जनता टाइम्स

१४ असार २०७९, मंगलवार १७:५६

मदनको त्यो असाधारण काम, जो कसैले गर्न सकेनन


मदन भण्डारीको योगदानले हामी सवैलाई सर्वप्रथम आफैंले आफैंलाई र सिंगो नेपाली समाज तथा राजनीतिलाई रुपान्तरण गर्न मार्गदर्शन गरेको छ । राजनीतिलाई व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा पूरा गर्ने माध्यम नभएर नेपाली जनताको सेवा गर्ने साधनका रुपमा उपयोग गर्नका लागि बाटो देखाएको छ । जति जति समय ब्यतित हुँदै जान्छ, मदन भण्डारीको आदर्श, मूल्य, मान्यता र जनताको बहुदलीय जनवादको सान्दर्भिकता निरन्तर बढदै जानेछ

युवराज ज्ञवाली

रहस्यमय ढंगले जननेता मदनकुमार भण्डारी र कुसल संगठक जीवराज ‘आश्रित’ को हत्या भएको आज २९ बर्ष बितेको छ । दासढुंगा हत्याकाण्डलाई एक किसिमका राजनीतिक पार्टी र प्रचार माध्यमले राजनीतिक हत्याका रुपमा स्वीकार गर्न तयार भएनन् र अद्यपी छैनन । त्यसबेला गठन भएका छानविन आयोगका प्रतिवेदन र अनेकौं तथ्य–प्रमाणले यस घटनालाई राजनीतिक हत्याको निश्कर्ष निकालेका थिए । यद्यपी हत्या कस्ले गरायो ? अहिलेसम्म रहस्यकै गर्भमा छ । एक मात्र साँक्षी अमर लामाको समेत रहस्यमय हत्याले उक्त हत्याकाण्डलाई झनै जटिल रहस्यमा धकेलिदिएको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै निरंकुश, निर्दलीय पञ्चायती कालरात्रीको अन्त्य र बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको स्थापनाका कारण स्वतन्त्रताको सञ्चार भएको थियो । तर राष्ट्रिय राजनीति, अन्य कैयन सकारात्मक पक्षको वावजुद तत्कालीन अवस्थामा मुलतः दुईखाले गलत बिचार प्रबृत्तिको चुनौतीबाट गुज्रनु पर्ने अवस्था उत्पन्न भयो । एक किसिमको बिचार र प्रबृत्ति बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्रको नारा लगाएर आर्थिक, सामाजिक रुपान्तरण होइन यथास्थितिवादमा रमाउन पुगेको थियो । अर्काेतर्फ मतभेद, फुट र बिभाजनबाट ग्रस्त बामपन्थी आन्दोलनको एउटा पक्ष सर्वहारा बर्गको अधिनायकत्वको उग्रवामपंथी संकीर्णताभन्दा माथि उठन सकेको थिएन । त्यसबेला लोकतान्त्रिकमान्यताका आधारमा अघि बढनुपर्ने अवधारणा बलियो हुन बाँकी नै थियो ।

तात्कालिन बिश्व राजनीतिमा आमरुपमा पूँजीपति बर्गको प्रभुत्व रहेको अवस्थामा नेकपा (एमाले) को लोकप्रियताबाट नेपालका कम्युनिष्टबिरोधी शक्ति भयभित हुनु स्वभाविक थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा बिकसित नयाँ बिचारलाई अरु कुनै उपायबाट रोक्नको लागि तत्काल कुनै उपाय नअपनाउने हो भने राष्ट्रिय राजनीतिको परिदृष्यलाई आधार मान्दा पनि नेकपा (एमाले) ले अर्काे निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्न सक्ने र नेपालबाट अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि बैचारिक एवं ब्यवहारिक उत्साह प्रवाहित हुने बिश्लेषण पनि उनीहरुले पक्कै गरेका थिए । यसलार्ई उनीहरुले ठूलो चुनौती वा खतराको रुपमा लिए । यही चुनौतीबाट तर्सिएर भण्डारीको हत्या गरिएको थियो भन्ने अनुमान गर्न सकिन्छ । दासढुंगा हत्याकाण्ड केवल सामान्य दुर्घटना नभई षडयन्त्रपूर्ण राजनीतिक हत्याकाण्ड थियो ।

मदन भण्डारीद्वारा नेकपा (एमाले) को पाँचौं महाधिवेशनमा प्रस्तुत भई महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवाद (जवज) को सार भनेको नेपाली सामाजको क्रान्तिकारी परिवर्तन र समाजवादको लागि बलियो आधार निर्माण गर्नु हो । त्यस्तै यस्को रुप पक्ष, लोकतान्त्रिक बिधि र प्रक्रियाको आधारमा अघि बढ्नु हो । जनताको बहुदलीय जनवादबाट यसको क्रान्तिकारी सार हटाइ दिने हो भने त्यो पूजीवादी प्रजातन्त्रभन्दा माथि उठन सक्दैन भने रुप पक्ष अर्थात् लोकतान्त्रिक मान्यता हटाइदिने हो भने त्यो परम्परागत किसिमको एक दलीय जनवादमा सिमित हुनपुग्छ ।

बर्तमान आम नेपाली जनता मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक तथा प्रशासनिक लगायत हरेक क्षेत्रमा आमुल परिवर्तन चाहन्छन । यो केवल भावनात्मक वा आकांक्षाको बिषय मात्र नभएर अनिवार्य आवश्यकता हो । जनताको यस्तो आवश्यकता परिपूर्तिका लागि समाजको क्रान्तिकारी परिवर्तनमा जोड दिनुको बिकल्प छैन । क्रान्तिकारी परिवर्तन अचानक र अपर्झट हुँदैन । न त यो कुनै चमत्कारिक बिषयबस्तु नै हो । यसका आफ्नै बस्तुगत नियम र प्रक्रिया छन । नेपालका राजनीतिक पार्टीमध्ये जस्ले आमूल परिवर्तनको बिषयलाई बैज्ञानिक ढंगले सम्बोधन गर्न सक्छ । अन्ततः आम जनता त्यसकै पक्षमा जानु अनिवार्य छ ।

क्रान्तिकारी परिवर्तनको लागि गरिने वर्ग संघर्ष सापेक्षित ढंंगले शान्तिपूर्ण र लोकतान्त्रिक प्रकृतिको हुन जरुरी छ । बर्तमान अवस्थामा नेपाली जनता एकातिर उग्रबामपन्थी बिचार प्रबृत्तिको बिरोधमा छन भने अर्कातिर यथास्थितिमा रमाउने सीमित सुधारलाई पनि उनीहरुको साथ सहयोग रहने देखिदैन । लोकतान्त्रिक बिधि र प्रक्रियाको आधारमा आमुल परिवर्तनअहिलको जनचाहना हो । यसर्थ पनि मदन भण्डारीले अघि बढाउनु भएको जनताको बहुदलीय जनवादको महत्व उच्च छ ।

२००७ सालदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिक परिवर्तनको समग्र बिश्लेषण गर्दा जनताको बहुदलीय जनवादको सान्दर्भिकता र आवश्यकता झनै बढेर गएको पुष्टि भएको छ । त्यसैले नेकपा (एमाले) को आठौं महाधिवेशनले जवजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा बिकसित गरेको हो । तत्पश्चात् पार्टीले निरन्तर उक्त विचारलाई अपनाउँदै आएको छ । जनताको बहुदलीय जनवादको अर्काे महत्वपूर्ण पक्ष भनेको यसले कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुको मुल्य, मान्यता, आदर्श र उनीहरुको आचरण तथा ब्यवहारलाई समेत मार्गदर्शन गर्नु हो । समग्रमा भन्ने हो भने यो देशका शोषित, पीडित सर्वहारा श्रमजीवि जनता र राष्ट्रिय मुक्ति एवं समृद्धिका लागि मार्गदर्शन गर्नु जनताको बहुदलीय जनवादको बिशेषता हो । आम जनतामाथि बिश्वास गरेर अर्थात जनआधारित कार्यमार्फत मात्र जनताको मुक्तिका लागि अगुवाई गर्न सकिन्छ भन्ने मान्यतालाई यसले जोड दिएको छ ।

पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, जीवराज आश्रित, नेत्रलाल अभागी र रत्नकुमार बान्तवा जस्ता तमाम नेताले नेपाली कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन जुन किसिमले निश्वार्थ त्याग र समर्पणको जग खडा गर्नुभयो, हामीले त्यो आदर्शबाट सिक्न जरुरी छ । जुन प्रबृत्तिको संबर्धनका लागि उहाँहरुले आफ्नो जीवन समर्पित गर्नुभयो, त्यसबाट आम नेता कार्यकर्तापे्ररित र प्रोत्साहित हुनुजरुरी छ । यदि मदन जस्ता नेताको नामलाई निश्चित ब्यक्तिको स्वार्थपूर्तिको हतियार र आयआर्जनको साधनका रुपमा दूरुपयोग गर्ने हो भने त्यसबाट जनताको बहुदलीय जनवाद मात्र नभई स्वयं भण्डारीको समेत अपमान हुनेछ ।

जनताको बहुदलीय जनवादका नाममा त्यसको क्रान्तिकारी सारलाई बिर्सने र केवल सत्तामा पुगेर निश्चित ब्यक्तिको स्वार्थपूर्तिको उपायका रुपमा मात्र लिने हो भने त्यसले जनताको बहुदलीय जनवादलाई बदनाम गर्नेबाहेक अर्काे कुनै राम्रो परिणाम निस्कन सक्दैन । ब्यक्तिगत स्वार्थपूर्तिका लागि सत्ता र त्यसको लागि गुटगत क्रियाकलापको गलत प्रबृत्तिलाई बल पुग्ने गरी जनताको बहुदलीय जनवादलाई जोडनु घातक छ । सत्तामा पुगेर आम जनताको मुक्ति र समृद्धिका लागि केही गर्न नसक्ने तर मुठ्ठीभर सम्पन्न बर्गको स्वार्थअनुरुप त्यस्को दूरुपयोग गर्ने कार्य जनताको बहुदलीय जनवादको मान्यता बिपरित हो । जवजलाई बुर्जुवा सुधारवादको भाषमा डुवाएर आफूलाई लोकतन्त्रवादी र क्रान्तिकारी देखाउन खोज्नु जनतालाई मुर्ख बनाएर आफ्नो निहित स्वार्थ पूरा गर्ने चालवाजीबाहेक केही होइन ।

मदन भण्डारीको योगदानले हामी सवैलाई सर्वप्रथम आफैंले आफैंलाई र सिंगो नेपाली समाज तथा राजनीतिलाई रुपान्तरण गर्न मार्गदर्शन गरेको छ । राजनीतिलाई व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा पूरा गर्ने माध्यम नभएर नेपाली जनताको सेवा गर्ने साधनका रुपमा उपयोग गर्नका लागि बाटो देखाएको छ । जति जति समय ब्यतित हुँदै जान्छ, मदन भण्डारीको आदर्श, मूल्य, मान्यता र जनताको बहुदलीय जनवादको सान्दर्भिकता निरन्तर बढदै जानेछ ।