जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ०९:५७

ओली सरकारले पूरा नगरे कहिल्यै पूरा हुँदैन समृद्ध नेपाल : सुखी नेपालीको सपना


नियोजित जस्तै गरेर कहिले कुर्सी, कहिले कार्पेट र कहिले के अफवाह फैलाउने विषय तयार गरिन्छ । अनि, आयोजकलाई होइन, प्रधानमन्त्रीलाई मिडियाले तथानाम लेख्छन । आगन्तुकलाई हिलोबाट जोगाउन ओछ्याइएको टाटलाई मिडियावालाहरूको मोतिया विन्दुग्रस्त आँखाले गलैचा देख्छन् र भष्मासुर तरिकाले प्रधानमन्त्रीलाई खुइल्याउन उद्दत हुन्छन् ।

गोबिन्द पोखरेल

नेपालमा अहिले जति स्वतन्त्रता सायद कहिल्यै पनि थिएन । अनि अहिलेको जति अराजकता पनि कहिल्यै थिएन । किनभने अहिले जे लेखे पनि हुन्छ, जे बोले पनि हुन्छ, जति गाली गरेपनि हुन्छ भन्ने अराजक मान्यता स्थापित हुँदै गएको छ । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जसरी सुनियोजित आक्रमण भइरहेको छ, यसलाई केलाउँदा लाग्छ, एउटा ठूलो जत्था तन, मन, धन अर्पण गरेर सरकार र प्रधानमन्त्रीविरुद्ध लागेको छ । सरकारले जस्तोसुकै राम्रो काम गरे पनि त्यसको खुलेर विरोध गर्नैपर्ने बाध्यता बोकेको त्यो जमात अत्यन्तै क्षुद्र भावनाले ग्रस्त छ । कलुसित मानसिकता, दिगमिग्याइँदो सोच र नकारात्मक किटाणुले छिया–छिया पारेको भग्न हृदय लिएर सरकारको विरोध गर्न उनीहरु अहिले मछली बजार छिरेर हल्ला गरिरहेका छन् । लाग्छ यो नै उनीहरूका लागि अराजक स्वच्छन्दताको उपयोग गर्ने सुनौलो समय बनेको छ ।

स्थायी सरकार, विकासका काम, ऐन कानुनको निर्माण, सुशासन, समृद्ध नेपाल : सुखी नेपाली जस्ता विषय तथा शब्दहरूले त्यो उच्श्रृङ्खल जमातलाई सिस्नोले पोलेझै पोल्छ । परापूर्वकालदेखि खाइपाई आएको आफ्नो निजी भोगाधिकार भएको सरकारमा एकदमै फरक र आउनै नहुने अर्को कोही आएर बसेको ठान्ने त्यो अस्थिरता रुचाउने तत्व दिमागी तन्तु खलबलिएको शरीर बोकेर खाँबो कोपर्दै छ । यो सरकारलाई कसरी असफल पार्ने ? नेकपाभित्र कसरी फुट ल्याउने ? र, मुख्य रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी खुल्याउने भन्ने उदेश्यले परिचालित यो जमातलाई सरकारकै पार्टीका कतिपय ब्यक्तिले उल्लेख्य मलजल गरेको देखिन्छ ।

यसबाहेक सबै क्षेत्रका निश्चित कर्मचारी पनि सरकारलाई असफल बनाउने काममा सकृय देखिन्छन् । यता प्रतिपक्ष दल आफूबाहेक अर्को दल सरकारमा बस्नु हुँदैहुँदैन भन्ने सोचले जलेर अदमरो भएको छ । साथै, आमसञ्चार जगत सरकार र प्रधानमन्त्रीको कुनै पनि बोली र ब्यवहारको धज्जी उडाउन तम्तयार भएर बसिरहेको देखिन्छ । विरोधका लागि विरोध गर्न सक्रिय किटाणुहरुलाई सरकारविरुद्ध लाग्न प्रेरित गर्ने पौष्टिक आहारा कहाँबाट प्राप्त भइरहेको छ ? यो सोच्दा र सम्पादकहरुको भुमिका हेर्दा अनौठो लाग्छ ।

कतिपय पत्रपत्रिका र अनलाइनहरूले सरकारको विरुद्ध लेख्नकै लागि पौष्टिक आहारा प्राप्त गरेका होलान, त्यसलाई अस्वभाविक मान्नु हुँदैन । तर, आफ्नै सरकारका काम कार्वाही असम्बन्धित ठाउँमा घोप्ट्याएर नेकपाकै नेताहरूले रमिता देखाउनु चाहिँ अस्वभाविक मान्नुपर्छ । जब नचाहिने कुरालाई लिएर सरकार र प्रधानमन्त्री ओलीमाथि चौतर्फी आक्रमण हुन्छ, ठिक त्यसै बेला पार्टीकै केही नेताहरू विरोधी पक्षलाई सहयोग पुग्नेगरी आफ्ना कुण्ठायुक्त अभिव्यक्ति पस्किन्छन । यसले के देखाउँछ भने नेताहरूबीच एकता छैन र नेकपा पनि एक हुन सकेको छैन । यस्तै बेलामा हो सरकारले गरेका राम्रै कामको पनि विरोध गर्नकै लागि मिसनमा जुटेका मिडियाहरूले प्रधानमन्त्रीलाई तथानाम लेख्ने र विरोधीले विरोध गर्ने । यो सरकारले त्यसमा पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने विषय के छ भने कतै सरकारभित्रै रहेकाहरूबाट सरकार प्रमुखलाई विवादमा ल्याउने पृष्ठभूमि तयार गर्ने काम त भई रहेको छैन ?

प्रधानमन्त्रीले कार्यक्रममा जानू स्वभाविक हो । तर, त्यहाँ नियोजित जस्तै गरेर कहिले कुर्सी, कहिले कार्पेट र कहिले के अफवाह फैलाउने विषय तयार गरिन्छ । अनि, आयोजकलाई होइन, प्रधानमन्त्रीलाई मिडियाले तथानाम लेख्छन । आगन्तुकलाई हिलोबाट जोगाउन ओछ्याइएको टाटलाई मिडियावालाहरूको मोतिया विन्दुग्रस्त आँखाले गलैचा देख्छन् र भष्मासुर तरिकाले प्रधानमन्त्रीलाई खुइल्याउन उद्दत हुन्छन् । यस्ता खालका छिद्र खोज्न मिडियाहरु सक्रिय छन् भने त्यसलाई उकेरा लगाउने काम पार्टी भित्रैबाट पनि भएकै छ । सरकारले गरेका गल्ती कमजोरीहरुलाई भन्दा पनि नचाहिने र झिना मसिना विषय खोजेर आरोप लगाउने प्रवृत्ति ह्वात्तै बढेको छ । यसलाई राम्रो मान्न सकिंदैन । यदि सरकारले गल्ती गरिरहेको छ भने त्यसलाई अविलम्ब सच्याउनु पर्छ । अन्यथा सरकारका बारेमा राम्रो सन्देश गएको मानिदैन ।

सरकारबाट पनि केही गल्ती कमजोरी भएकै छन् । गुठी विधेयक, तरकारी तथा फलफूलमा विषादी जाँच्ने वा नजाच्ने विषय, मेलम्ची सम्बन्धमा वास्तविकता बुझ्न नसक्नु, माथिल्लो तामाकोसी आयोजाना छिटो सम्पन्न गर्नतिर ध्यान नदिनु र पार्टीकै नेताका अभिव्यक्ति (कतिपय सांसद र मन्त्रीसमेत) आफ्नै सरकारविरुद्ध लाग्दा पनि रोक्न नसक्नु कमजोरी हो । अर्कोतर्फ भावनात्मक रुपले पार्टी एक हुन सक्ने धरातल बडो कमजोर देखिन्छ । जस्तो कि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र प्रमुख अथिति हुने कार्यक्रममा पूर्वमाओवादीको उपस्थिति शून्य रहन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड मात्र उपस्थित हुने कार्यक्रममा पूर्वएमाले शून्य नै देखिन्छन् । बाहिरबाट हेर्दा सचिवालय सदस्यबाहेक अरू अधिकांश नेता पुरानै पार्टीका हुन भन्ने नै लाग्छ ।

यस्तै संसदीय दलको कार्यालय एउटै बनाउन खोजिए पनि सफल भएको देखिदैन । यो अवस्थाले पनि विरोध गर्नेहरूलाई पार्टी र सरकार विरुद्ध उफ्रिने मैदान तयार गरिदिएको छ । नेकपाका नेताहरुले वेमेल अवस्थालाई मध्यनजर गर्दै समस्याहरु समाधानतर्फ नलाग्ने हो भने सरकार र पार्टीको अस्वभाविक विरोधको सामना गर्न सक्ने अवस्था रहँदैन । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ । जनतामा सरकारप्रति नकारात्मक भावना बढाउने काम तीव्र गतिमा भइरहेको छ । चाहे प्रकृति प्रकोपको अवस्था होस, चाहे मानव सृजित अपराध होस, चाहे विकास कार्यमा भएको ढिलाइ किन नहोस, त्यसको प्रहार सरकार त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बज्रिने गरेको छ । चुलिएको जनआकांक्षा पूरा गर्न समय लाग्छ नै । तर, सरकारको प्रतिपक्ष बनेर खडा भएका विषाक्त तत्वहरू अहिले नै यो सरकारले सबै आकांक्षा पूरा गरिसक्नु पर्छ भनेर उफ्रिरहेका छन् । र, जनतामा नकारात्मक सोचको बीउ छरेर बाली उठाउन तयार भएर बसेका छन ।

कर्मचारीतन्त्रको माथिल्लो तहबाट भएको असहयोगले सरकारलाई अप्ठ्यारो परिरहेको छ भन्ने बुझिन्छ । यदि त्यसै हो भने उनीहरूलाई छिमोल्ने काम गर्नु पर्छ । सरकारलाई असफल सावित गर्नेहरूलाई ठीक ठाउँमा नराख्ने हो भने उनीहरूबाट बदनामीबाहेक सरकारले केही पाउनेवाला छैन । यसतर्फ प्रधानमन्त्री नै सचेत हुन जरुरी छ । किन यसरी चौतर्फी आक्रमण गर्ने र सरकार सबै क्षेत्रमा असफल भएको सन्देश प्रवाह गर्ने काम भइरहेको छ ? अब यसको खोजी हुनैपर्छ । यदी सरकार आफूमै कमीकमजोरी छ भन्ने लाग्छ भने अब सच्याउनु पर्छ ।

दुई तिहाईको सरकार छ । अवरोधी नियम कानुनहरू फेर्न सक्ने बहुमत आफ्नै छ । नेकपा कार्यकर्ताको पंक्ति पनि विशाल छ । कुनै पनि समस्याको सामना गर्न सक्ने अथाह शक्ति वर्तमान सरकार र नेकपामा छ । तथापि सरकारद्वारा भएका र सच्याइएका सामान्य कमजोरीलाई डुङ्गा बनाएर नदी पार गर्न तम्सिनेहरूको जमात बढ्दै गएको देखिन्छ । किन यो जमातलाई नेकपाकै नेताहरूबाट प्रोत्साहन मिलिरहेको छ ? के अब यसको खोजी गर्ने बेला भएन र ? सरकारको उपल्लो तहमा रहनेहरूले नै प्रधानमन्त्रीलाई गुमराहमा राख्ने र तत्काल नहुने काम छिट्टै सम्पन्न हुन्छ भन्ने गरेकाले पनि केही तालमेल नमिलेको देखिन्छ । यो पनि तुरुन्तै सच्याउनु पर्छ ।

वर्तमान सरकारको सबैभन्दा बढी विरोध मिडियाबाट भइरहेको छ । कतिपय पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनहरूले आफ्नो सम्पूर्ण शक्ति सरकारको विरोध गर्नलाई मात्र खर्चिरहेका छन् । हुनसक्छ, उनीहरूको मिसन नै सरकारको विरोध गर्नु हो । सरकारले गरेको राम्रा कामहरू पनि धेरै छन । तर, त्यसको प्रचार सरकारले गर्न सकिरहेको छैन । कतैबाट पालित, पोषित एउटा झुन्डले अति सामान्य विषयलाई बढेमानको बनाएर प्रचार गर्दा पनि यस्तो होइन भन्ने पंक्ति कतै देखिदैन । यस्तो अवस्थाले गर्दा हुँदै नभएको कुरा पनि हो क्यारे भन्ने स्थितिमा जनता पुगेका छन् ।

सरकारले दीर्घकालीन र अल्पकालीन थुप्रै कामहरू गरिरहेको छ । खै त यसको प्रचार ! पेट्रोलियम पाइपलाइनको काम समाप्त भएको छ, लुम्बिनी र पोखरा विमानस्थलको निर्माण अन्तिम अवस्थामा पुगेको छ, काठमाडौं तराई द्रुत मार्गको काम सोचे भन्दा गतिशील रुपमा भइरहेको छ, काठमाडौंका सडकहरू धमाधम पिच हुँदै छन, साना जलविद्युत योजनाबाट बिजुली थपिदै गएका छन, माथिल्लो तामाकोसीको काम सम्पन्न हुनै लागेको छ, विकासका अन्य कामहरू पनि सुचारु रुपमा चलिरहेका छन् । तर, यसको प्रचार शून्य छ । जनतालाई थाहा पत्तो नै छैन । जे प्रचारप्रसार हुन्छ, त्यही सुनिने र बुझिने हुन्छ । यसतर्फ पनि सम्बन्धित पक्षले ध्यान पुर्याउन सक्नुपर्छ । समय आउँछ, पर्खिदैन । यो सरकारले अबरोधहरू पन्छाउदै द्रुत गतिमा समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार पार्न सकेन भने अरु कसैले सक्ने छैन ।