जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १४:१७

समृद्धिको नायक बन्ने कि खलनायक बनेर आफूसँगै पार्टी र देश सकाउने कमरेड ?


देश विकास गर्ने नेकपाले नै हो । अहिल्यै गर्ने हो, केपी ओलीकै पालामा गर्ने हो । हामीले नगरे कसले गर्छ ? यी सवै अभिारा हाम्रो नेकपाको काँधमा छ । त्यस्को लागि मिल्नुपर्छ केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपाल र झनाथख खनाल कमरेडसहित सवै नेताहरु

नेत्रप्रसाद नेपाल

अघिल्लो साता मैले यसै जनताटाइम्स अनलाइन पत्रिकामा एउटा लेख पस्कने जमर्को गरेको थिएँ । धेरै मित्रहरूले लेख मन पराई दिनुभयो । म नेकपाको कार्यकर्ताको भुमिकामा रहेको हुनाले हाम्रो आफ्नै बारेमा लेख लेख्ने जमर्को गरेको हुँ । यो लेख पनि पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित रहेको छ । यस आलेखमा विगतदेखि वर्तमानसम्मका विभिन्न काल खण्डमा घटित घटनाको बारेमा पाठकलाई जानकारी दिने जमर्काे हुनेछ । सबैले अध्ययन गरी प्रतिक्रिया दिनु नै हुनेछ । ०३८ देखि विद्यार्थी आन्दोलन र ०४३ देखि पार्टीको तल्लो कमिटी, पार्टी अध्ययन दलको संस्थापक सचिवको सपथ लिइरहँदा मेरो सत्र बर्षे कलिलो मानसपटलमा दौडिरहेको जनवादी गणतन्त्र नेपालको सपना हालसम्म पूरा नभए पनि विभिन्न कालखण्डमा भएको जनआन्दोलनले पञ्चायती व्यवस्था, राजासहितको बहुदलीय व्यवस्था ढले र जनवादी बाहेकको गणतन्त्रात्मक व्यवस्था स्थापना भएको छ ।

जननेता कमरेड मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको आलोकमा कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको पार्टी र माले पार्टीबीच एकता सम्पन्न भइ बनेको नेकपा एमालेले जनताको मन चाँडै नै जित्ने स्थिति बन्यो । मदन कमरेडको मृत्युुपछि ०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा पहिलोपटक झापा आन्दोलनका नेताहरुले अल्पमतको सरकार बनाउन सक्नुभयो । जनतामा आशा र उत्साह जागृत भयो । ९ महिनासम्म चलेको त्यो सरकार ढाल्न देसी विदेसी सबै प्रतिक्रियावादी शक्ति लागे, अदालत लाग्यो, कमरेड मनमोहनले संसद बिघटन गर्न गर्नु भएको सिफारिस राजाले लागू नगर्न प्रयास गर्दा, पार्टीको एक आह्वानमा काठमाडौं भरि तत्कालीन एमालेको कार्यकर्ता उर्लिए ।

अर्थात त्यसबेला पार्टी महासचिवले भनेपछि सबैले सुन्थे । पार्टी एकढिक्का भएर लागेको थियो । मनमोहनले ल्याउनु भएको वृद्ध भत्तादेखि सबै कार्यक्रम लोकप्रिय हुनुमा पार्टी, नेतृत्व, कार्यकर्ता सबै समग्र रुपमा एकतावद्व हुनुले भुमिका खेलेको थियो । पछि पार्टी फुट्यो वामदेव कमरेडको नेतृत्वमा । एमाले पार्टीले चुनाव हार्यो, बामदेव कमरेडको माले सकियो । त्यसपछि पार्टी फेरि एक भयो । यो घटनाक्रमसँगै कमरेड माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो । माधव कमरेडको पालामा तत्कालीन माओवादीले गरेको आन्दोलनलाई मत्थर पार्न कमरेड केपी ओलीको ठुलो भुमिका निर्वाह गर्नुभयो । माधव कमरेडलाई महासचिवबाट हटाउने योजना विफल बनाउन होस या पार्टीमा माधव कमरेडलाई जस्तोसुकै समस्यामा सहयोग गर्न अग्रता लिने काम केपी कमरेडले नै गर्नुभएको यथार्थबाट कोही अञ्जान छैन ।

सबैलाई थाहा भएकै कुरा हो । माधव र झलनाथ कमरेड प्रधानमन्त्री र पार्टी प्रमुख हुँदासम्म पनि कसैले, कुनै पनि कार्यकर्ताले उहाँहरूको विरोधमा लेखेनन, बोलेनन, गुनासो गरेनन । तर तीस सिटमा डल्लो परेको, न पोथी न भाले को अनुपम उपमा खेपिरहेको एमालेलाई लयमा ल्याउन, कार्यकर्ता जोगाउन, महेश वस्नेतसहित युवाहरूको सहयोगमा महत्वपूर्ण र निर्णायक भुमिका खेल्ने काम कमरेड ओलीले नै गर्नु भएको होइन र ? कमरेड केपी ओली प्रधानमन्त्री भएको बेलामा नै उहाँले भारतीय नाकाबन्दी सहजै तिरस्कार गरिदिनु भयो । भारतीय शासकलाई घुँडा टेकाउन, नेपालको स्वाभिमानलाई कदर गर्ने अवस्थामा पुर्याउन र झुक्न बाध्य पारेको होइन र ? नेपाली कांगथ्रेससँग सत्ता साझेदारी गरिरहेको तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन बनाइ तत्कालीन एमाले पार्टीलाई १२१ सिट जिताउन करिस्मामयी नेतृत्व प्रदान गर्नु भएको होइन र ?, नदीका दुई किनारा जस्ता भएको पार्टीसमेत एकिकरण गर्न सफल हुनुभएका यिनै केपीको नेतृत्वमा अत्यधिक बहुमत ल्याउन तत्कालीन एमाले सफल भएको कुरा नेकपाका कुनै नेताहरुले नकार्न सक्नु हुन्न होला ।

केपी कमरेड अहिले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वमा पार्टीले अहिले सरकार सञ्चालन गरिरहेको छ । जनताको मनोभावना अनुरुप मुर्छित सपना, मुर्झाइरहेको सपना उहाँले ब्युँझाउने प्रयाश गरिरहनु भएको छ । कति जना प्रधानमन्त्री भए देशमा ? कसैले पनि किन केपी ओलीले उठान गर्नु भएको योजनाहरु उठाउने आँट गरेनन् ? के नेपालमा रेल सम्भव छैन ? पानीजहाज नेपालले किनेर चलाउन सक्दैन ? सरकारले अघि सारेका कुन चाँहि योजना जनविरोधी छ ? चीनसँग भएको त्यो ऐतिहासिक सम्झौता केपी कमरेड कै पालामा भएको होइन ? नेपालीको आफ्नै स्याटलाईट, आफ्नै प्रिन्टिङ प्रेस स्थापना गर्नु राम्रो होइन ? नेपाली नोट र अरु महत्वपूर्ण डिजिटल कागजात नेपालमै छाप्ने योजना राम्रो हुनुपर्ने होइन ? देशलाई सुखी र समृद्ध बनाउने योजना राम्रो हो नि ? होइन त ? यदी राम्रो हो भने योजना सही छन भने नेकपाका सबै तह र तप्काका नेता कार्यकर्ताहरुले सरकारले गर्न खोजेको कामको प्रचारप्रसार गर्न किन कन्जुस्याइँ ?

पार्टी एक छ, नेतृत्व कमरेड ओलीको छ, सरकारको राम्रो कामको प्रचारप्रसार, समर्थन गर्ने काम कार्यकर्ताले गर्नुपर्ने होइन ? उल्टो समर्थन गर्नेहरु ओलीको हनुमान कहलाए । यो काम सबैभन्दा बढी नेकपाका उपल्लो नेता भन्नेहरु र सदस्यताधारीले गरे । किन गरे ? के कारणले गरे ? जे गरे अत्यन्त नराम्रो गरे, गरिरहेछन् । सरकारको नराम्रो कामको पार्टीको विधी, पद्धति जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा तत् तत् कमिटीमा छलफल चलाउने, कमिटी नभए पार्टीको भेला सम्मेलनमा भन्ने, सुझाव दिन र सुधारको बाटो देखाउन मिल्छ कि मिल्दैन ? हिजो आपतका बेला सहयोग गरेको साथीलाई अफ्ठेरोमा हाल्ने काम नेतृत्वमै रहेको नेतालेगर्न मिल्छ र ? विगतमा संसदमा बोल्दा टङ्स्लिप भयो भने जस्तो परिस्थिति पार्टीको लागि फेरि नहुने कुरामा कार्यकर्तालाई ढुक्क बनाउनु पर्छ । कम्तीमा नेतृत्वलाई पाँच बर्ष अफ्ठेरो बनाउने काम नेताहरुले गर्नुहुन्न ।

यस्तो कामले के नेकपालाई नाफा हुन्छ त ? फाईदा छ त ? नेतृत्वमा रहनुभएका नेतागणहरु, यो देशमा हिजो पनि, भोलि पनि नेतृत्व तपाईंहरुले नै गर्ने हो, अरु आउन्नन । तर आज आरामपुर्वक सरकारलाई काम गर्न दिऔं, सहयोग गरौं, मन्त्री, प्रधानमन्त्री हुने तपाईंहरू नै हो । सँधै केपी हुदैनन

आफ्नो जिर्ण शरिरलाई युवा उमेरको जस्तो गरी दिनरात नभनी अहोरात्र खट्ने प्रधानमन्त्री ओलीलाई विपक्षीहरुले हमला तीब्र पारिरहेका छन । निरंकुश, अधिनायकवादी भयो, अधिनायकवाद आयो भन्नु र विभिन्न विधेयकका बारेमा संसद अबरुद्ध गर्नुले विपक्षी कामबाट अत्तालिएको प्रष्टै देखिन्छ । यस्तो परिस्थितिमा पार्टीको घोषणापत्रमा भएको, लेखिएको हाम्रो पार्टीले, हामीले गर्ने भनेको काम गर्न र गराउन सबै सांसदहरू, नेताहरु लाग्नु पर्ने होइन ? सबै नेता र सांसदहरू लाग्नु पर्नेमा विभिन्न समितिमा रहेका सांसदहरूले समितिको नाममा सरकारविरुद्ध किन आदेश दिन्छन ? के यस्तो आदेशमा सरकारलाई असहयोग गर्ने आशय झल्कन्न ? यस्तो कामले के नेकपालाई नाफा हुन्छ त ? फाईदा छ त ? नेतृत्वमा रहनुभएका नेतागणहरु, यो देशमा हिजो पनि, भोलि पनि नेतृत्व तपाईंहरुले नै गर्ने हो, अरु आउन्नन । तर आज आरामपुर्वक सरकारलाई काम गर्न दिऔं, सहयोग गरौं, मन्त्री, प्रधानमन्त्री हुने तपाईंहरू नै हो । सँधै केपी हुदैनन । उहाँलाई सहयोग गरौं दुनियाँ हास्ने गरी ठाउँ कुठाउँ नबोलौं ।

दुनियाँलाई हामी एक छौं, हाम्रो मनमुटाव छैन भन्ने सन्देश प्रवाह गरौं । प्रधानमन्त्रीले पनि नेताहरुसँग सोध्ने, सल्लाह गर्ने र निर्णय गर्ने पुरानो बानीलाई आत्मसाथ गर्नाेस । निर्णय गर्ने, फिर्ता लिने कामले कमजोरी देखाउँछ । यस्तो कहिल्यै हुनुहुन्न । यो अस्तव्यस्तता चिर्न छिटोभन्दा छिटो तल्ला कमिटीलाई पुर्णता दिनुस । जसले सरकारविरुद्ध भ्रम चिर्न सहयोग पुग्छ । पार्टी कार्यकर्तालाई प्रशिक्षण अति आवश्यक छ । कार्यकर्तालाई राजनीतिक बनाउन जरुरी छ । नेताहरूले सल्लाह यतातिर पो गर्ने कि ? हो, कहिलेकाँही पार्टीभित्र मन नमिल्न सक्छ । व्यक्तिसँग बोलचाल नहुन सक्छ, मन नमिले पनि, बोलचाल नभए पनि हामी निस्कने दैलो र हिंड्ने बाटो एउटै हो नि, होइन र ? हाम्रो अन्न उब्जाउने बारी एउटै होइन र ? राम्रोसँग मलजल गरे धेरै फल्छ, सबैलाई पुग्छ, भाईको या दाइको रिसले काम नगरे के हुन्छ ? कहिलेकाही कुम ठोक्किन सक्छ, टाउको जुध्न सक्छ, उठेर हात मिलाएर हिंड्नुको विकल्प छ र ?

आफ्नो आङ कन्याएर छारो उडाउन कति जायज छ ? अहिले सबैलाई पद र प्रतिष्ठा चाहिएको छ । चाहिनु पनि पर्छ तर एउटा व्यक्तिलाई कतिपटक सरकारी पद दिने ? अब सोच्न बाध्य हुने दिन आउन थालेको छ । पार्टीको विधानमा नै एक जनालाई सार्वजनिक पद दिने अवधि तोकिनु पर्छ, अन्यथा म मात्रै खान पाउँ भन्नेहरुको जमात बढ्छ र कार्यकर्तामा निराशा छाउँछ । नेताहरुले पनि मेरो होइन, हाम्रो र राम्रो मानिस छान्ने विधि बनाउन पर्छ । नेताहरु भन्दा तल अरु विभिन्न तहका नेता कार्यकर्ताको लेयर छ भन्ने सोच्न उनीहरुलाई पनि उपयुक्त जिम्मेवारी दिन कन्जुस्याइँ गर्न हुन्न । सरकारमा, पार्टीमा धनवाद र डनवाद हावी हुन नदिऔं । पार्टीभित्र सरकारी पद सम्हालेर बसेका र पार्टीमा खटिएका बीच ठुलो वर्गीय खाडल परेको छ ।

एकैपटक पार्टीमा लागेका, एउटै कमिटीमा बसेर उत्तिकै काम गरेका कोही सांसद, मन्त्रीलगायत विभिन्न पदमा बसेर अगाडि पछाडि गाडीको लस्कर साथ हिड्ने, काठमाडौंमा घर बनाएर ऐस आराम, गने , कोही उही तह, उही योगदान, उही क्षमता, उही त्याग हुँदा पनि रुल्ल टुल्ल हिड्नु पर्ने, कहिल्यै अवसर पाउँदै नपाउने, बस चढन, एक कप चिया पिउन पनि पैसा नहुने, चप्पल भन्दा जुत्ता लगाउन नपाउने, छोराछोरी पढाउन पैसा नहुने अवस्था छ । आदरणीय नेतागण के यो राम्रो र जायज हो ? पार्टीमा खट्ने र सरकारी सुविधामा मस्त हुनेहरु बीचको वर्गीय खाडल पुर्न पार्टीले विधी बनाएर सेवा सुविधाको समानुपातिक वितरण गर्ने व्यावस्था गर्नुपर्छ कि ? अन्यथा सरकारी र पार्टीका मानिसवीच कुनै दिन भयंकर द्वन्द्व नहोला भन्न सकिन्न । यसले पार्टीलाई नोक्सान गर्छ कि ? नेताहरु अहिले नेकपा सरकारविरुद्ध देसी विदेशी शक्तिहरु शसक्तरुपले अगाडि आएका छन् । पत्रकारिताको नामका अराजक झुन्डहरु सरकारबिरुद्ध दुतावासतिरबाट परिचालित छन । त्यँही बनेको अनि बुनिएको योजनाको आधारमा सरकार र प्रधानमन्त्रीबिरुद्ध भ्रमको खेती बढाइएको छ । सरकारले राम्रो काम गर्दा पनि अपवाह फैलाइएको छ ।

अर्थात सरकारलाई अफ्ठेरोमा पार्ने सुनियोजित प्रचारमा ती पत्रकारको झुण्ड लागेको छ । निजी क्षेत्रका सबै सञ्चार माध्यम सरकारको विरुद्धमा जमेर लागेका छन । गोयवल्स शैलीको प्रचारप्रसार गरिरहेका छन । सरकारी कर्मचारी सरकारलाई सहयोग गर्दैनन । विभिन्न तह, क्षेत्र जुन क्षेत्रमा नेपाली कांग्रेसको पकड छ । सबै सरकारविरुद्ध लागेका छन् । यस्तो परिस्थिति अझ धेरै आउने छन । केपी कमरेड होइन, प्रचण्ड कमरेड, माधव कमरेड जो भए पनि यिनले छोड्दैनन । तसर्थ सरकारविरुद्ध हुने कुप्रचारमा हाम्रो पार्टीका सदस्यहरुलाई नलाग्न कडा निर्देशन पार्टीले दिनुपर्छ । यो सरकार असफल हुने भनेको नेकपा असफल हुने हो । नेकपा असफल भए पार्टी समाप्तिको दिशातिर जाने हो । तसर्थ आउनुस, नेताहरु मिलाउनुस बलिष्ठ हातहरु । त्याग्नुहोस वैमनस्यता, चिर्नुस शत्रुको षड्यन्त्र । नफस्नुस षडयन्त्रमा, सामना गरौं सरकारविरुद्ध बुनिएको षड्यन्त्रको भण्डाफोर गरौं । कथित मिडिया हाउसहरुको दुस्साहस र दुस्प्रचारप्रसारको गोयवल्स शैलीको बिरुद्ध एकतावद्ध होऔं । मुठीमा देशको माटो लिनुस, कसम खानुस, नेपाल आमाको । त्याग्नुस स्वार्थ, आफन्त, भाइ–भतिजावादको तिकडम र षड्यन्त्रको । मिलाउनुस हात मन र मुटु नजुधाउनुस, कार्यकर्ता नहसाउनुस ।

सबै सरकारविरुद्ध लागेका छन् । यस्तो परिस्थिति अझ धेरै आउने छन । केपी कमरेड होइन, प्रचण्ड कमरेड, माधव कमरेड जो भए पनि यिनले छोड्दैनन । तसर्थ सरकारविरुद्ध हुने कुप्रचारमा हाम्रो पार्टीका सदस्यहरुलाई नलाग्न कडा निर्देशन पार्टीले दिनुपर्छ । यो सरकार असफल हुने भनेको नेकपा असफल हुने हो । नेकपा असफल भए पार्टी समाप्तिको दिशातिर जाने हो । तसर्थ आउनुस, नेताहरु मिलाउनुस बलिष्ठ हातहरु

अब जुटौं हामी देश निर्माण गर्न । समुन्नत र सम्बृद्व नेपाल र सुखी नेपाली बनाउन । निर्माण गरौं भाईचारा सम्बन्धको,बनाऔं असल र जनमुखी, ईमानदार र निष्ठावान कार्यकर्ता । त्यागौं विकार, धन र डनवाद । बैठक नियमित गरौं, समस्या समाधान त्यहीँ गरौं । अब नआओस बाहिर नमिठा र बेमेलका कुरा, बनाऔं पार्टीको कार्यकर्ता चलायमान । खटाऔं विकास निर्माणमा लाखौं कार्यकर्ता, गरौं देशको विकास । सल्लाह पार्टीभित्रै गरौं, बनाउनुहोस पार्टी सचिवालयलाईनै मुख्य सल्लाहकार, बनोस सरकार सफल । पावस जस पार्टीले । सम्मान गरौं नेतृत्वको माया गरौं, कार्यकर्तालाई । देश विकास गर्ने नेकपाले नै हो । अहिल्यै गर्ने हो, केपी ओलीकै पालामा गर्ने हो । हामीले नगरे कसले गर्छ ? यी सवै अभिारा हाम्रो नेकपाको काँधमा छ । त्यस्को लागि मिल्नुपर्छ केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपाल र झनाथख खनाल कमरेडसहित सवै नेताहरु । यो काममा अव बिलम्ब नगरौं । जय नेकपा ।