जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १३:१७

मध्यपुरथिमीमा पाँच वर्षसम्म इमानदार भई गरेका विकासका काम नै मेरो जितको आधार हो : मदन सुन्दर श्रेष्ठ


पेसाले सिभिल इन्जिनियर, पढाइमा बीएड शंखधर हाई स्कुलका फाउन्डर प्रिन्सिपल, कानूनमा बीएल, म्यानेजमेन्ट विषयमा एमबिएको अध्ययन पूरा गर्नुभएका मदन सुन्दर श्रेष्ठ सफल मेयरका रूपमा परिचित हुनुहुन्छ । नेकपा (एमाले) बाट मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएका उनै श्रेष्ठसँग दिनेश घिमिरे र आशिष पौडलले गरेको कुराकानी ।

पाँच वर्षको कार्यकाल सकेर फेरी निर्वाचनको लागि जनताको घरदैलोमा मत माग्दै हिँडिरहनु भएको छ कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

पाँच वर्षको कार्यकाल पुरा गरेर म राजीनामा गरी फेरी जनताको घर दैलोमा मत माग्न गइरहेको छु । यो अवधिमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनतामा राम्रै उत्साह र फेरी दोहोराउनु पर्छ भन्ने भावना मैले पाएको छु ।

पाँच वर्षको अवधिमा तपाईले गरेका आफ्ना प्रमुख कामहरूलाई तपाईँले नै सम्झनु पर्दा कुन कुन कामहरू चाहिँ सम्झनु हुन्छ ?

मदन सुन्दर स् कामहरू त धेरै भए तर मैले आफूले गरेका कामहरू मध्ये पाँच ६ वटा कामहरूलाई मैले देखिने कामका रूपमा भन्ने गरेको छु । अरू आमरुपमा बाटा घाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू त भइनै गयो । मेरो कार्यकालमा भएका महत्वपूर्ण कामहरू मध्ये देखिने काम भनेको चाहिँ हामीले सङ्घीयता कार्यान्वयनको कामहरू प्रस्ट देखिने गरी र्गयौ । ७ सय ५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनर्वोडसम्म मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छौ र त्यही अनुसार पत्राचार गर्ने गर्छौ । संघियताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

अर्को विकास निर्माणको सन्दर्भमा धेरै काम गरेका छौं । सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमिमा यो अवधिमा धेरै कामहरू भएका छन् । सम्पदा संरक्षणमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौं, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा चाहिँ मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ भन्ने मलाई लाग्छ । अर्को कुरा भनेको हामीले नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि र्गयौ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गारो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पिसिआर ल्याब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो,आइसियु व्यवस्था गर्ने देखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरू हामीले कुशलतापूर्वक गर्न सक्यौ । त्यो कामहरू नेपालमै नमुना योग्य रह्यो भन्ने मलाई लाग्छ । अर्को हामीले गरेको राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन पनि हो ।

हामीले जापनीज प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोर मैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्यौ त्यो पनि अर्को सफलता हो भन्ने मलाई लाग्छ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौ । अर्को कुरा हामीले सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई व्यवस्थित सहरीकरण गर्नु पर्छ भनेर पनि काम गरिरहेका छौ । जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्नेमा हामी सबैभन्दा बढी ल्यान्ड पुलिङ गर्ने नगरपालिको रूपमा रहेको छौ । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौ । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौ भने नयाँ सात वटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौ । यसरी हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल र्गयौ भन्ने मलाई लाग्छ ।

अब फेरी नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ?

जुन विकास निर्माणका कामहरू गरेका छौ त्यसमा अधुरा अपुरा रहेका कामहरूलाई पूर्णता दिनु पर्छ भन्ने मेरो मान्यता छ । अर्को कुरा सम्पदा बस्तीहरू जुनरुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै अर्को नयाँ बस्तीहरू चाहिँ देखिने र महसुस हुने गरी व्यवस्थित सहरीकरण गर्ने कामलाई मैले दोस्रो प्राथमिकतामा राखेको छु । अर्को अस्पताल सञ्चालनको काम पनि छ । कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाटसमेत पास भएर आइसकेको छ । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौ । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्नेछौ । अर्को हामी नर्सिङ कलेज समेत सञ्चालन गर्ने छौ । अर्को फोहोर मैला व्यवस्थापनको लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाको लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नु पर्छ भनेर मैले योजना बनाएको छु ।

तपाइहरू विरुद्ध गठबन्धन बनेको छ, जित कत्तिको सहज देख्नु हुन्छ र जितका आधार के हुन् ?

मैले जित्ने आधार भनेको हामीले पाँच वर्षसम्म इमानदारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो कुरा भनेको हाम्रो सङ्गठन नै हो । पाँच वर्ष अघि सङ्गठनात्मक रूपमा म कमजोर थिए त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिए । आज कांग्रेस कमजोर भएको छ उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ । कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । घोक्राएर बाहिर राखिदिनुभएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ ।

हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ, यो गठबन्धनका नाउँमा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर ठिमी नगरपालिकामा हामीले बहुमत सदस्य सहित जित्ने छौ । विगतमा हामी अल्पमतमा भइरहँदा धेरै कामहरू गर्न चाहिँ बाधा अवरोधहरू आए । यो कुरा यहाँका मतदाताहरूले राम्रोसँग बुझ्नु र देख्नु भएको छ । त्यो कारण पनि यो पटक हामीलाई आम जनसमुदायले बहुमतका साथ जिताउनु हुनेछ ।