जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १७:५३

साउन महिना चुरा व्यापारीहरुका लागि दशैँ


कमला भुसाल

काठमाडौं । साउन महिना लागेसँगै जताततै हरियाली छाएको छ। सरद ऋतुको आगमनसँगै देशका विभिन्न स्थानका खेतका फाँट, लेक, वेशी र पाहडहरु प्राकृतिक रुपले हरिया भएका छन्। साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना भएकाले अहिले सडकका बीच९बीचका पेटीमा पनि फूलका बोटहरु हरियाली हरियो रंगले चम्किएका छन्। यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

यस्तै, प्राकृतिक वस्तुहरु त साउन महिनामा हरिया हुने हो। तर, अहिले गाउँ तथा सहरका बजारहरुमा पनि हरियाली रौनकले छाएको छ। काठमाडौंको असन, इन्द्रचोक, न्युरोड, बानेश्वोर, कलंकी, कोतेश्वोर लगाएत अन्य ठाउँहरुमा हरिया चुरा, मेहेन्दी, र हरिया लुगाको व्यापार गर्ने ठाउँमा पनि हरियो रंग बढी देखिएको छ । साउन लाग्नु अगाडिनै महिलाहरुले लगाउने सृंगारका सामानहरुको व्यापार ह्वात्तै बढेको छ ।

साउन महिना सुरु हुने दिन अगाडिनै बजारमा भिड लाग्ने यी बजारहरुमा साउन लागेपछि पनि उत्तिकै चहलपहल देखिएको छ। अहिले महिलाहरुले हातमा लगाएका हरिया चुरा, हरियो पोते र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ ।

साउन महिनामा सबै खालका व्यापारीलाई पनि व्यापार गर्न भ्याई–नभ्याई भएको छ । साउन महिना प्राकृतिक रुपमै हरियो महिना भएको र धार्मिक आस्था अनुसार हरियो रङलाई सौभाग्यको रंग पनि मानिएको छ । सौभाग्य सूचकमा रातो चुराले प्राथमिकता पाएपनि आजभोली नारीहरुले साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दो छ । साउनमा हरियो पहिरन गर्दा भगवान शिव प्रसन्न हुने धार्मिक विश्वास छ । पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ ।

हिमालयन पार्वतीले साउन महिनाभर निराहर रहि कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ । हिन्दु धर्म अनुसार साउन महिनामा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख शान्ती, समृद्धि, विद्या धन लगाएतका विषयमा सफलता प्राप्तहुने विस्वास वैदिक शास्त्रमा वर्णन गरिएको संस्कृतीविद्हरुको भनाइ छ ।

साउन लागे सँगै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटो चहल पहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरिया चुरा लगाउने क्रेज बढेको छ । काठमाडौंको काँडाघारीकी ७२ वर्षीय वृद्धा गोमा नेपालले साउन महिनामा हरिया चुरा लगाउनुपर्ने भन्ने चलन पछि आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,’म जन्मेको ७२ वर्ष भयो हाम्रा आमाका पालामा साउनमा हरियो पहिरन गर्ने भन्ने चलन पनि थिएन हामीले जान्ने बेलामा पनि यस्तो चलन थिएन। यो चलन नेपालमा आएको धेरै भएको छैन । यो सबै बाहिरी संस्कृति हो । यस्तो चलनले गर्दा विकृति पनि ल्याउन सक्छ ।’

अहिलेको समय भनेको पैसा अरुको देखासिकी गर्ने समय हो । एक दुई जनाले नयाँ चलन ल्यायो भने पैसा हुने र नहुने सबैले त्यहि देखासिकी गर्नुपर्छ त्यसैले यो भनेको व्यापारीलाई फाइदा हुने मात्रै कुरा हो । हरिया चुरा, हरियो पहिरन र मेहन्दी लगाउने चलन बाहिरी संस्कृतिको देखासिकी हो ।’

त्यस्तै कतिपय बुढापाकाले भने साउन महिनामा शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएको बताउँछन । भगवान पार्वतीले साउन महिनामा व्रत बसेर भगवान शिवलाई प्राप्ति गरेकोको विश्वासका आधारमा साउनको सोमबार शिवको पुजा आराधाना गरेमा मनोकामना पुरा हुने विश्वास गरिएको बुढापाकाको भनाई छ।

यस महिनामा शिवको पुजा आरधना गर्न देशभरका महादेव मन्दिरहरुमा भिड लाग्ने गर्दछ। यो महिनामा हरियो पहिरन गर्ने र भगवान शिवको आरधना गरेमा प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शिवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ । विशेष गरी शिवजीको आरधना गर्दा साउनको सोमवार जल, दुध, भाङ्, धतुरो चढाउने वैद्धिक परम्परा रहेको छ। श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुने विश्वास छ ।

यस्तै हरियो पहिरनमा धार्मिक विश्वास बढेसंगै व्यापारीहरुको व्यापार पनि बढेको छ। साउन महिनाभरि मेहेन्दी लगाउने व्यापारीलाई काम गर्न भ्याई नभ्याई हे गरेको मेहेन्दी लगाइदिने व्यापारी बताउँछन्। काठमाडौंको बागबजारस्थित मुम्बई मेहेन्दी ट्रेनिंग सेन्टरका संचालक ओम प्रकाश शाहले साउन महिना भनेको दशैं जस्तै भएको बताउनुहुन्छ ।

उहाँले यो महिना व्यापारको लागि राम्रो सिजन भएको बताउँनुहुन्छ । उहाँले यस महिना सामान्य डिजाइनको मेहेन्दी लगाएर मात्रै ८०÷९० हजार कमाउने गरेको बताउनु भयो । मेहेन्दीका विभिन्न खालका डिजाइन हुने गरेको उहाँको भनाइ छ । उहाँले १५० रुपैयाँदेखि ३००० रुपैयाँसम्म पर्ने डिजाइनमा मेहेन्दी लगाइदिने गर्नुहुन्छ । साउनको सिजनमा दैनिक करिब १५÷२० जना ग्राहक नटुट्ने भनाई छ ।

त्यस्तै असनस्थित चुरा व्यापारी करुणा क्षेत्रिले साउन लागेदेखि अहिलेसम्म एक लाख भन्दा बढीको चुरा बेचेको बताउनु भयो। उहाँले ‘अरु महिना भन्दा असार, साउनमा चुराको व्यापार बढ्ने गरेको छ । अहिले हरिया चुराको सिजन छ यो सकियलगत्तै भदौका लागि रातो चुराको व्यापार बढ्ने गरेको छ।’ त्यस्तै पोते व्यापारीलाई पनि यो महिना फलिफाप भएको छ ।