जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १९:०९

बमजनका विश्वास पात्रको बयान : सुरेशकुमार आले थाइल्याण्ड गए, अर्का भन्छन् – दक्षिण कोरिया


काठमाडौं, २६ पुस । २०७२ साल जेठ पहिलो साताको कुरा हो । निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र रामबहादुर बमजनको आश्रममा अनुयायीहरू मात्रै बस्थे। राष्ट्रिय वन कब्जा गरेको आरोपमा २०७० सालमा बमजनलाई जंगलबाट प्रहरी, प्रशासन र वन सबै मिलेर लखेटेका थिए । लखेट्नुपर्ने कारण वन क्षेत्र कब्जा गरेको एउटा छँदै थियो। अर्को, बमजनको तपस्या र ध्यान हेर्न मेला नै लाग्दा वन क्षेत्र मासिँदै अतिक्रमण बढ्न थालेको थियो ।

त्यहाँबाट लखेटिएपछि बमजन सिन्धुली पुगेका थिए। तर, जंगलभित्र एउटा आश्रम भने रहिरहेकै थियो, जहाँ केही अनुयायीहरू बस्थे । बमजन भागेपछि अनुयायीहरू पनि उनैसँग जालान् भन्ठान्दै प्रहरीले उनीहरूलाई केही समयसम्म बस्न दिइरह्यो । जितपुर सिमरा उपमहानगरपालिका–१८ (हालको ठेगाना) बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले त्यही आश्रममा बस्थे ।

बमजन त्यहाँ हुँदा र सिन्धुली सरेपछि पनि उनी कहिलेकाहीँ घर गइरहन्थे । आले अन्तिमपटक २०७२ साल जेठ पहिलो साता घर पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार उनले त्यसबेला आमा नन्दमायालाई भनेका थिए ( म आश्रम छोडेर आएको, अब जान्नँ । उनले खोई किन त्यसो भने आमाले नि राम्रो सोधिनन् कि कसो, उनी छोराको निर्णयमा मनमनै गदगद् थिइन् !

तर, केही दिन बित्दै आलेलाई लिन आश्रममा बस्ने बमजनका अनुयायी आए । उनी जितपुर सिमगरा उपमहानगरपालिका–१६ डुमरवानाका जसबहादुर वाइबा थिए । उनले ललाइफकाइ गर्दै पुनः आश्रममै फर्काएर लगे । कहिलेकाहीँ घर आउने गरेका आले त्यसपछि भने फर्केनन् । आश्रम जान्न भनिरहेको छोरो फर्केर नआएपछि नन्दमाया र बुवा हस्तबहादुरको मनमा चिसो पस्यो ।

उनीहरू सुरेशलाई खोजी गर्न थाले । यो सिलसिलामा आश्रम पुगे, सुरेशलाई भेटेनन् । नन्दमाया र हस्तबहादुर सुरेशलाई फकाएर आश्रममा फर्काउने जसबहादुर वाइबाको घरैसम्म पुगे । तर, उनको घर पुग्दा जसबहादुरले सुरेशकुमार थाइल्याण्ड गइसकेको बताउनुभयो । बुवाले आश्चर्य मान्दै सोधे – पासपोर्ट नै बनाएकै थाहा छैन, कसरी गयो थाइल्याण्ड ?

जसबहादुरले जवाफ फर्काए– खै, कसरी भन्ने, मैले पनि फेसबुकबाट थाहा पाएको हुँ । जसबहादुरले त्यसो भनेपछि उनीहरू फनक्क फर्किए । तर, सुरेशकुमार त वर्षदिन होइन, तीन वर्षसम्म फर्केर आएनन् । फेसबुकमा कतै भेटिएनन् । त्यसपछि शंका गर्दै जसमाया र हस्तबहादुर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए । त्यहाँ छोरा हराइरहेकाले खोजी गरिदिन भनी निवेदन दिए । उनीहरूको निवेदन २०७५ पुस १२ गते दर्ता भएको थियो ।

प्रहरीले त्यसको दुई महिनापछि फागुनमा जसबहादुर र निजगढका अर्का अनुयायी विजयलाल चौधरीलाई बोलाएर सोध्यो । जसबहादुरले पहिलेकै कुरा दोहोर्याए । थाइल्याण्ड । विजयलालले भने – उनी त नुवाकोटकी एउटी केटी लिएर दक्षिण कोरिया गए । ‘सिन्धुपाल्चोकमा हामी सँगै बसेका हौं, गुरुसँगै तपस्या पनि गरेको हो,’ विजयलालले प्रहरीमा गरेको कागजमा उल्लेख छ । यो कागज २०७५ साल फागुनमा गरिएको थियो ।

त्यहाँको प्रहरीले यत्ति कागज त गरायो, तर त्यो फागुन कति गतेको हो उल्लेख नै गरेन । निवेदन दिएको थाहा पाएपछि विजयलालले सुरेशका बुवा–आमा दुबैलाई धम्क्याएका थिए । ‘तिमीहरूले निवेदन दिएछौ, यो गुरुको विरुद्धमा भयो, ठिक भएन,’ विजयलालको धम्की यस्तो थियो । जसबहादुर बमजनका विश्वास पात्र मानिन्थे । कहिले थाइल्याण्ड, कहिले दक्षिण कोरिया गएका सुरेशकुमार अहिलेसम्म कहाँ छन् कसैलाई पत्तो छैन ।

जब, रामबहादुर बमजन पक्राउ परे त्यसपछि सुरेशसहित अन्य बेपत्ता चार जनाको खोजी सुरू भएको छ । र, विगतमा प्रहरीमा गरिएका कागजहरू पल्टाउन थालिएको छ। ती कागजात अहिले अनुसन्धानका विषय बनिरहेका छन् । ‘खै कहाँ छन् भन्ने कुरा त अनुसन्धानकै विषय बनेको छ, भर्खर त मानिस पक्राउ गरियो,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘खोजी सुरू भएको छ, हेरौं अनुसन्धानले केही न केही तथ्य फेला पार्ने कुरामा आशावादी हुनुपर्छ ।’

ब्युरोका एक अधिकृतका अनुसार सुरेशका बुवा-आमा दुबै बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा पुगेका छन् । उनीहरूले बमजनको विरूद्धमा निवेदन तयार पार्दैछन् । बारामा पहिल्यै गरिएको कागजात अनुसार बमजनको आश्रममा सुरेशकुमार २०६३ सालमै अनुयायी बन्न गएको देखिन्छ। आश्रममा कसरी नजिक भए भन्ने स्पष्ट छैन । बुवा–आमाले कहिलेकाहीँ बमजनको तपस्या हेर्न गएको भन्नेसम्म पत्ता लगाएका थिए भन्ने कुरा छ ।

कहिलेकाहीँ जाने-आउने गर्दागर्दै सुरेशकुमार आश्रममै बस्न थालेको प्रहरीले सुनेको छ । सुरेशका बुवा–आमाले प्रहरीमा गरेको कागजअनुसार अनुयायी बन्न जानुअघि सुरेशकुमार गाउँकै बोर्डिङ स्कुलमा पढाउँथे । उनी प्लस टु पास गरेका व्यक्ति थिए । उनको अंग्रेजी भाषामा दखल थियो । यसरी पढाउँदा पढाउँदै बमजनको आश्रम पुगेका सुरेशकुमार न थाइल्याण्ड पुगेको, न दक्षिण कोरिया पुगेको यथेष्ट प्रमाण भेटिएको छ। न पहिले तात्तातो अवस्थामा प्रहरीले खोजी नै गर्यो ।

बमजन अहिले नाबालिका आनीमाथि बलात्कार र यौनशोषणको आरोपमा सर्लाहीमा पुर्याइएका छन् । सर्लाहीकी ती आनीले आनीले बमजनविरूद्ध २०७१ सालमै जाहेरी दिएकी थिइन् । जबकि, त्यसको चार वर्षपछि सुरेशका बुवा(आमा खोजतलासको निवेदन लिएर जाँदा पनि बारा प्रहरीले खासै चासो लिएर हेरेको देखिन्न । प्रहरी आश्रमसम्म पुगेको भने देखिन्छ । बमजनले भू–तपस्था गर्ने स्थान, ध्यान गर्ने पीपलको बोट र बस्ने आश्रमको तस्बिर त्यसबेला खिचिएको देखिन्छ ।

‘त्यसबेला प्रहरीमा खासै बमजनविरुद्ध उजुरी थिएन, खोजीको निवेदन परेको बेला आफन्तले धाकधम्की सहेको कुरा कागजमा देखिन्छ,’ ब्युरोका ती अधिकृतले भन्नुभयो । ती अधिकृत सुरेशलाई जंगलभित्रै हत्या गरेर गाडेको आशंका गर्छन् । ‘अन्यथा, उनी विदेशमा थिए भने कि सम्पर्क गर्थे, कि फर्किन्थे,’ ती अधिकृत भन्छन्, ‘नेपालमै भए त केही न केही पत्ता लाग्छ नि ।’

यसको छिनोफानो अबको अनुसन्धानले गर्ने उनी बताउँछन् । सर्लाहीको अनुसन्धान र सुनुवाई सकिनासाथ बमजनलाई बारा लैजाने प्रहरीको तयारी छ । यतिबेलासम्ममा निजगढको जंगलबाट केही तथ्य उजागर हुनेतर्फ अनुसन्धान अधिकृत विश्वस्त देखिन्छन् ।

‘त्यसबेला को-को आनी बस्थे, अनुयायी को-को थिए, तिनीहरूसम्म पुग्ने हाम्रो योजना छ,’ ती अधिकृतले भन्नुभयो । २०७० मै बमजनलाई निजगढबाट हटाइएको एकातर्फ प्रहरी बताउँछ भने अर्कोतर्फ अनुयायीहरू २०७५ सालसम्म त्यहीँ बस्थे भन्ने तथ्य विरोधाभाषपूर्ण छ । बमजनलाई मात्र लखेट्यो, अनुयायीहरूलाई किन लखेटिएन ? प्रश्नमा त्यतिबेलाका अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले हाम्रो पालामा बमजनलाई जसरी भए पनि लखेट्यौं, पछि अरूले के–के गरे, किन बस्न दिइरहे भन्ने कुरा थाहा भएन ।’