एजेन्सी, २३ मंसिर । लोकसभाबाट निष्कासित भएपछि तृणमूल कांग्रेसकी नेता महुआ मोइत्राले आचार समितिलाई आफ्नो निष्कासनको सिफारिस गर्ने अधिकार नभएको बताएकी छन् ।
उनले भनिन् यस कंगारु अदालतमा जे भयो त्यसले अदानीलाई बचाउन मोदी सरकारले केसम्म गर्न सक्छ भनेर देखाउँछ । महुआ मोइत्राले भनिन्, ‘म ४९ वर्षकी भएँ र आगामी ३० वर्षसम्म संसदभित्र र बाहिर तपाईंहरूविरुद्ध लड्छु ।’
शुक्रबार संसदको आचार समितिको प्रतिवेदन लोकसभामा पारित भएको थियो र महुआ मोइत्रालाई ’पैसा लिएर प्रश्न सोधेको’ मामिलामा लोकसभाबाट निष्कासित गरिएको थियो ।
आचार समितिले आफ्नो प्रतिवेदनमा महुआ मोइत्रालाई लोकसभाबाट निष्कासन गर्न सुझाव दिएको थियो । समितिको सिफारिसमा सदन सहमत भएको लोकसभा अध्यक्षले बताए ।
यस प्रतिवेदनमाथि बहसको माग र महुआ मोइत्रालाई लोकसभामा आफ्नो धारणा राख्न दिने मागलाई सभामुखले खारेज गर्दै प्यानल बैठकमा आफ्नो पक्ष प्रस्तुत गर्ने मौका पाएको बताए ।
यसअघि दिउँसो, आचार समितिका अध्यक्ष विनोद कुमार सोनकरले प्रतिवेदन पेश गर्ने बित्तिकै कांग्रेस र टीएमसी सदस्यहरू सभामुखको मञ्चको नजिक आए र प्रतिवेदनको प्रतिको माग गर्दै नाराबाजी गरे ।
टीएमसी सदस्य कल्याण बनर्जीले आचार समितिको सिफारिसमा मतदान गर्नु अघि बहसको माग गरिन् । समितिले मोइत्रालाई सदनबाट निष्कासन गर्न सिफारिस गरेको थियो । प्रतिवेदन प्रस्तुत भएलगत्तै सभामुखको कुर्सीमा बसेका भाजपा सांसद राजेन्द्र अग्रवालले बैठक २ बजेसम्मका लागि स्थगित गरेका थिए ।
यसैबीच, कांग्रेस नेता अधिरञ्जन चौधरीले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेखेर सदस्यहरूलाई सदनमा छलफल गर्न तीन–चार दिनको समय दिएर अध्ययन गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘कम्तीमा तीन दिनपछि आचार समितिको प्रतिवेदनमाथि बहसका लागि मिति र समय तोकिदिन आग्रह गर्दछु ।’
कांग्रेस सांसद मनिष तिवारीले भने, ‘अधीर रञ्जनले भनेजस्तै हामीले यो प्रतिवेदनलाई ध्यानमा राखेर ३–४ दिनको समय दिएर सदनसमक्ष आफ्नो धारणा राखेको भए आकाश खस्ने थिएन किनभने यो एकदमै संवेदनशिल विषय हो ।’
संसदबाट बाहिरिएपछि महुआले के भनिन् ?
– कुनैै नगद वा कुनै उपहारको लिएको कुनै प्रमाण छैन ।
– हटाउनको लागि सिफारिसमा मैले मेरो लोकसभा पोर्टल लगइन साझा गरेको तथ्यमा मात्र आधारित छ । लगइनहरू साझेदारी गर्ने सन्दर्भमा कुनै नियमहरू छैनन् ।
– आचार समितिको सुनुवाइमा हामी सबै सांसद कन्भेयर बेल्ट भएकाले जनता र नागरिकका प्रश्न संसदमा उठाउन सक्ने कुरा स्पष्ट छ ।
– यदि मोदी सरकार मेरो मुख बन्द गरेर अडानी मुद्दाबाट अन्यत्र ध्यान सक्छु भन्ने सोचिरहेको छ भने, म तपाईलाई भन्न चाहन्छु कि यो कङ्गारु अदालतले सम्पूर्ण भारतलाई देखाएको छ कि यो प्रक्रिया हतार र दुरुपयोग भयो, यसले देखाउँछ । तपाईहरुका लागि मिस्टर अडानी कति महत्वपूर्ण हुनुहुन्छ । अनि मलाई चुप गराउन महिला सांसदलाई दुव्र्यवहार गर्न कुन हदसम्म जान सक्नुहुन्छ ।
– भोलि सीबीआईलाई मेरो घर पठाइनेछ । ती मानिसहरूले मलाई अर्को छ महिनासम्म यातना दिनेछन् । तर म मिस्टर अडानीको १३ हजार करोड रुपैयाँको कोइला घोटाला के हो ? भनेर प्रश्न गर्न चाहन्छु, जसलाई सीबीआई वा ईडीले हेरेको छैन ।
– लगइन पोर्टलसँग मैले राष्ट्रिय सुरक्षामा सम्झौता गरेको छु भन्नुहुन्छ ? मिस्टर अडानीले हाम्रा सबै बन्दरगाह, एयरपोर्टहरू किनिरहेका छन् र उनका शेयरधारकहरू विदेशी व्यावसायिक लगानीकर्ताहरू हुन् र गृह मन्त्रालयले उनीहरूलाई हाम्रो पूर्वाधार किन्न अनुमति दिइरहेको छ ।
– लोकसभामा बीजेपीका ३०३ सांसद छन्, तर तीमध्ये एकजना पनि मुस्लिम छैनन् । रमेश बिधुरी यस संसदमा उभिएर २६ मुस्लिम सांसद मध्येका एक दानिश अलीलाई गाली गर्छन् । उनीहरुमाथि कारबाही हुँदैन ।
– तपाईं अल्पसंख्यकहरूलाई घृणा गर्नुहुन्छ, तपाईं महिलाहरूलाई घृणा गर्नुहुन्छ । तपाईहरू नारी शक्तिलाई घृणा गर्नुहुन्छ । तपाईहरूलाई थाहा छैन शक्ति र अधिकार कसरी चलाउने भन्ने ।
– म ४९ वर्षको भएँ र आगामी ३० वर्षसम्म सदनभित्र, सदन बाहिर, सडकमा लडिरहनेछु, लडिरहनेछु ।
– महुआ मोइत्राले बंगालीमा भनिन्– जनताले तपाईहरूको अन्त्य देख्नेछन् । तपाईहरूसँग पञ्जाब छैन, सिन्ध छैन, द्रविड तपाईहरूको रहेन, उत्कल तपाईसंग छैन, बंगाल तपाईहरूको होइन । तपाईहरू कहाँबाट शासन गर्नुहुन्छ, यति शक्तिशाली बहुमत कहाँबाट ल्याउनुहुन्छ ?
– आचार समितिलाई निष्कासन गर्ने अधिकार छैन । तपाईंले अर्धन्यायिक अधिकार लिनुभयो र मेरो विरुद्ध कारबाही गर्नुभयो । तपाईंले प्रक्रियाको दुरुपयोग गर्नुभयो ।
– यो तपाईहरूको अन्त्यको सुरुवात हो । हामी फर्केर तिम्रो अन्त्य हेर्नेछौं ।
के छन् आरोप ?
महुआ मोइत्रामाथि भारतीय व्यापारी गौतम अडानी र उनको समूहको कम्पनीलाई निशाना बनाउदैं संसदमा लगातार प्रश्न सोधेको र त्यो पनि घुस लिएर भन्ने आरोप छ । यो आरोप भाजपा सांसद निशिकान्त दुबेले लगाएका हुन््, जसको महुआसँगको तितो विवाद जगजाहेर रहँदै आएको छ ।
महुआले यी आरोपलाई निराधार भन्दै आफु हरेक छानबिनको सामना गर्न तयार रहेको बताएकी छिन् । भाजपा सांसद निशिकान्त दुबेले लोकसभा अध्यक्षलाई पत्र पठाएर महुआले दर्शन हिरानन्दानी नामका व्यापारीसँग घुस लिएको र अदानी समूह र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्र्दै प्रश्न सोधेको आरोप लगाएका थिए ।
एक पत्रको बारेमा दाबी गरिएको छ कि यसमा दर्शन हिरानन्दानीले मोइत्राले अदानी समूहलाई लक्षित गरेको दाबी गरेका छन् । तर, मोइत्राले सो पत्र झूठो रहेको भन्दै प्रतिवाद गरेकी थिइन् ।
दुबेले लोकसभा अध्यक्षलाई दिएको उजुरीमा जय अनन्त देहद्राई नामका वकिलले यी आरोपहरू प्रमाणित गर्ने प्रमाण दिएका थिए । देहद्राइ त्यही व्यक्ति हुन् जसलाई महुआ मोइत्राले ‘जिल्टेड एक्स’ अर्थात् निराश ‘पूर्व प्रेमी’ भनेकी छन् ।
निशिकान्त दुबेले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेखेर संसदमा महुआ मोइत्राले सोधेका ६१ प्रश्नमध्ये ५० अडानी समूहसँग सम्बन्धित रहेको आरोप लगाएका छन् ।
महुआ मोइत्राले रियल स्टेट समूह हिरानन्दानी ग्रुपका प्रमुख अर्बपति व्यापारी दर्शन हिरानन्दनीको व्यापारिक स्वार्थ पूरा गर्न आपराधिक षड्यन्त्र रचेको उनको आरोप छ ।
यी आरोपहरूमा महुआ मोइत्राले बीबीसीलाई भनिन्, ‘यी आरोपहरूमा कुनै औचित्य छैन । यदि मैले कुनै उपहार लिएको छु भने त्यसको सूचि कहाँ छ ? एक निरास पूर्वप्रेमीको दाबीको आधारमा भाजपाले मलाई निशाना बनाएको छ । यो प्रयास सफल हुने छैन ।’
के भयो आचार समितिको सुनुवाईमा ?
संसदको आचार समितिले सबै दललाई बोलाएर यस विषयमा छलफल गरेको थियो । महुआ मोइत्रालाई नोभेम्बर २ मा बोलाइएको थियो ।
उनी यस प्रश्नको जवाफ दिन पुगेकी पनि थिइन् । तर केही समयपछि उनले बसपा सांसद दानिश अली सहित अन्य विपक्षी सांसदहरूसँगै बैठक बहिष्कार गरेर बाहिर निस्किन् ।
महुआले समितिमा आफूलाई व्यक्तिगत प्रश्न सोधेको र सीमाभन्दा बढी व्यक्तिगत प्रश्न सोध्दा समितिको सुनुवाइबाट बाहिरिएको आरोप लगाएकी थिइन् । ‘द हिन्दू’ लाई दिएको अन्तर्वार्तामा महुआ मोइत्राले एथिक्स कमिटीको सुनुवाइका क्रममा के भयो र कस्ता प्रश्न सोधिएको थियो भन्ने प्रष्ट पारेकी छन् ।
समितिका अध्यक्ष भाजपा सांसद विनोद कुमार सोनकरले महुआको आरोपलाई अस्वीकार गर्दै उनले अनुसन्धानमा सहयोग नगरेको बताए । समितिले नोभेम्बर १० सम्ममा लोकसभा अध्यक्षलाई प्रतिवेदन पठाएको थियो ।
दानिश अली १५ सदस्यीय आचार समितिका सदस्य हुन् । गत शनिबार उनले लोकसभा अध्यक्षलाई पत्र लेखेर महुआ मोइत्रालाई हटाउन सिफारिस गरेको प्रतिवेदनमा आफ्नो ‘प्रतिकूल टिप्पणी’ मा ध्यान दिन आग्रह गरेका थिए । उनले यो प्रतिवेदनमा असहमति जनाएका थिए ।
दानिश अलीले के भने ?
संसदको विशेष सत्रमा भाजपा सांसद रमेश बिधुरीले दानिश अलीमाथि गरेको ‘साम्प्रदायिक टिप्पणी’ को मुद्दा अझै पनि आचार समितिमा विचाराधीन छ । दानिश अलीले शनिबार भने, ‘पीडितलाई नै आरोपी बनाउने प्रयास भइरहेको छ ।’
उनले भने, ‘एकातिर आचार समितिले महुआ मोइत्राको विषयमा बुलेट ट्रेनको गतिमा काम गरेको छ, अर्कोतर्फ भाजपा सांसदले घृणास्पद अभिव्यक्ति दिएको सारा विश्वले देखेको छ र सबै कुरा रेकर्डमा छ । त्यसमा गाडी चल्दैन । यो पीडादायी छ र सोमबार यसको बारेमा सोधिनेछ ।
उनले भने, ‘महुआ मोइत्राको मुद्दा संसदको आचार समितिमा थियो, त्यसमा राम्रो सुनुवाइ हुन सकेको छैन । समितिले शपथपत्र दिने व्यक्ति दर्शन हिरानन्दनीलाई सोधपुछ गर्न सकेन ।’
उनले भने, ‘कहीँ कतै यो देशमा केही व्यक्तिविरुद्ध आवाज उठाए त्यसलाई हर हालतमा दबाउने छ भनेर सिद्ध गर्न त खोजिदै छैन ?
प्रतिक्रिया दिनुहोस्