जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १५:५९

मेरो प्रतिस्पर्धी उम्मेदवार यसपटक विचरा ! बन्नु भएको छ, जनताको प्रश्नमा जवाफ छैन


हिमेश केसी, उम्मेदवार, नेकपा एमाले काठमाडौं –१०

काठमाडौं जिल्लाको संघीय क्षेत्र नं. १० मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुनहुन्छ हिमेश केसी । सूरुमा एमालेकै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने चर्चा थियो । तर , उहाँले प्रतक्ष्य चुनाव लड्न अनिच्छा व्यक्त गर्नु भएपछि अन्तिम दिन एमालेले हिमेश केसीलाई उम्मेदवार बनाएको हो । स्थानीय कमिटीले सिफारिस गरेकै व्यक्ति भएकाले उहाँ यस क्षेको लोकप्रिय नेता रहेको बताइन्छ । निर्वाचन प्रचार–प्रसारकै क्रममा उहाँ हिमेश केसीसंग जनाताटाइम्सका प्रतिनिधिले गरेको वार्ताको सारसंक्षेप  :–

तपाईलाई काठमाडौं क्षेत्र न. १० का जनताले किन भोट दिने ?

म अहिले यो काठमाडौं क्षेत्र न. १० नम्बर क्षेत्रसहित सिंगो देशलाई समृद्ध बनाउने र तमाम नेपालीलाई सुखी बनाउने २० वटा ग्यारेन्टी तय गरेको र त्यसलाई पुरा गर्न सक्ने तागत भएको र त्यसै अनुसार देशलाई सम्मृद्धि तर्फ डोरेयाउन सक्ने खुवि भएका केपि ओलीले नेतृत्व गरेको पार्टी नेकपा एमालेको उम्मेदवार हुँ ।

अर्को कुरा देशको राजधानीको पनि यो ऐतिहासिक क्षेत्रमा सानैदेखि राजनीतिक आन्दोलनमा सक्रिय सहभागी रहेको मलाई यस क्षेत्रका जनताको समस्या थाहा छ, उनीहरुको भावना राम्ररी बुझछु र उनीहरुका आकांक्षालाई प्रतिनिधि सभा सदस्यको हैसियतमा कसरी पुरा गर्न सकिन्छ भन्ने कुरा पनि मलाई राम्ररी थाहा छ ।

मैले बोली रहनुपर्दैन, विगतमा यसै क्षेत्रबाट संसद पुग्नेहरुले जनताको भावनाको प्रतिनिधित्व गर्न सकेकी सकेनन् अहिले टोल टोलमा जनतालेनै प्रश्न गर्न थालेका छन् । यसअघि दुई पटक यहाँबाट जितेर गएकाहरुले गरेको काम दिउँसै टुकी बालेर खोज्नुपर्ने अवस्था छ । स्थानीय तहमा वडा सदस्यको पहलमा भएका टुक्रे कामहरुलाई मैले गरेको भनेर हिँडनु परेको छ । भोलीपर्सी छोरा नातीलाई ‘मैले प्रचण्डलाई हराएको थिएँ नी !’

भन्ने भन्दा बाहेक यो १० वर्षमा उल्लेख्य केही भएन । सु्रुमा संविधानसभा सदस्य हुनुभयो, संविधान बनाउने वहसमा यो क्षेत्रको प्रतिनिधिले सम्झन लायक कुनै भूमिका खेल्नुभएन । कतिपय दिन त सभामुखले नाम बोलाउँदा उहाँ अनुपस्थित समेत रहनुभयो । पछि युवा तथा खेलकुद मन्त्री हुनुभयो, तर यो क्षेत्रले एउटा गतिलो खेलकुद परियोजनासम्म पाउन सकेन ।

दोस्रो पटक सांसद हुँदा सांसदको हैसियतले प्राप्त हुने केही परियोजना समेत आफ्नै कोटरीका मानिसलाई मात्र बाँडनु भयो । चुनावमा जनतालाई जे जे माग छ सबै पुरा गरिदिन्छु भन्ने र त्यो वास्तविकतामा कहिल्यै उत्रेन । यस्तो असफलताको रेकर्ड रहँदा रहँदै पनि फेरि एक पटक जनता झुक्किन्छन्की भन्ने लागेको हुन सक्छ । तर यसपटक त्यस्तो हुँदैन ।

तपाईको दावी त्यस्तो छ, अर्को तिर तपाईको टिकट नै राजन केसीले ल्याइदिएको रे नी ?

हो, उहाँले टिकट ल्याइदिनुभयो अब मंसिर ४ मा उृहाँले नै जिताउनु हुन्छ । यो क्षेत्रमा आफ्नै पार्टी मिलाउन नसक्ने, एक्लै उठने आँट नभएर गठबन्धन गर्ने र त्यो पनि यहाँ त गाइजात्रामा परिणत भएको जनताले देखेका छैनन् ? यस्तो कुरा सुन्दा पनि मानिसहरु हास्छन् हेर्नुस् ।

अहिलेको चुनावमा पाँचका विरुद्ध एक्लेै भिडिरहेको हाम्रो पार्टी जसको नेतृत्व समकालिन नेपाली राजनीतिको सर्वाधिक आत्मविश्वासी र भिजनयुक्त नेता केपी शर्मा ओलीले गरिरिहनु भएको छ, त्यस पार्टीको टिकट कसैले ल्याइदिन्छ रे । यस्तै कुरा गरेर फेरि एक पटक जनता झुक्याउन खोजिँदै छ ।

तपाईलाई यस क्षेत्रका जनताले प्रतिनिधि सभामा पठाए पछि यस क्षेत्रका जनतालाई सुखी बनाउने योगदान गर्नुहुन्छ ?

यो क्षेत्र प्राकृतिक र साँस्कृतिक रुपले अति नै धनी क्षेत्र हो । यि दुई थरी सम्पदालाई उत्पादनशील बनाउन मात्र सक्यो भने पनि यहाँका जनताको समृद्धि आउँछ । सबैलाई थाहा छ, कीर्तिपुर लगायतका यस क्षेत्रमा रहेका ऐतिहासिक नेवारी थलोहरु त्यहाँको खाना भेष भुषा र जीवन शैलीका पारखी देशै भर भेटिन्छन् ।

त्यसैले उपत्यका र काम विषेशले यहाँ आउने अधिकांशलाई एक पटक यस्तो नेवारी खाना चाख्न कीर्तिपुर जाउँ न यस्तो कला सँस्कृति हेर्न फर्फिड जाउँ न वा यस्तो जात्रा हेर्न चन्द्रागिरीका कुनै नेवार वस्ती जाउँ न भन्ने पार्न सकियो भने यहाँ आर्थिक उपार्जनका अथाह सम्भावना खुल्छन् ।

संसारभरबाट पशुपति दर्शन गर्न आउने हिन्दु धर्माबलम्बीहरुलाई एक पटक दक्षिणकाली र भगवान विष्णुको प्रथम अवतार भएको स्थल मत्स्यनाराण पनि पुग्नु पर्छ भन्ने बनाउन सकिन्छ । अझ भुल्न नहुने कुरा त संसार भरका पर्यटक नेपाल आउने भनेको मुख्यतः हिमाल हेर्नका लागि हो । त उपत्यकाबाट सबै भन्दा राम्रोसँग हिमाल देखिने ठाउँ त यही क्षेत्रमा छ ।

चम्पादेवी डाँडाबाट सफा मौसममा सगरमाथा सहित दुई दर्जन हिमाल हेर्न सकिन्छ । यसको प्रचार गर्न सके क्षेत्र १० काया पलट हुँदैन ? आजसम्म जनताले भोट दिएर पठाएकाहरुले त्यसतर्फ ध्यान नदिएर पो त ! फेरी यो क्षेत्र जस्तो व्यापक र विविधता युक्त कृषि उत्पादन भएको ठाउँ विरलै पाइन्छ । यहाँका प्रत्येक कृषि उपजलाई बजारमा अधिक मुल्यका खाद्यवस्तुमा परिणत गर्दै जनताको जीवनस्तर उकास्न सकिन्छ ।

उदाहरणका लागि अहिले जनताको बारीबाट रायोको साग प्रति मुठा पाँच देखि १० रुपैयाँसम्म तरकारी बजारमा पुगिरहेको छ । त्यही रायोको सागलाई आन्तरिक पर्यटकलाई लक्षित होटेलमा पकाएर बेच्ने हो भने झण्डै ५० रुपैयाँ आम्दानी हुन्छ । यसरी यहाँका उत्पादनबाट यहीँका जनताले बढी मुल्य पाउँछन् ।

क्षेत्रका अरु समस्या के के हुन् जो तपाइले जितेमा लागु गर्नु हुन्छ ?

हाम्रो निर्वाचन क्षेत्र १० खानेपानीको अथाह भण्डार रहेको क्षेत्र भए पनि स्रोत व्यवस्थापन गर्न नजान्दा ठाउँ ठाउँका जनताले दुख पाएका छन् । यसलाई व्यवस्थित बनाएर र मुहान क्षेत्रका जनताको चित्त बुझाउने तर्फ लाग्छु । किनकी यसको डिपिआर सहित समस्याको समाधान निकाल्ने भिजन म सँग छ ।

तपाईलाई युवा र अलि अपरिपक्व भनेको सुनिन्छ । एक्कासी प्रतिनिधिसभाको उम्मेदवारको रुपमा पार्टीले अघि सारेको छ । अलि चाँडै भएन र ?

म अहिले ३९ वर्षको भएँ । यसै क्षेत्रमा युवा संघको वडा, नगर, क्षेत्र र जिल्ला हुँदै केन्द्रसम्म पुगेको छु । त्यस हिसाबले यो चाँडै भन्ने प्रश्न नै नउठनु पर्ने हो । संसार भर युवा नेतृत्वको माग छ र युवालाई विश्वास गरेका ठाउँमा राम्रो प्रतिफल पनि पाइएको छ ।

जस्तै ३४ वर्षको उमेरमा साना मारिन नामकी युवा फिनल्याण्डकी प्रधानमन्त्री बनिन् । आज कुशलता पुर्वक देशको नेतृत्व गरिरहेकी छिन् । हामै देशमा हेर्ने हो भने पनि संसारकै कान्छा मेयर र उपमेयरले देश हाँक्दैछन् । यस्तो अवस्थामा मलाई छिटो भएन र ? भन्ने की सबै ठाउँमा युवाको नेतृत्व खोज्ने ?