जनता टाइम्स

२५ पुष २०७९, सोमबार १८:२६

संसदको पहिलो बैठकमै केपी ओलीको अपिल : देशका लागि सँगै काम गरौं (पूर्णपाठ)


म सबै दलहरुलाई आग्रह र आह्वान गर्न चाहन्छु,–सबै माननीयज्यूहरुलाई सकारात्मक योगदान गर्न आग्रह गर्न चाहन्छु । लेट्स वर्क टुगेदर । देशका लागि सँगै काम गरौं । बन्न पाएको छैन, बिर्गाने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ । हाम्रो समय रचनात्मक ढंगले उपयोग हुँदैन । रचनात्मक ढंगले हाम्रो समयलाई देशका लागि उपयोग गरौं 

माननीय सभाध्यक्षज्यू,

संविधान जारी भएपछि दोस्रो आमनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठकमा हामी उपस्थित भइरहेका छौं । यस सुखद् घडीमा म सम्पूर्ण निर्वाचित माननीय सदस्यज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । सबैको सफल सुखद् कार्याकालका निम्ति हार्दिक शुभकामना पनि भन्न चाहन्छु ।

सभाध्यक्षज्यू,

यो परिस्थिति यत्तिकै यहाँ आइपुगको छैन, धेरै बलिदानको श्रृंखलापछि हामी यहाँ आइपुगेका हौं । देश र जनताका लागि, लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन आहुती गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति यतिबेला म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु, उहाँहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । हामीलाई यहाँसम्म ल्याइपु¥याउन हामीलाई मार्गदर्शन गर्ने हाम्रा अग्रजहरु, जसले अन्धकार जमानाबाट आजको परिस्थितिसम्म ल्याउन नीतिगत, सैद्धान्तिक, वैचारिक, व्यवहारिक, राजनीतिक, सांगठिनक र अन्य विभिन्न ढंगले मार्गदर्शन गर्नुभयो, ती सबै अग्रजहरुप्रति सम्मान र आदर व्यक्त गर्न चाहन्छु र उहाँहरुप्रति कृतज्ञाताको भाव पनि व्यक्त गर्न चाहन्छु ।

सभाध्यक्षज्यू,

आज यस प्रतिनिधिसभा समक्ष धेरै ठूला जिम्मेवारीहरु छन । देशको राजनीति ठीक ढंगले, लोकतान्त्रिक ढंगले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्ने, लोकतन्त्रको रक्षा र सम्वद्र्धनमा अग्रसर हुनुपर्ने, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने त्यस दिशातर्फ राजनीतिलाई ठीक ढंगले अगाडि बढाउनु पर्ने अभिभारा मुख्य रुपमा यस सदनसमक्ष छ । हाम्रो अगाडि राष्ट्रियताको प्रश्नहरु छन । हामीले कतिपय राष्ट्रियताको समस्याको समाधान दिनुपर्नेछ । कतिपय कामहरु, सामाजिक क्रियाकलापहरु, कामहरु, साँस्कृतिक पक्षहरु माथि पनि ध्यान दिनुपर्नेछ । हामीले खाली जातको मात्रै कुरा गरेर हुनेवाला छैन । हामीले विविधताका कुरा मात्रै गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वद्र्धन गर्नुपर्नेछ । हाम्रा पूर्वजहरुले हजारौं वर्ष लगाएर विकास र स्थापित गरेका हाम्रा सामाजिक उन्नत संस्कृतिकोे रक्षा, सम्वद्र्धन गर्नु पर्नेछ । संस्कृति बिर्सियो भने, सामाजिक मूल्य मान्यता बिर्सियो भने समाज, समाज रहंदैन ।

आज अर्थतन्त्र बडो गम्भीर अवस्थामा छ । धेरै गम्भीर अवस्थामा छ । अर्थतन्त्र वास्तवमा राजश्व उपयुक्र्त ढंगले उठिराखेको छैन । राजश्व असुली धेरै वर्षपछि ऋणात्मकमा गएको छ, यस्तो पहिले भएको थिएन । अहिले ऋणात्मक भएको छ । यो गम्भीर कुरा हो । वैदेशिक मुद्राको सञ्चिती डरलाग्दोगरी घटेको छ, आयात गर्न सक्ने स्थिति छैन । निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भइराखेका छन । त्यस्तो खालको स्थिति भएको छ । त्यस्तो अवस्थामा महंगी बढ्दो छ, जनजीवन कष्टकर बन्दो छ । यस्तो अवस्थामा निर्वाचनपछिको यस प्रतिनिधिसभाले सकारात्मक समाधान खोज्नु पर्ने र देशलाई पछाडि सर्न होइन, त्यसबाट रोकेर अगाडि बढाउनु पर्ने उत्तरदायित्व बोकेर प्रतिनिधिसभा यहाँ उपस्थित भएको छ । त्यो गम्भीरतका साथ जानुपर्छ ।

भर्खरै हामीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु सुन्यौं । नयाँ सरकार गठन भएको हामीलाई जानकारी छ । हुनत प्रधानमन्त्रीज्यूले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनु नै हुनेछ । उहाँले प्राप्त गर्नु हुनेछ, म त्यसमा ढुक्क छु । आज पनि म उहाँलाई बधाई भन्न चाहन्छु, सरकारलाई बधाई भन्न चाहन्छु र चुनौती छन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छु । अहिले सहज परिस्थिति छैन । अहिले निर्वाचनपछि जसरी सरकार बन्यो, यो विगतका केही महिना अगाडि निर्वाचन सबै गतिविधि हेर्दा अलिकति नयाँ परिवर्तन देशले खोजेकै थियो । यो सरकारको गठनबाट पनि देखिन्छ । देशले परिवर्तन खोजेको थियो ।

अघि भर्खर प्रधानमन्त्रीज्यूले बोल्दा पार्टीहरुको उदयको कुरा, नयाँ माननीयज्यूहरुको यस गरिमामय संसदमा उपस्थितिको कुरा उठाउनु भयो । परिवर्तनको अपेक्षा, आकांक्षा जनताले बुझेकै देखिन्छ । त्यसैकारण नयाँ पार्टी किन आवश्यक भयो, किन आवश्यक भयो भने केही परिवर्तनको चाहना जनताले राखे । पार्टी खोल्दैमा आउने होइन । थुप्रै पार्टी थिए, थुप्रै मान्छे निर्वाचित भएर आएको थिएन, जसरी अहिले नयाँले उन्नती गर्ने खालको टे«न देखिएको छ । त्यो टे«न वास्तवमा परिवर्तनको कुरा हो । व्यक्तिको मानसम्मानका लागि होइन, देशमा उन्नती गर्नका लागि हामीले सरकार बनाउनु पर्छ । कम्तिमा त्यति हामीले रियलाइज गर्नु पर्छ । व्यक्तिको मानसम्मानका लागि होइन, देश चलाउनका लागि हो, देशमा उन्नती प्रगति गर्नका लागि, जनताका काम गर्नका लागि हामीलाई सरकार चाहिएको हो । सरकार बन्नका लागि बनिदिने होइन, काम गर्नका लागि बन्नु पर्छ । हामी सांसद भएर आएको पनि सांसद हुनका लागि होइन । सांसदको हैसियतले देश र जनताका निम्ति काम गर्नका लागि हो । त्यसका लागि हामी आएका हौं । हामीले त्यसैअनुसार काम गर्नुपर्छ । नयाँ दलहरु र ती दलहरुबाट निर्वाचित भएर आउनु भएका माननीयज्यूहरुलाई विशेष बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ।

प्रमुख प्रतिपक्ष दलका नेताज्यूले केही राजनीतिक विषयहरु उठाउनु भएको छ । तर, आज शुभकामना दिने सन्दर्भमा ततसम्बन्धमा म कुनै बहस र छलफल गर्न चाहन्नँ । यो थाती रह्यो । तर, प्रतिपक्ष दलका नेता माननीयज्यूले बहस खुला गर्नु भएको छ । त्यसलाई अन्य समयमा हामी छलफल गरौंला । यहीँ मञ्चमा पनि छलफल हुन्छ, अन्यत्र पनि छलफल भइहाल्छ । आज म त्यसमा जान चाहन्नँ ।

म कति मात्रै भन्न चाहन्छु भने–हाम्रा अगाडि धेरै चुनौतीहरु छन । सुशासनको चुनौती छ, भ्रष्टाचार नियन्त्रणको चुनौती छ, सामाजिक विभेदहरु अन्त्य गर्ने चुनौती छ ।हिजोका विभिन्न प्रकारका आन्दोलनका घाउँहरुमा मलमपट्टि गर्ने चुनौती छ । जनताका विभिन्न प्रकारका अपेक्षाहरु छन । अहिले पनि राजनीतिक बन्दीहरु तत्सम्बन्धी समस्याको समाधान गर्नु पर्ने, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधान गर्नु पर्ने चुनौतीहरु छन । अब हामीले एउटा गम्भीर शिक्षा लिनु पर्छ जस्तो लाग्छ । हामी मुख्यरुपमा लोकतान्त्रिक मूल्यमान्यतामा चलौं । सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ?त्यसकारण गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौं । आज राष्ट्रिय एकताको आवश्यकता छ । एकतावद्ध भएर राष्ट्रनिर्माणका काममा लागौं न ।

म सबै दलहरुलाई आग्रह र आह्वान गर्न चाहन्छु,–सबै माननीयज्यूहरुलाई सकारात्मक योगदान गर्न आग्रह गर्न चाहन्छु । लेट्स वर्क टुगेदर । देशका लागि सँगै काम गरौं । बन्न पाएको छैन, बिर्गाने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ । हाम्रो समय रचनात्मक ढंगले उपयोग हुँदैन । रचनात्मक ढंगले हाम्रो समयलाई देशका लागि उपयोग गरौं ।

आज थुप्रै समस्याहरु छन । हामीले सुकुम्वासीका, भूमिहीनका समस्या समाधान गर्नुछ । अपाङ्गता भएका व्यक्तिहरु, घाइतेहरु, अशक्त नागरिकहरुको समस्या, द्वन्द्व पीडितका समस्याहरु छन ।अहिले पनि मानिसहरु शरिरमा गोली बोकेर बसेका छन, घाइते भएर बसेका छन । आन्दोलनको असरबाट मुक्त भइसकेका छैनौं । त्यति लामो समय आन्दोलनभन्दा पछि भएको छैन, जहाँ हामी आन्दोलनका असरहरुबाट मुक्त भएर बस्न सक्दैनौं । अहिले पनि विभिन्न आन्दोलनमा साहदत प्राप्त गरेका व्यक्तिहरुका विदुवाहरु छँदै छन । एकल महिला र एकल पुरुषहरु छँदै छन । अशक्त, असहाय, वेसाहारा भइराखेकाका आमाबुबा, हजुरबुबा हजुरआमा छँदै छन । अहिले पनि टुहुरा टुहुरी छँदै छन, अहिले पनि तिनले पढाइ पाइराखेका छैनन्, तिनले हेरचाह पाइराखेका छैनन् ।ती कामहरु गर्नु पर्नेछ । हामी त्यतातिर हेर्छौ कि हेर्दैनौं ? हामी छाप्रातिर हेर्छौ कि हेर्दैनौं ?छाप्रा नै नभएका तिर हेर्छौ कि हेर्दैनौं ?कि खाली कुर्सीतिर मात्रै हेर्छौ ? त्यसकारण हामीले हाम्रो ध्यान त्यतातिर लैजाऔं ।

सरकार बनेको छ, यसको न्यूनतम कार्यक्रम अबिलम्व आउँदै छ । सरकारको एउटा घटकको हैसियतले र उच्चस्तरीय संयन्त्रको संयोजकको हैसियतले पनि म भन्न सक्छु, कि विधिवत ढंगले हामीले एउटा मार्गनिर्देश, नीति तयार गर्दैछौं । त्यो नीति अनुसार सरकार अगाडि बढ्ने छ । त्यो न्यूनतम साझा कार्यक्रम सम्बन्धी मार्गदर्शन हो । त्यसअनुसार सरकार अगाडि बढ्छ । यस सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्नेछ । अहिलेको समिकरणले त्यसका लागि काम गर्छ । संविधानको रक्षाका लागि काम गर्छ । एकताका नेपालमा बडो हल्ला चलाइयो– प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन भनेर ।

बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ भएछ, त्यसो हो भने ।संसदीय प्रणालीको जन्मदाता देशमा प्रतिगमन अस्तिसम्म पनि भएको भइ थियो । त्यति धेरै जान्ने पनि अलिक नहोउ कि ! मौका अनुसारका व्याख्या पनि यति धेरै नगरौं कि ! जस्तो पनि लाग्छ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु, जनताका अधिकारका लागि, जनताका अभिमतका लागि जनतामा जानु र जनताको सार्वभौमसत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसदबाट सरकार बन्नु, संसदबाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्र लगेर सरकार ढाल्ने गरियो भने प्रतिगमन हुन्छ । त्यसलाई प्रतिगमन भन्छ । अहिलेको समिकरण प्रतिगमनको पक्षमा छैन र जाँदैन । कु ठाउँबाट सरकार बनाउने ठाउँमा जाँदैन र जानु हुँदैन ।

हामी अहिलेको समिकरण समग्रतामा राष्ट्रियताको पक्षमा छ । देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन्छ, यसो भन्न नेपालीले अप्ठ्यारो मान्नु पर्दैन, यसो भन्नै पर्छ । कुनै पनि राष्ट्रका नागरिकले, कुनै पनि राष्ट्रको प्रतिनिधि संस्थाले, कुनै पनि राष्ट्रका नेताहरुले राष्ट्रको पक्षमा उभिन्छु, राष्ट्रको पक्षमा उभिन्छु, भौगोलिक अखण्डताको पक्षमा उभिन्छु, स्वाधीनताको पक्षमा उभिन्छु, राष्ट्रिय गौरवको पक्षमा उभिन्छु अथवा राष्ट्रिय हितको पक्षमा उभिन्छु है भन्न सक्दैन भने, त्योभन्दा निरिहता के हुन्छ ? त्यसकारण हामी त्यसो भन्छौं, त्यो गर्छौ ।हामीले त्यो भन्नु पर्छ र गर्नु पर्छ ।

यो सरकार बनेको जनताका लागि, जनताका दुःख कष्ट हेर्न हो । तराईमा शितलहर हुँदा अगाडिबाट ज्याकेट बाँड्ने, तराईमा पहिलेदेखि कम्बल बाँड्ने र हिमाली भेगमा जाडोको समयमा ज्याकेट र कम्बल बाँड्ने । तराईमा कम्बल बाँड्ने, हिमाली भेगमा ज्याकेट बाँड्ने हामी सरकारमा हुँदा अभ्यास सुरु गरेका थियौं ।मैले अखवारमा हेरिराखेको छु, मानिसहरु कठ्याग्रिराखेका छन, रातभरि आगो तापेर बिताइराखेका छन, दाउरा पाइराखेका छैनन् । गुइँठा बालेर स्वास्थ्य खराब गरिराखेका छन । शितलहरको जाँडोका कारण मान्छेहरुको कठ्याङ्ग्रिएर निधनसम्म हुँदैछ । यो कुरामा म सरकारको ध्यानआकर्षण गर्न चाहन्छु । त्यतापट्टि अबिलम्व ध्यान जाओस् र यस्ता इमिडेट कुराहरुमा सरकार संवेदनशील हुनुपर्दछ र तत्काल यस्ता कुराहरुलाई सम्बोधन गर्नु पर्छ । हामी सञ्चार माध्यमकोप्रचार के के कुरामा ध्यान जान्छ, त्यता होइन । जनताका समस्या कहाँबाट समाधान हुन्छ, त्यतापट्टि लाग्छौं । अतिरञ्जनापट्टि होइन, कामपट्टि लाग्नु पर्छ । के गर्दा प्रचार हुन्छ भन्ने होइन, के गर्दा उपलब्धि हासिल हुन्छ र के गर्दा काम हुन्छ, त्यतापट्टि हामी लाग्छौ ।

तसर्थ, अहिले हामी नयाँ प्रतिनिधि सभामा उपस्थिति भएका छौं । हामीले काम प्रारम्भ गर्ने यस पहिलो दिनबाटै अठोट गर्नु पर्छ । हामी सफल सांसद हुनेछौं, संसदको गरिमा बढाउने खालका सांसद हुनेछौं, संसदको सफलता बढाउने खालका सांसद हुनेछौं र यस प्रतिनिधिसभाले वास्तवमा जनताका प्रतिनिधिको हैसियतमा देशका आवश्यकता, जनताका आवश्यकता, जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी हामी काम गर्नेछौं । हामीले दुनियाँका संसदका अभ्यासहरु हेरेका छौं । हामी आफैँ नयाँ हुनसक्छौं तर हामीले म्याग्नाकार्टादेखि हेरेका छौं, हामीले इंग्लिस विल्डदेखि हेरेका छौं, हामीले फ्रिडम विलदेखि हेरेका छौं । हामीले १६८८ देखि संसदीइ प्रतिनिधि सभाका चुनावदेखि हेरेका छौं ।

हामीले विभिन्न देशका अभ्यासहरु हेरेका छौं । अमेरिकी सिनेटका हाउस अफ रिप्रिजेन्टेटिभ हेरेका छौं । भारतको लोकसभा र राज्यसभा हेरेका छौं ।हाउस अफ लर्ड र कमन बेलायतको हेरेका छौं । यी सबै हामीलाई थाहा छ । हामीले विभिन्न देशका संसदीय अभ्यास अध्ययन गरेका छौं । त्यसकारण हामी आपूm नयाँ छौं भनेर नयाँ अभ्यास थाल्ने होइन । भर्खर जन्मिएका हामी कलिला छौं नि, त्यसकारण हामीले साइन्स पनि नयाँ नै गर्नुपर्छ भन्ने होइन । अरुले सिकेका कुराहरु, अरुले विकास गरेका कुराहरुबाट अगाडि बढ्नु पर्छ । विज्ञान होस्, प्रविधि होस् वा अरु कुराहरु होउन् ।

सुशासनको सम्बन्धमा, भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा शुन्य सहनशीलता भन्ने कुरा आपूmप्रति, अरुप्रति भ्रष्टाचारको सम्बन्धमा सरकारको एउटा महत्वपूर्ण विषय हुनुपर्दछ । जनताले पत्याउनेगरी, विश्वास गर्नेगरी पारदर्शी ढंगले गर्नुपर्दछ । मैले विश्वास गरेको छु, शुन्य सहनशीलताका साथ सरकार अगाडि बढ्छ, हामी पनि अगाडि बढ्छौं । अहिले मैले धेरै केही भन्दिनँ । विषय उठिहालेको हुनाले चस्स कुरा छोएको मात्र हो । म सबै माननीयज्यूहरुलाई यस अवसरमा हार्दिक बधाई भन्न चाहन्छु, सफल कार्याकालका निम्ति फेरि पनि धेरैधेरै शुभकामना भन्न चाहन्छु । धन्यवाद !

(नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज २०७९ पुस २५ गते प्रतिनिधिसभालाई गर्नु भएको सम्बोधनको पूर्णपाठ)