काठमाडौं, चैत १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा फरक मत राखेकै कारण बरिष्ठ नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोध्नुभएको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
बरिष्ठ नेता न्यौपानेले विगत गत माघमा बसेको बैठकमा फरक मत राख्नुभएको थियो । केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको भन्दै फरक मतलाई लिएर पार्टीले स्पष्टीकरण सोधिएको हो ।
यसैबीच नेता न्यौपानेले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने र आफूलाई कुनै फरक नपर्ने बताउनु भएको छ । ’स्पष्टीकरण मैले दिने दिने होइन, जनताले दिन्छन, चुनावमै दिइसकेका छन,’ न्यौपानेले भन्नुभयो, ‘पार्टीमा मैले फरक मत राख्दै आएको थिएँ, दुई लाइन सङ्घर्ष पनि चलेको थियो ।’
नेता न्यौपानेले एमालेसहितको पार्टी एकतामा जोड दिँदै आउनु भएको छ । तर माधव नेपाल पार्टीले एमालेबाहेकको एकता भनेर कांग्रेसतिर लाग्नुभएको छ । अध्यक्ष नेपालकै कार्यशैलीका कारण सम्मानित नेताझलनाथ खनाल पनि बिद्रोहको निश्कर्षमा पुग्नुभएको छ भने उपाध्यक्ष केदार न्यौपाने र नेता चूडामणि जंगलीले पार्टी त्यागिसक्नु भएको छ ।
तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बन्नुभएको थियो ।
एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपानेले पछिल्लो पटक एमालेसँग मिल्नुपर्ने लाइनमा उभिनुभएको थियो । केही समययता अध्यक्ष नेपालको कार्यशैली र कांग्रेस र भारत परस्त नीतिलाई लिएर सम्मानित नेता खनालदेखि केन्द्रीय कमिटीमा रहेका पाँच दर्जन नेताहरु संगठित बिद्रोहको तयारीमा रहनुभएको एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार केही समयभित्रै संगठित रुपमा बिद्रोहको तयारी भइरहेको छ ।
यही तयारी स्वरुप खनाललेआफू निकटसँग पराशर्म बढाउनुभ एको छ भने बरिष्ठ नेता मुकुन्द न्यौपानेले माधवबिरुद्ध पार्टीभित्रै अभियान चलाउनु भएको छ । बरिष्ठ नेता मुकुन्द न्यौपानेले माधव नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको ठोकुवासमेत गर्नुभएको छ ।
पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनुभएका बरिष्ठ नेता न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आउनु भएको थियो । उहाँले कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्ताव समेत राख्नुभएको हो ।
न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको ठोकुवा गर्नुभएको हो । न्यौपानेले अव पतन भइसकेका माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने पनि बताउनु भएको छ । यता झलनाथ खनालले पनि माधव नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व नहुने निश्कर्ष सुनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्