वासिंगटन, ६ पुस । आप्रवासनसम्बन्धी बिषयमा छलफल गर्न अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल छिट्टै मेक्सिकोतर्फ प्रस्थान गर्ने ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आप्रवासीको सङ्ख्यालाई व्यवस्थित गर्न जारी प्रयासका बारेमा छलफल गर्नुका साथै कार्यान्वयनका उपायहरूको शीघ्र कार्यान्वयनका लागि पनि आग्रह गरेका छन् ।
अमेरिकाका दुई सीमावर्ती राज्य टेक्सास र एरिजोनाका अधिकारीहरूले हालैका दिनहरूमा गैरकानुनी क्रसिङहरू कम गर्ने उद्देश्यले अभूतपूर्व कदम चालेका छन् र सङ्घीय सरकारले निष्क्रियताको आरोप लगाएका छन् ।
बाइडेनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयरकास र ह्वाइट हाउसका होमल्याण्ड सेक्युरिटी एडभाइजर लिज शेरवुड रान्डेललाई आगामी दिनमा मेक्सिको भ्रमण गर्न आग्रह गरेका छन् ।
अमेरिकी सीमा प्रहरीले हालैका हप्ताहरूमा हरेक दिन लगभग १० हजार व्यक्तिहरू सीमा पार गरेको जनाएको छ ।
अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म, आप्रवासीहरूसँग प्रवेशको आधिकारिक बन्दरगाह र दक्षिणी सीमाको अन्य स्थानहरू पनि समावेश गरी सीमा गस्तीद्वारा अहिलेसम्म कै अत्यधिक सङ्ख्या अर्थात् २४ लाख मुठभेडहरू भएका थिए ।
मङ्गलबार अधिकारीहरूले मेक्सिको–टेक्सास सीमामा ईगल पास र एल पासोमा दुई रेल पुल क्रसिङहरू बन्द गरेका थिए ।
यसैबीच, ईगल पास साथै एरिजोना र क्यालिफोर्नियाको प्रवेश बिन्दुमा पनि यस महिनाको सुरुदेखि नै सवारी आगमन स्थगित गरिएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाइडन र लोपेज ओब्राडोरले प्रवेशका प्रमुख बन्दरगाहहरू पुनः खोल्नका लागि थप कामहरू तत्काल आवश्यक रहेको कुरामा सहमति जनाएका छन् ।
अमेरिकी टोलीले राष्ट्रपति लोपेज ओब्राडोरसँग भेट गरी वर्तमान सीमा चुनौतीलाई सम्बोधन गर्न एकसाथ गर्न सकिने थप कदमबारे छलफल गर्ने बताइएको छ ।
युक्रेन र इजरायलका लागि आपतकालीन सहायताको प्याकेज स्वीकृत गर्ने बदलामा बाइडेनको डेमोक्र्याट पार्टीको प्रतिस्पर्धी रिपब्लिकन पार्टीले आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्न दबाब दिइरहेका बेला वार्ता र भ्रमण हुन लागेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै हिंसाग्रस्त मध्य अमेरिकी मुलुकहरूबाट सीमापार आप्रवासनमा ‘नाटकीय वृद्धि’ भएको बताउनुभएको छ ।
किर्बीका अनुसार बाइडेन र ओब्राडोरबीच भएको टेलिफोन वार्तामा हालैका हप्ताहरूमा यहाँ आप्रवासीको सङ्ख्यामा भएको वृद्धिबारे पनि यस्तै चिन्ता व्यक्त गरिएको थियो ।
उहाँले भन्नुभयो, “दुई राष्ट्रपतिले मेक्सिकोभित्र के गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरेका छन् ।
किर्बीले भन्नुभयो, “रेल लाइन र राजमार्गहरूमा चेकप्वाइन्टहरू बढाउने र मेक्सिकोको दक्षिणी सीमामा सुरक्षा उपस्थिति विस्तार गर्ने विचारहरू छलफलका लागि बिषयका रूपमा समावेश गरिएका छन् ।”
प्रतिक्रिया दिनुहोस्