जनता टाइम्स

९ माघ २०७९, सोमबार ०९:२४

प्रधानमन्त्रीलाई बिश्वासको मत प्रकरणले कांग्रेसमा लफडा, तत्काल फिर्ता लिनुपर्ने शेखर समुहको निश्कर्ष


काठमाडौं, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई विश्वासको मत दिएको विषयमा कांग्रेसमा अन्तरविरोध सुरु भएको छ ।

गुटको बैठक राखेर डा. शेखर कोइरालाको समूहले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन तत्काल फिर्ता लिनुपर्ने माग पनि गरेका छन ।
कोइरालाको समूहले समूहको आइतबार बिहान बसेको बैठकमा सांसदहरूले विश्वासको मत दिने पार्टीको कदमका विषयमा प्रश्न गम्भीर उठाएका थिए । त्यसपछि नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर पार्टीले गलत काम गरेको बताउनु भयो ।

‘कार्यसम्पादन समिति बैठकमा बहुमतले निर्णय भयो, हाम्रो कुरा सुनुवाइ भएन,’ कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत नै थियो । तपाईंहरूले उठाएको कुरा सही हो । तर हामी अल्पमतमा छौं, के गर्ने ?’ पार्टी पदाधिकारीहरूले भने कुनै प्रतिक्रिया दिएनन ।
सांसद राजेन्द्र बजगाईंका अनुसार बैठकमा पार्टीले विश्वासको मत दिन ह्वीप लगाएको विषयमा समेत सांसदले गुनासो गरेका थिए ।

हार्ने भएपछि उपसभामुखकी उम्मेदवार बनाइएकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने बताउनु भएको थियो । ‘जोसँग भइरहेको सहकार्य तोडियो, तत्काल सहकार्यको सम्भावना पनि छैन, उसलाई विश्वासको मत दिनुको अर्थ के हो ?’ यादवको भनाई थियो, ‘हामी सत्तापक्ष नरहेपछि विश्वासको मत दिनुको के अर्थ ? सरकारलाई दिएको समर्थन फिर्ता लिइनुपर्छ ।’ बैठकमा सांसदहरूले राष्ट्रपतिको निर्वाचनका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

कांग्रेस नेता चन्द्र भण्डारीले दाहालबाटै धोका भएको अवस्थामा उनलाई नै विश्वासको मत दिनु गलत कदम भएको बैठकको निष्कर्ष रहेको जानकारी दिनुभयो । ‘विश्वासको मत दिएर गल्ती भयो भन्ने त परिणाममै देखिँदै छ । नत्र कांग्रेसले विश्वासको मत दिनुपर्ने कुनै कारण नै छैन,’ भण्डारीले भन्नुभयो ।

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसीलगायत केन्द्रीय सदस्य र सांसद सहभागी हुनुहुन्थ्यो । पार्टीको संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको पक्षमा उभिएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा सहभागी हुनुभएन । यता सांसद् सन्तोष चालिसे र केन्द्रीय सदस्य उर्मिला थपलिया आइतबारको बैठकपछि कोइराला पक्षमा खुल्नुभएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गर्नुभएको थियो । पार्टीभित्र त्यसको विरोध भएपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट निर्णय गरिएको थियो । महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुन्छ भनेर त्यस बेला फरक मत राखेपनि पार्टीको ह्वीप नाघ्न सक्नुभएन ।

सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको निर्वाचनमा फरक समीकरण बनाउन प्रयास गर्नुभएको थियो तर त्यो प्रयाश सफल भएन । अब राष्ट्रपतिको निर्वाचनमा अन्तिम पटक गठबन्धन भत्काउन प्रयाश गर्ने कांग्रेसको योजना छ । राष्ट्रपति पनि सत्ता गठबन्धनकै भएपछि कांग्रेसले बिश्वासको मत फिर्ता लिने बताएको छ । राष्ट्रपति हातमा परिहाल्छ कि भनेर नै बिश्वासको मत दिएको कांग्रेसकै नेताहरुले बताइसकेका छन । कोइराला समुहले भने राष्ट्रपति पनि कांग्रेसले पाउने संभावना नरहेको निचोड निकालेका छन ।

बैठकमा उपसभापति धनराज गुरुङले आगामी महाधिवेशनका लागि पुनः शेखर कोइरालालाई नै सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको छ । पार्टीको १४ औं महाधिवेशन सकिएको एक वर्षमात्रै बित्दै छ । अर्को महाधिवेशनमा कसलाई सभापतिको उम्मेदवार बनाउने भन्नेबारे अहिले नै प्रस्ट नभए समस्या हुने उपसभापति गुरुङको भनाइ थियो ।