदेशबाट जम्मा भएको देखियो ।’

नेपाल राष्ट्र बैंकको विवरण अनुसार, पृथ्वीबहादुर शाह र उनीसँग सम्बन्धित कम्पनीले विभिन्न ९ वटा कारोबार मार्फत थप रकम नेपाल भित्र्याएका थिए । तर तत्कालै राष्ट्र बैंकले हस्तक्षेप गरेका कारण रकम अन्यत्र भुक्तानी हुन पाएको छैन । ती सबै रकम अपराधबाट आर्जित भएको भनी अमेरिकाको फिनसेनले फिर्ता गर्न राष्ट्र बैंकलाई अनुरोधपत्र पठाएको छ ।