जनता टाइम्स

९ असार २०८२, सोमबार २०:४७

दैलेखको ग्यास उत्खनन् कार्य एक वर्षभित्र सुरु हुन्छः उद्योगमन्त्री भण्डारी


काठमाडौं, ९ असार ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्यास उत्खनन् कार्य एक वर्षभित्र सुरु गर्ने गरी मन्त्रालयले योजना बनाएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्यास अन्वेषणमा धेरैले चासो राखेको बताउनुभयो। यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको बताउनुभयो । एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ। नेपालको समृद्धिमा खानी, खनिजलगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन् गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।