जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १४:२३

विद्युतिय सवारीमा नेपालीहरुकाे चासाे बढ्दै


कमला भुसाल

काठमाडौं । विद्युतिय गाडीमा धेरैको चासो बढ्दै गएको छ । प्रविधिको विकास संगै विश्वमा बहशको रुपमा रहेको विद्युतिय गाडी नेपालमा भित्रने क्रम बढेको छ ।नेपालमा विद्युतिय गाडीको प्रयोगको लागि सरकारले प्राथमिकतामा राखेको छ । अन्य गाडीको तुलनामा भन्सारदर एकदमै न्युन लगाएको छ । तर यसको मुल्य भने अन्तराष्ट्रिय बजारमा नै धेरै भएकाले नेपालीले प्रयोग गर्न नसक्ने कतिपयको आंकलन छ ।

विद्युतिय गाडी नेपालको व्यापार घाटा न्युन गर्ने एक वस्तु पनि हो । नेपालले वर्षेनी पेट्रोल आयातमा खर्बौ रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । नेपालको नदिमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत बढी उत्पादन हुने र विद्युतिय गाडीको नेपालले विद्युतिय गाडी प्रयोगमा ल्याउन सके जलविद्युतले बजार  पाउने देशको अर्थतन्त्रमा ठुलो टेवा दिने विश्वास गरिएको छ ।

विद्युतिय सवारीलाई विश्वभर प्रदुषण कम गर्ने उपाएको रुपमा पनि अर्थइएको छ । नेपालको परिवेशमा काठमाडौं उपत्यकामा साना तथा मझौला सवारी साधनहरू अत्याधिक मात्रामा चल्ने हुँदा अहिले सबैभन्दा बढी प्रदुषण हुने क्षेत्र काठमाडौंलाई नै मानिएको छ । अत्याधिक सडक जाम र सवारी साधनजन्य प्रदूषणको सबैभन्दा ठूलो असर पनि काठमाडौं उपत्यका तथा उपत्यका बासीलाई परिरहेको छ ।

काठमाडौं उपत्यकाको विशिष्ट भौगोलिकअवस्था र स्वरुपले गर्दा यहाँको वायुमण्डलको प्रदूषण भार बहन गर्न सक्ने क्षमता अत्यन्त न्यून रहेको छ ।

यस्तै अवस्थालाई मध्यनजर गर्दै काठमाडौंलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार शहरी क्षेत्रमा भएको यातयातको चापलाई न्यूनगर्न केहि कम्पनीले ठुला विद्युतिय बस भिक्राएका छन् भने केहि भिक्राउने तरखरमा छन् ।

भन्सार विभाग सार्वजनिक गरेको गतवर्षको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा कुल विद्युतीय सवारी साधन एक अर्व ४२ करोड ८४ लाख ४९ हजार मूल्य बराबरको सवारी साधन आयात भएको छ । अघिल्ला वर्षहरुमा भन्दा गत वर्ष विद्युतीय सवारी साधनमा उच्च वृद्धि भएको विभागको तथ्यांकमा देखिएको छ ।

विभागका अनुसार गतआर्थिक वर्ष २०७५÷७६ मा ८६ करोड आठ लाख १४ हजार रुपैयाँ बराबरका दुई हजार पाँच सय ७५ वटा तीनपाङग्रे विद्युतीय सवारी साधन भित्रिएका छन । कुल तीन पाङ्ग्रे साधनमध्ये चीनबाट दुई हजार एक सय ४९ थान नेपाल आएका छन् भने भारतबाट तीन सय ८१ थान सवारी भित्रिएको विभागको तथ्यांकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा चार हजार नौं सय ८९ थान तीन पाङ्ग्रे सवारी भित्रिएका थिए । जसमध्ये चीनबाट तीनहजार सात सय ६६ थान र भारतबाट एक हजार दुई सय २३ थान आएका थिए ।

त्यसैगरी गत आर्थिक २०७५÷७६ मा एक अर्ब ६ करोड ४० लाख ३२ हजार मूल्य बराबरका दुई हजार एक सय ७० थान चार पाङ्ग्रे सवारी साधन भित्रिएका छन् । यीमध्ये चीनबाट एक हजार चार सय २४ थान, भारतबाट पाँच सय ९० थान, दक्षिण कोरियाबाट १५३ थान, फ्रान्सबाट दुई थानभित्रिएका छन् । अघिल्लो वर्ष दुई सय ५० थानचार पाङ्ग्रे सवारी साधनमध्ये चीनबाट एक सय २९ थान र भारतबाट ७१ थान सवारी भित्रिएकाथिए ।

गत वर्ष २७ करोड ५० लाखतीनहजार बराबरका दुई पाङग्रे सवारी एक हजार आठ सय ८७ थान भित्रिएका छन् । जसमध्ये एक हजार आठ सय ८६ थान चीनबाट आएका छन् भने भारतबाट एक थानभित्रिएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष चीनबाट तीन सय ४३ थान र भारतबाट चार थान सवारी आएका थिए ।

भन्सार विभागको गततथ्यांक अनुसार विद्युतीय सवारी साधानको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकालाई स्मार्ट सिटी बनाउने नेपाल सरकारको योजना अनुरुप विद्युती सवारीको संख्या बढेको हो। नेपाललाई छिमेकी राष्ट्रहरुको भर पर्नु पर्ने र नेपाल जस्तो जलश्रोतको धनी देशमा पूर्वाधार भएर पनि प्रयोग हुन् सकेको छैन। डिजेल, पेट्रोलदेखि अन्य साना कुराहरुमा पनिअन्य देशमा भर पर्नु परेको छ ।

सरकारले अत्याधिक वायु प्रदुषणरहित र डिजेल, पेट्रोलबाट चल्ने सवारीको संख्या घटाउँदै जान विद्युतीय बस संचालनमा ल्याउन लागेको हो। केहि विद्युतिय बस नेपाल भित्रिए पनि सडकमा भने बस गुड्न सकेको छैन । यसका लागि अहिले सम्म चार्जिङ्ग स्टेशनको निर्माण भईसकेको पनि छैन।

सुन्दर यातयातले पनि भदौको दोस्रो सातामा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । सुन्दर यातयातलाई पनि चार्जिङ स्टेशन नहुँदा समस्या हुने सम्भावना देखिएको छ ।

व्यवसायी के भन्छन ?

सरकारले विद्युतीय बस सञ्चालनमा ल्याउने भने पनि चार्जिङ्ग स्टेशनको निर्माण गर्ने काम सुरु नै नगरेको सुन्दर यातयातका अध्यक्ष भेष बहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो,‘विद्युतीय बस सञ्चालनमा ल्याउने हल्लामात्रै मच्चाएको छ । चार्जिङ स्टेशननिर्माण गर्ने कुराको केही सुरुवात छैन सरकारले कानमा तेल हालेर सुतेको छ ।’ विद्युतीय सवारी चार्ज गर्नकालागि प्रति युनिट कति शुल्क त्यो पनि कायम नगरेको  बताउनुभयो । अहिले सुकेधारा र सितापाइलामा भएका दुई वटा चार्जिङ स्टेशनमा पनि सवारी चार्ज गर्न सम्झौता नभएको उहाको भनाई छ ।

साझा यातयातले ३ सय विद्युतिय बस भित्राउँदै

विद्युतिय बस खरिद गर्नको लागि साझा यातयातलाई सरकारले ३ अर्व प्रदान गरेको थियो । सरकारले साझा यातयातलाई दशैं अघिनै ५ ओटा विद्युतयि बस सञ्चालन गर्न भनेको थियो । तर सार्वजानिक खरिद ऐन अनुसार तत्कालै खरिद गर्न नसकिने भएपछि ३०० वटा बस एकै पटक आउने भएका हुन। साझायातयातका कार्यकारी निर्देशक भुषण तुलाधरले साझा यातयातले विद्युतीय बस खरिदको लागि कमिटि गठन अध्ययन गरी बोलपत्र आह्वान गर्ने अन्तिम तयारी गरेको जानकारी दिनुभयो ।

प्राधिकरणले चार्जिङ स्टेसन निमार्ण गर्न प्रस्ताव माग

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माण गर्न प्रस्ताव माग गरेको छ । एकैपटक ५० वटा सवारी साधन पार्किङ गर्नसक्ने र डेडिकेटेड चार्जिङ स्पेस उपलब्ध गराउन सक्ने संस्थासँग प्रस्ताव गरिएको छ ।

प्राधिकरणले सर्वसाधारणको धेरै भीड भाड हुने स्थान, व्यापारिक कम्प्लेक्स, सुपर मार्केट, सिनेमाहल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, अस्पताल, होटल र अन्य उपयुक्त क्षेत्र बाट प्रस्ताव माग गरेको छ । चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन ९जग्गाबाहेक० सम्पूर्ण खर्च प्राधिकरणको हुनेछ । डीसी बुस्ट चार्जिङ स्टेसन निर्माण गरिने र द्रूत गतिमा विद्युतीय सवारी साधन चार्ज गर्ने गरी काम सुरु भएको छ । सरकारले विद्युतीय सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्ने नीति लिएसँगै प्राधिकरणले सहजीकरण गर्न लागेको हो ।

विद्युत प्राधिकरणका सहायक प्रवन्धक सागर ज्ञवाली भनुहुन्छ, ‘चार्जिङ्ग स्टेशन निर्माण गर्नु ठुलो कुरा होईन । सरकारले तोकेका विद्युतीय बस आउनु लगत्तै चार्जिङ्ग स्टेशनपनि निर्माण हुन्छन् । विद्युतीय बस मोबाइल जस्तै हो जस्तै मोबाइल किन्नु अगाडी चार्जरको अभाव हुँदैन । पहिले त बस किन्न बाँकी छ, त्यसपछि बसको ब्याट्रि कस्तो छ,त्यही अनुसारको चार्जर हुनुपर्छ र त्यही अनुरुपको स्टेशन निर्माण हुन्छ ।’ उहाँले जहाँ जहाँ बस पार्किङ हुन्छ त्यहीँ नै स्टेशन बन्ने बताउनु भएको छ । तर, बसको लागि भने अहिले सम्म टेण्डर नहालेको  बताउनुभयो ।

विद्युत प्राधिकरणले विद्युतीय बसलाई प्रमोट गर्ने उद्धेश्य अनुरुप चार्जिङ्ग स्टेशन निर्माण गर्ने भएको हो । चार्जिङ्ग स्टेशन निर्माण गर्न कालागि चाहिने जग्गा पनि सरकारले उपलब्ध गराउने भएको छ । जहाँ बस राति पार्किङ्ग हुन्छ त्याहाँ चार्जिङ्ग हुने व्यवस्था प्राधिकरणले मिलाउने सहायक प्रबन्धक ज्ञवालीले बताउनुभयो ।