जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १५:२५

श्रीलङ्का क्रिकेटका दोस्रो सबैभन्दा ठूला अधिकारीले दिए राजीनामा


कोलम्बो, १९ कात्तिक । श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।
श्रीलङ्का क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताउनुभयो । उहाँलाई अस्ट्रेलियामा हृदयाघात भएको पत्ता लागेको थियो ।
गत साता विश्व कप आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको शर्मनाक हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा आक्रोश व्यक्त गर्दै श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताउनुभयो । “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ”, उहाँले भन्नुभयो ।
डि सिल्भाले अस्ट्रेलियामा नियमित मेडिकल जाँचका क्रममा आफूलाई हृदयाघात भएको थाहा भएको भन्दै बोर्डमा आफू निर्वाचित पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभयो । उहाँले आफ्नो चिकित्सा अवस्था ‘स्पष्टरूपमा क्रिकेट विवादसँग सम्बन्धित तनाव र चिन्ताका’ कारण भएको उल्लेख गर्दै परिवारले आफूलाई पदबाट राजीनामा दिन भनेको बताउनुभयो ।
बिहीबार मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो ।
शनिबार मन्त्री रणसिङ्घेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० का पूर्ण सदस्यहरूलाई पत्राचार गरेर उनीहरूको समझदारी र समर्थनका लागि आग्रह गर्नुभएको थियो । “श्रीलङ्का खेलाडीहरूको अनुशासनको मुद्दा, व्यवस्थापन भ्रष्टाचार र म्याच फिक्सिङको आरोपमा श्रीलङ्का क्रिकेट घेरिएको छ”, पत्रमा रणसिङ्घेको भनाइ उद्धृत गर्दै श्रीलङ्काली मिडियाले बताएका छन् ।
आइसिसीले राजनीतिक हस्तक्षेप भएको भन्दै बोर्डमा भएको भ्रष्टाचारको छानबिन गर्न गत महिना नियुक्त गरिएको तीन सदस्यीय प्यानल फिर्ता लिन मन्त्रीलाई बाध्य पारेको थियो ।
भारतसँगको शर्मनाक हारको व्याख्या गर्न कोचिङ स्टाफलाई बोलाइएको बोर्ड स्रोतले बताएको छ । श्रीलङ्काले सन् १९९६ यता विश्व कप जित्न सकेको छैन ।
विश्व कप विजेता कप्तान अर्जुना रणतुङ्गाका भाइ एवं अर्का क्याबिनेट मन्त्री प्रसन्ना रणतुङ्गाले अगस्टमा संसद्लाई सन् १९९६ को जीत ‘हाम्रो क्रिकेटका लागि सबैभन्दा ठूलो अभिशाप भएको’ बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “सन् १९९६ पछि क्रिकेट बोर्डमा पैसा आउन सुरु भयो र सँगै चोर्न चाहनेहरू पनि क्रिकेट बोर्डमा आए ।”