जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १६:१२

प्रधानाध्यापकको लापारवाहीले विद्यालय बन्यो विद्यार्थी विहिन


सिरहा, ३ चैत । विकासको प्रमुख औजार भनेको शिक्षा हो । शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो । विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ ।
तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईको मनपरितन्त्र र राजनितिकरणले सिरहालगायत मधेस प्रदेशको समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको छ । यसको उदाहरण हो सिरहाको श्री आधारभुत विद्यालय रामनगर गुलरिया ।

२०३५ सालमा स्थापना भएको सिरहा नगरपालिका–९ स्थितको श्री आधारभुत विद्यालय रामनगर गुलरियामा प्रधानाध्यापक, अभिभावक र राजनितिककर्मीहरुको चरम लापरवाहीले विद्यालय अहिले विद्यार्थी विहिन बनेका छन् । श्री आधारभुत विद्यालय रामनगर गुलरीयामा करिव २५ वर्ष देखि कार्यरत शिक्षक श्याम कुमार यादव (हाल प्रधानाध्यापक) को चरम राजनीतिक चलखेलका कारण विद्यालय विद्यार्थी विहिन बनेका हुन् । कुनै समय सयौँको संख्यामा विद्यार्थी रहने यो विद्यालयामा अहिले खोजखाज पारेर १०/१२ जना विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ ।

२०७३ पछि श्याम कुमार यादवले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न थालेपछि विद्यालयको अवस्था खस्कदै गएको स्थानीयहरु बताउँछन् । उहाँ २०५५ सालदेखि यसै विद्यालयमा कार्यरत हुनुहुन्छ । अर्का शिक्षक सावित्रि शर्मापनि यहि विद्यालयमा २०५३ सालबाट काम गरिरहनुभएको छ । स्थानीय अमलेश यादवका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरु नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो । उहाँले भन्नुभयो,‘बाल बालिकाकालाई विद्यालय पढ्न पठाउने हो । अहिले जम्मा दुईजना शिक्षकहरु छन् । उनीहरु पनि नियमित नआउने भएपछि गाउँलेले अन्यत्र विद्यार्थी पठाउन थाले अहिले विद्यालयमा विद्यार्थीको अवस्था शुन्य छ ।’

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, एक सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भन्नुभयो,‘हामीले विद्यालयय सुधारका लागि विद्यालय प्रशासनसँग पटक–पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै भएन, अहिले शिक्षकहरुलाई मनलागेको दिन गाउँ चाहारेर ल्याएको विद्यार्थीसँग एकछिन अलमलिने गरेको छु।’

कोरोनापछि ३ वर्ष विद्यालय बन्द रहे । त्यसवेला शिक्षकहरुले घरै बसेर तलव खाए । यो कुरा प्रअ यादव आफै स्वीकार गर्छन् । विद्यालय धारासायी हुने अवस्था देखेपछि शैक्षिक शत्र २०८०मा स्थानीय सामाजिक अगुवा र जनप्रतिनिधीले ५५/६० जना विद्यार्थी खोजेर भर्ना गराएपनि प्रअको लापर्वाहीले विद्यार्थी १२/१५ जनामा झरेको वडा अध्यक्ष रामदयाल यादबले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले विद्यालयलाई सुधार गर्न धेरै प्रयास गर्यौं। एक जना स्वयम्सेवक (निःशुल्क)शिक्षक राखेर धेरै मेहनत पछि विद्यार्थी जम्मा गरायौं । प्रअले ती शिक्षकमाथि पनि अनावश्यक आरोप लगाउन थालेपछि आउन छाडे अहिले फेरी उही अवस्थामा पुगेको छ ।’ २५ वर्ष भन्दा लामो समयदेखि यहीँ विद्यालयमा बसेका शिक्षकहरु छन् । उनीहरुको सरुवा नभएसम्म विद्यालयमा सुधार आउने मैले देखेको छैन । उहाँले भन्नुभयो,‘मैले यस विद्यालयको सुधारको लागि कम्तीमा प्रअको सरुवा गर्नुपर्ने नगर शिक्षा समितिमा माग गरेको छु ।’

यस विद्यालयमा विद्यार्थीसंख्या न्यून छ । आएका विद्यार्थीको हाजिरी समेत हुँदैन । आधारभुत विद्यालयका लागि पुग्ने भौतिक पूर्वाधार भएपनि कालो पाटी (व्ल्याक वोर्ड) नभएको र धुलाम्मे कक्षाकोठामा पढाउने गरेको विद्यार्थीहरु बताउँछन् । ५५ जना विद्यार्थीको इमिस भरेको भएपनि अहिले १५ जनाको हाराहारीमा विद्यार्थी आउने गरेको प्रअ यादव आफै बताउँछन् ।

प्राधानाध्यापक यादवले भने साउनमै विद्यार्थी हारिजी रजिष्टर चोरी भएकाले विद्यार्थीको हाजिरी हुन नसकेको बताउनुभयो । विद्यालयमा तलव बाहेकका रकम नआएकोले नयाँ रजिष्टर खरिद गर्न नसकिएको प्रअको भनाई छ । उहाँले थप्नुभयो,‘विद्यालयको बैंक खाता म र अर्का शिक्षक शावित्री शर्माको नाममा छ । राजनीतिक प्रभावका कारण उहाँले तलवभन्दा अन्य रकम निकासामा हस्ताक्षर नगरिदिंदा पनि समस्या हुने गरेको छ ।’

राजनीतिक खिचातानीले दशक देखि विद्यालय व्यवस्थापन समिति विहिन

राजनीतिक खिचातानी र विवादका कारण पछिल्लो एक दशकदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । कहिले प्रअले चाहेको जस्तो व्यक्ति नपाउँदा त कहिले अभिभावकले भनेजस्तो व्यक्ति छनोट हुन नसक्दा व्यवस्थापनि समिति गठन हुन नसकेको स्थानीय युवाहरु बताउँछन् । प्रअले आफूले पटक–पटक कोशिस गरेपनि विवादका कारण विद्यालय व्यवस्थापन समिति गठन नभएको स्वीकार्नुभयो ।

स्थानीय बुद्धिजिवि र अभिभावक भने प्रअको चरम रानीतिक हठका कारण विद्यालय धरासायी भएको बताउँछन् । विद्यालयमा शिक्षक, अभिवावक, स्थानीय राजनितिकर्मीहरुले विद्यालयलाई राजनीति गर्ने प्रयोगशाला बनाएपछि शैक्षिक क्षेत्रको अवस्था ओझेलमा परेको जानकारहरु बताउँछन् । विद्यालयलाई राजनितिक थलो बनाएपछि समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको उनीहरुको भनाई छ ।