जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०५:२८

घाटबाट अस्पताल फर्काइएकी नर्मदा ज्ञवालीको उपचार जारी, अवस्था क्रिटिकल


पाल्पा, साउन ९ । अस्पतालले डिस्चार्ज गरेपछि मृत्यु भएको भन्दै घाट पुुर्याएर फर्काएकी एक महिलाको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ । गाउँलेले अन्तिम संस्कारको तयारी गरिरहेको बेला मृतक भनिएकी नर्मदा ज्ञवाली चलमलाएपछि घाटबाट उपचारका लागि अस्पताल ल्याइएको हो ।

घटना बिवरणअनुसार युनाइटेड मिशन अस्पतालबाट घर फर्काइएकी नर्मदा ज्ञवालीलाई अकस्मात रिडी घाट लगेर अर्धजलमा राखियो । अर्धजलमा राखेपछि चलमलाउन थालेपछि रिडी प्राथमिक स्वास्थ्य केन्द्र लगियो । केन्द्रका चिकित्सकको सिफारिशपछि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याइयो । जीवनको आश मारेर घाट पुर्याइएकी, घाटमा अन्तिम सासका लागि अर्धजल राखिएको ज्ञवालीको अहिले मृगौलाको डायलोसिस सुरू गरिएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं १ को सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीसहित ५० जना झाडापखलाका कारण बिरामी परे । प्रदुषित पानीका कारण महामारी फैलियो । स्थानीय स्वास्थ्य चौकीमा केहीको उपचार गरियो, केहीलाई अस्पताल ल्याइयो । ज्ञवालीलाई १० दिन मिशन अस्पतालमा भर्ना गरेर उपचार गरियो । शरीरमा संक्रमण फैलिएपछि अस्पतालले मृगौलाको डायलसिस गर्न अन्य सुविधासम्पन्न अस्पताल लैजान सुझायो । बिरामीका आफन्तले घर फर्काउन चाहे । अस्पतालले अक्सिजन लगाएर एम्बुलेन्समा पठाए ।

अस्पतालबाट बिरामीलाई घाट

युनाइटेड मिशन अस्पतालकै एम्बुलेन्सले बिरामी नर्मदा ज्ञवालीलाई ४ ५ जना आफन्तलाई राखेर घरतर्फ लग्यो । पूर्वखोलाको सुत्केरी लैजान थालेको थिए, उहाँहरूको अनुरोधपछि सिद्देश्वर मनभागतिर लागें, एम्बुलेन्सका चालक मोहनीलाल कुँवरले भन्छन, दुईवटा अक्सिजन सिलिन्डर बोकेर गइयो । सिरुखर्क पुगेपछि एम्बुलेन्समा भएको एक जना बुढो मान्छेले घरतिर फोन गर्नुभयो । बिरामीले एक डेढ घण्टामा छोड्छ । दाउराको बन्दोबस्त गर । रिडी पुलमा पुगेपछि आफन्तले घाटतिर एम्बुलेन्स लैजान भने । बिरामीलाई गुल्मीतिरको घाटमा लगे । अक्सिजन थुते । त्यसपछि पाल्पातिरको घाटमा सारे । प्रहरी आयो । बिरामी ल्याएको हो कि लास ल्याएको भनेर सोध्यो । प्रहरीले बिरामीको आफन्तको नाम नम्बर टिपे । महिलाहरुले घाटमा लैजानमा मानेका थिएनन् । मान्छे मर्न कहाँ छ कहाँ छ दाउरा र घाट भनेर महिलाहरुले गाली पनि गरेका थिए । मान्छे नमरी गाउँले आओ भन्ने, दाउराको जोहो गर्ने भनेर महिलाले गाली गरिरहेका थिए ।

घाटबाट फेरि अस्पताल

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश अर्यालका अनुसार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पुर्‍याइएकी ज्ञवालीलाई कालीगण्डकीमा अर्धजल दिने बेला जिउँदो रहेको पत्ता लागेपछि उपचार गर्न ल्याइएको छ । अर्धजलमा शरीर चलमलायो, मुटुको धडकन देखियो । प्रहरीले ज्यूँदै मान्छेलाई घाटमा किन ल्याएको भनेपछि आफन्तले रिडी प्राथमिक उपचार केन्द्रमा लगे । प्राथमिक स्वास्थ्य केन्द्रको सिफारिसमा थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा सोमबार राति नै ल्याइएको छ । अस्पतालले ज्ञवालीको आइसियुमा राखेर उपचार गरेको छ । बुधबार मृगौलाको डायलसिस गरियो । डायलसिसपछि चिकित्सकले बिरामी क्रिटिकल नै रहेको र आज पनि डायलसिस गर्ने योजना रहेको बताएका छन् ।

संक्रमण फैलियो कसरी ?

सिद्धेश्वर गाउँमा फैलिएको झाडापखालाबाट गम्भीर हुनुभएका नर्मदा ज्ञवालीलाई गत असार २५ गते मिसन अस्पताल तानसेनमा भर्ना गरियो । ज्ञवालीको १० दिनसम्म सोही अस्पतालमै उपचार भयो । युनाइटेड मिशन अस्पतालमा १० दिन उपचार गर्दा च्यारिटीमा उपचार गरेको छ । कुल उपचार खर्च ७३ हजार ६ सय ७८ लागेकोमा ५६ हजार ९ सय ६३ रुपैँया १६ हजार ४ सय १५ रुपैँया विमाबाट खर्च भएको देखिन्छ । झाडापखालाले सिकिस्त ज्ञवालीलाई स्लाइन चढाउने क्रममा संक्रमण फैलियो । अरू बिरामीको स्वास्थ्मा सुधार भयो । उनलाई अरू समस्या देखा पर्यो । पिसाव भएन । मृगौलाले काम गरेन । अस्पतालले डायलसिस गर्नुपर्ने सल्लाह दियो ।

तर थप उपचार गर्न परिवारका आफन्तले जति उपाएको खोजी गर्नुपर्थ्यो, त्यति गर्न सकेनन् । त्यति क्रियाशिलता देखाएनन् । सम्भवत डायलसिस गर्न आर्थिक समस्याको चिन्ता हुन सक्छ । बिरामीलाई बचाउन सक्ने विश्वासको पनि अभाव हुन सक्छ । चिकित्सकले बिरामीको अवस्था गम्भीर रहेको बताएका थिए । बिरामीका लागि दिएको अक्सिजन निकाल्ने हो भने बिरामीको स्थिति गम्भीर हुन सक्छ भनेका थिए । त्यही कुरामा आश मारेर घर फर्काउने सोचाइ बनाएको हुन सक्छ ।

नर्मदाका पति सूर्यचन्द्र ज्ञवाली, अस्पतालमा कुर्दै ।

विश्वास-अविश्वास

रिब्दीकोटको सिरूखर्क पुगेका बेला एम्बुलेन्सभित्र बसेका एक जना आफन्तले सिद्धेश्वर असारेका आफन्तलाई फोनमार्फत अब बिरामीको अवस्था गम्भीर छ मुख हेर्न आउनुपर्यो भने । रिडी ल्याए भनेको घाटमा ल्याए भन्ने गाउँलेको बुझाइ भयो । गाउँलेमा अर्कै सूचना तरङ्गित बन्यो, ुनर्मदाको मृत्यु भइसक्यो ।ु गाउँलेहरू अन्तिम संस्कारका लागि दाउराको बन्दोबस्त गरे । रिडी झरे । नर्मदालाई अर्धजलमा राखिएको थियो । खुट्टा चल्यो, मुटको धडकन देखियो । शरीर चल्मलायो । मानिसहरू अवाक भए । त्यसपछि शीघ्र निर्णय लिए, उपचारका लागि अस्पताल ल्याए ।

मेडिकल साइन्सको अभूतपूर्व सफलता देख्न पाइयोस्, नर्मदा ज्ञवाली स्वस्थ्य भएर घर फर्किन सकुन् । भविष्यमा सम्पूर्ण मानव जाति नै खुशी हुन सकुन् ।