जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०७:२४

वाङको औपचारिक भ्रमण– चीनबाट नेपालले बुद्धिमत्तापूर्ण ढंगले लाभ लिन सक्नुपर्छ


 

काठमाडौं,भदौ २३ । चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आएका छन् । चीनबाट निकै लामो समयपछि यो हाइप्रोफाइल भ्रमण भएको हो । भ्रमणबाट नेपालले आर्थिक रुपमा र देशको विकास र समृद्धिको विषयमा चीनसँग छलफल गरी फाइदा लिनुपर्ने सरोकारवालाले बताएका छन् ।

विदेशमन्त्री वाङ पाकिस्तान भ्रमण सकेर नेपाल आएका हुन् । वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।

नेपालमा चीनबाट हाइप्रोफाइल भ्रमण लामो समयदेखि भएको छैन । सन २०१२ यता पहिलोपटक हुन लागेको हो, झण्डै ७ वर्षपछि सिले नेपाल भ्रमण गर्न लागेका हुन् । तर नेपालबाट भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतले चिनको भ्रमण गरिरहेकै छन् । विदेशमन्त्री वाङको यस भ्रमणले सिको नेपाल भ्रमणको विषयमा केन्द्रीत हुने बताइएको छ ।

चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको चर्चा पनि चलिरहेको छ । राष्ट्रपतिको भ्रमण अगाडि विदेशमन्त्रीको यो भ्रमणलाई महत्वको साथ हेरिएको छ । नेपाल र चीनविचको सम्बन्धलाई अझ उचाइमा पुराउन विदेशमन्त्रीको यो भ्रमण कोसेढुंगा साबित हुने पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाको विश्वास छ ।

नेपालले चिनसँग आर्थिक विकासका धेरै पाटा र बाटाहरुको बारेमा सिक्नु र सहकार्य गर्नु आवश्यक छ । नेपालमा चीनको यौटै अपेक्षा हो, नेपालको भूमि प्रयोग भएर आफ्नो विरोधमा कुनैपनि गतिविधि सञ्चालन नहोस् ।

चीन विरोधी गतिविधि नेपाली भूमिबाट कहिल्यै नहोस भन्ने चाहान्छ चीन । त्यसो त, नेपालमा जसको सरकार आए पनि चीनले खासै सक्रिय हस्तक्षेप वा प्रभाव जमाउने पक्षमा देखिएको छैन । तर, चीनले बिस्तारै विस्तारै दक्षिण एशियामा समेत आफ्नो प्रभाव बढाउंदै लगेको छ । तिब्र आर्थिक विकासमा अघि बढेको चीनबाट नेपालले बुद्धिमत्तापूर्ण ढंगले लाभ लिन सक्नुपर्छ ।

अहिलेसम्म चीनको कुटनीति शान्त कुटनीति नै हो । राजनीतिक रुपमा कतै देखिन नचाहने चीनले आर्थिक रुपमा भने आफ्ना छिमेकसंग बलियो आर्थिक कुटनीतिक सम्बन्ध बनोस भन्ने चाहन्छ । महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजनालाई अघि बढाउन चीनले छिमेकसंग अलि बढी नै अपेक्षा गरेको छ ।

गत वर्ष मात्र नेपालले समेत हस्ताक्षर गरेको बीआरआईमार्फत नेपालमा ठूला परियोजनाहरु अघि बढाउने चिनिया रणनीति हो । नेपालमार्फत भारतको विशाल बजारमा प्रवेश गर्न चाहेको चीनले यसकारणले पनि नेपाललाई विशेष महत्वमा राखेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिआरआइको कार्यान्वयन गर्न नेपाल प्रतिवद्ध रहेको बताउँछन् ।

चीनले गरेको अभूतपूर्व विकासबाट नेपालले पनि सिक्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले चिनिया विकासको लाभपनि असल छिमेकीको नाताले नेपालले लिन सक्नुपर्नेमा जोड दिए । नेपाल सधै एक चीन नीति प्रति स्पष्ट रहेको बताउदै अध्यक्ष प्रचण्डले अबका दिनमा नेपालको आर्थिक समृद्धिको निम्ति चिनिया“ सहयोग र साथ अझै अभिवृद्धि हुनुपर्ने बताए ।

त्यसो त, तीन वर्ष अघि दक्षिणी छिमेकी भारतले गरेको नाकावन्दीको बेलामा आम नेपालीले चीनलाई आशाको केन्द्रमा राखेकै हुन् । संकटको बेलामा चीनले थोरै नै सही, तिब्बतबाट पेट्रोलिय पदार्थ र अत्यावश्यक वस्तु भित्रिएकै हुन् ।

त्यसैबेलादेखि चीनसंगको कनेक्टिभिटी बढाउनु पर्छ भन्ने चेत नेपाली नेताहरुमा पलाएको थियो । अहिले, परम्परागत व्यापार नाकालाई खोल्न पहल भैरहेको छ । राष्ट्रपतिको भ्रमणका क्रममा चीनसंग सहमति भएको पारवहन प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले औपचारिक रुपमा चिनिया बाटो हुंदै तेस्रो मुलुकसंग व्यापारिक कारोबार गर्न पाउनेछ ।

अर्थात, चीनका बन्दरगाह र सुख्खा बन्दरगाहसम्म नेपालको पहुंच पुग्नेछ । विगतमा तातोपानी नाकाबाट मात्र कारोबार हुंदै आएकोमा अहिले रसुवागढीबाट व्यापारिक कारोबार भैरहेको छ । यो बाहेक किमाथांका कोराला, हिल्सा लगातय केही नाका खोल्ने विषयमा पनि चीनसंग छलफल अघि बढाउनुपर्छ ।

चिनिया राष्ट्रपति सि जिङपिङले बीआरआईको फ्रेमवर्कमा रहेर नेपालको विकास र समृद्धिका लागि जस्तो सुकै सहयोग गर्न चीन तयार रहेको बताएका थिए, गत वर्ष प्रधानमन्त्री केपी ओलीको चीनभ्रमणका क्रममा । नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतस“गका सम्बन्धका आफ्नै मौलिक विशेषता छन् । चीनसग नेपालको १५ सय वर्ष पुरानो अनौपचारिक सम्बन्ध छ । नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था छ । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । आर्थिक सहयोगमा उदारतापूर्वक अगाडि आएको छ । बीआरआईको नीतिलाई नेपालले इमान्दारितापूर्व सदुपयोग गर्न सके नेपाललाई फाइदा हुने निश्चित छ ।