जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ०८:३३

पार्टी एकता र एकीकरण प्रक्रिया ढिला हुँदा थुप्रै काममा गतिरोध उत्पन्न भयो : प्रधानमन्त्री ओली


देशमा दुई हिसाबले राजनीतिक परिवर्तन भएको छ । निरङ्कुशतन्त्र, निरङ्कुश राजतन्त्र, सामन्ती राजनीतिक प्रणालीलाई हामीले फालेका छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । यो लामो बलिदानपूर्ण संघर्षको परिणाम हो । यसले देशमा ठूलो परिवर्तन ल्याएको छ । तर यो मात्र परिवर्तन देशमा आएको होइन । नेपालमा विश्वमै नयाँ प्रकारको वामपन्थी आन्दोलनले समयानुकूल बाटो लिएको छ र त्यो बाटोले सफलता प्राप्त गरेको छ ।

समाजवादी प्रणाली लोककल्याणकारी राज्यका अवधारणाअनुसारको प्रणाली हो । केही धनी हुने, केही घरविहीन, रोजगारीविहीन, आम्दानीविहीन, अवसरविहीन गरिबै हुने, अभावग्रस्तै जिन्दगी बिताउनुपर्ने र केही मान्छेले अकुत सम्पत्ति कमाउने र त्यसबाट देश कति माथि पुग्यो भनेर धनीहरूको सम्पत्ति जोडेर प्रतिव्यतिm सरदर आम्दानी राष्ट्रिय समग्र उत्पादनसँग जोडिने यो प्रणाली होइन ।

सिङ्गै समाजलाई उठाउने र सम्पन्न बनाउने प्रणाली हामीले लिएका छौँ । यस प्रणालीमा जानका लागि कम्युनिष्ट पार्टीको नेतृत्व चाहिन्छ । कम्युनिष्ट पार्टीले सही विचार, गतिशील र अनुशासित सङ्गठनमार्फत एकताबद्ध भई सही नीतिका साथ देशलाई अगाडि बढाउने काममा अगुवाई र नेतृत्व गर्नुपर्छ । शान्तिपूर्ण ढङ्गले चुनावको माध्यमबाट जनताको मन जितेर सरकारमा जान सकिन्छ र देशको हितको पक्षमा राष्ट्रियतालाई मजबुत गर्न, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन, राष्ट्रिय स्वाधीनताको वास्तविक अर्थमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी विकासका अभियानलाई जनताको हितमा, समन्यायिक पक्षमा अगाडि बढाउन सकिन्छ भनेर हामीले त्यस ढङ्गले आन्दोलनलाई अगाडि बढायौँ ।

दुनियाँमा कम्युनिष्ट आन्दोलन जतिबेला समाप्त हुन लागेका थियो त्यहीबेला हामीले ठीक नीतिका साथ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायौँ, जोगायौँ र सफलतामा पुर्यायौँ । कम्युनिष्टहरू फुट्न जान्दछन् भन्ने अवस्थाबाट एकताबद्ध बनायौँ । अहिले देशमा कायम रहेको निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्न सजिलो छैन, साह्रै कठिन छ । यो बहुमत आउने प्रणाली होइन । हामीले सुदृढ बहुमतसहितको सरकार कायम गरेका छौँ । आज सङ्घीय संसद्मा नेकपाको ६४ प्रतिशतको बहुमत छ । सातमध्ये छ वटामा हामीले सुदृढ प्रदेश सरकार बनाएका छौँ । प्रदेश २ मा पनि हामी प्रमुख शक्तिका रूपमा छौँ र हामी विकासका सङ्कल्प लिएर अगाडि बढिरहेका छौँ ।

पार्टीको एकीकरण भइसकेपछि पनि तलसम्म पुर्याउन ढिला भयो । विभिन्न कारणले एकता र एकीकरणको प्रक्रिया ढिला हुँदा हाम्रा थुप्रै काममा गतिरोध उत्पन्न भयो । हामी आलोचित हुने स्थित पनि बन्यो । अहिले एकता, एकीकरणको प्रक्रियालाई टुङ्ग्याएका छौँ । अब पार्टीलाई गतिशील ढङ्गले अगाडि बढाउनुपर्छ । कतिपय कारणले हामीले सरकारले गर्नुपर्ने, पहिले नै गरिसक्नुपर्ने काम पनि केही पर सारेका छौँ तर हामी गर्छौँ । देशको अर्थतन्त्र तथा सामाजिक व्यवस्थालाई सुशासन र विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन चाहन्छौँ । देशको झण्डै दुईतिहाइ जनसङ्ख्या कृषिमा आधारित छ ।

कृषिको उत्पादनलाई नबढाइकन र राष्ट्रिय उत्पादनको अंशको रूपमा कृषिको योगदान कमै हुन्छ । किनभने हामी उद्योग, व्यापार, पर्यटन र सेवाका क्षेत्रलाई अगाडि बढाउँछौँ । ती क्षेत्रले ठूलो अंश ओगट्छन् । अब हामी कृषिलाई पछाडि पारिरहन दिन सक्दैनौँ । त्यसकारण प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अगाडि बढाउन खोजेका छौँ । अब नयाँ प्रविधिका साथ उत्पादनका क्षेत्रमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । कुनै पनि ठाउँ, कुनै पनि समय केही पनि खेर जान नदिनुपर्ने सदुपयोगको सिद्धान्तः जमिनको सदुपयोग हो । कुनै जमिनको कुनै टुक्रा खाली नरहोस्, अनुत्पादक नरहोस् । हाम्रो कुनै समय, शक्ति, सामथ्र्य अनुत्पादक र खेर जाने नहोस् । सबैको सदुपयोग गरेर अगाडि जान सकौँ । कृषिको आधुनिकीकरणका साथ अगाडि जान सकौँ भन्ने हाम्रो सोच हो । चाक्लाबन्दी वा सामूहिक खेती गरेर ठूलो मात्राको उत्पादन गर्नुपर्छ । अन्यथा हामी निर्यात गर्न सक्दैनौँ, उत्पादन वृद्धि पनि गर्न सक्दैनौँ ।

ठूलो मात्रामा उत्पादन भएपछि तदनुसार त्यहाँ प्राविधिक सहायता प्राप्त गर्न सक्छौँ । जब ठूलोस्तरमा हामी खेती गर्न थाल्छौँ, तब मात्रै हामी ती काम गर्न सक्छौँ । अबको कृषि सहकारीमार्फत वा मिलेर भए पनि बाली एउटै लगाउने खालको प्रणालीमा जानुपर्छ । एक ठाउँमा एउटा बाली, एउटा गाउँपालिका एउटा बाली अथवा एक कम्तीमा हजार, दुई हजार बिघा, १०–२० हजार रोपनीमा एउटा बाली हुनुपर्छ । त्यसो गर्दा त्यसलाई बजार पाइएन भन्ने समस्या हुँदैन । दुई डोका कुनै चिज उत्पादन गरेको छ भने कहाँ पुर्याएर बेच्ने ? समस्या हुन्छ तर दुई ट्रक भयो भने बजार पाउने समस्या हुँदैन । दुई सय ट्रक भयो भने त्यसले विदेशमा बजार पाउँछ र राम्रो आम्दानी हुन्छ । त्यसकारण हामीले एक ठाउँमा एउटा बाली र चक्लाबन्दीमा जान जरुरी छ ।

हामीले अहिलेको प्रविधि किसानलाई सिकाउने र त्यसअनुसारको खेती गर्नुपर्छ । प्राविधिकको पढाइ मात्र होइन प्रयोग पनि खेतमा गर्ने योजना बनाएका छौँ । त्यसप्रकारको विधिमार्फत किसानको चेतना आधुनिकीकरण हुने र कृषिसम्बन्धी प्रविधि पनि सिकाउन सहयोग मिल्नेछ । गतवर्ष कृषिमा छ प्रतिशतभन्दा बढी उत्पादन वृद्धि गरेका छौँ । गतवर्ष हामीले धान उत्पादनमा नौ प्रतिशत वृद्धि ग¥यौँ । यस वर्ष सुरुमा पानी नपरेर अलिकति धान जस्ता उत्पादनमा केही प्रतिकूलता थपिएको छ तर हामी जुन ढङ्गले अगाडि बढिरहेका छौँ, यसले यस वर्षको उत्पादनमा पनि राम्रै वृद्धि हुने विश्वास गर्न सकिन्छ । आगामी वर्षका लागि अन्य योजना बनाउने र गम्भीर ढङ्गले काम अगाडि बढाउने कोशिस गरिरहेका छौँ ।

सरकारका तर्फबाट कृषिमा अनुदान राहत उपलब्ध गराइरहेका छौँ । सरकारले कृषि औजार वा मलखाद आदिमा अनुदानको नीति कायमै राखेको छ । तर सम्पूर्ण अनुदानमा मात्रै वितरण गर्न सम्भव हुँदैन । किनभने त्यसलाई सन्तुलन पनि राख्नुपर्छ । उखुमा प्रतिक्विन्टल ६५ रुपियाँ अनुदान दिइराखेका छौँ । धान र गहुँभन्दा बढी उत्पादन लाभ हुन्छ भनेरै उखुमा लगानी गरिएको हो । धान, गहुँ र मकै खेतीमा प्रतिबिघा आठ हजार अनुदान जाने गरेको छ । मलखादमा समेत आठ हजार अनुदान जाने गरेको छ । उखुमा प्रतिबिघा २० हजारभन्दा बढी अनुदान जाने गरेको छ । थप ६५ रुपियाँभन्दा बढी, प्रतिक्विन्टल अनुदान दिने गरिएको छ । तैपनि त्यसमा घाटा छ । यो विचित्र भएको छ १ नाफा हुन्छ भनेर ऊखुलाई अन्यभन्दा प्राथमिकता दिने तैपनि सधैँ घाटा ! समस्यै समस्याग्रस्त हो भने उखुखेतीतर्फ अलिकति सावधान हुनुपर्ने हुन्छ । यसको लेखाजोखा गर्दैछौँ । कति जमिनमा कति चिनी चाहिने हो ? त्यसका लागि कति बिघा जमिनमा उखु उत्पादन गर्ने हो ? कति उखु लगाउँदा त्यसको प्रतिफल कति हुन्छ ? कृषिलाई अन्य क्षेत्रसँग तुलना गरेर त्यसमा सुविधा दिने कुरा हुनसक्छ । सरकारको लगानी अन्यत्रभन्दा धेरै बढी छ । जे होस् हामी यस्ता नगदेबालीतर्फ ध्यान दिन्छाँै । जीवन निर्वाहसँग सम्बन्धित कृषिलाई आत्मनिर्भरताको बाटोमा लाने काम गर्छौं ।

हामीले स्वस्थ रहनका लागि स्वस्थकर खानेकुरा खानुपर्छ । जसले स्वास्थ्यका लागि राम्रो गर्छ । खानामा अनेक प्रकारका विषादीयुक्त छ भने त्यसले रोगव्याधि जन्माउँछ । सस्तो किनेर खायो भने पनि त्यसले पछि औषधि उपचार र अन्य कुरामा खर्च हुँदा त्योभन्दा बढी महँगो पर्छ । त्यसकारण हामीले अब स्वस्थकर खानातर्फ ध्यान जानुपर्छ । बाल्यावस्थादेखि नै अस्वस्थकर खाना खान नपरोस् भन्नेतर्फ सरकारको ध्यान केन्द्रित छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासमा व्यवधान नपुगोस् भन्ने कुरामा ध्यान दिन्छौँ । कृषि बजारका निम्ति हामीले जिल्ला सदरमुकाम र प्रमुख बजारमा कृषि बजार केन्द्र स्थापना गरिरहेका छौँ । यो क्रमलाई अझ अगाडि बढाइनेछ । यसबाट किसानले उत्पादन गरेको चिज खेर जान पाउँदैन । स्वस्थ उत्पादन, उत्पादन र उत्पादकत्व वृद्धि, बजारको व्यवस्था, प्राविधिक सहायता र बीउबिजन, मलखाद आदि समयमा समुचित रूपमा उपलब्ध गर्ने कुरामा सरकारको ध्यान गएको छ  ।

म आफैँ हलो जोतेर, कोदालो खनेर खेती गरेर आएको मान्छे भएकाले कृषिसम्बन्धी मलाई थाहा छ । मैले आफैँले मकै र धानदेखि सागसब्जी लगाएको छु । त्यसकारण कृषिको समस्या के हो ? किसानका समस्या के हुन् ? यसका निम्ति सिँचाइका प्रबन्ध कसरी गर्ने कुरा थाहा छ । जहाँ सिंचाइ सम्भव छैन, त्यहाँ थोरै पानीले बढी फल्ने खालका जातको विकास गर्ने वा अन्यत्रबाट पनि त्यस्तो जातका बिउबिजन ल्याएर लगाउने कुरा एकआपसमा सिक्न जरुरी छ । कतिवटा जिल्लाले सानो ठाउँबाट धेरै लाभ लिइरहेका छन् । इलामले सबभन्दा बढी सघन ढङ्गले जमिनको प्रयोग गरेको देखिन्छ । इलामका किसानले अलिकति काल्नो पायो भने त्यहाँ इस्कुस लगाएर त्यसबाटै प्रशस्तै फाइदा लिएका छन् । भीर देख्यो भने त्यसमा अम्रिसो लगाएर लाभ लिएका छन् ।

अलिकति सम्म ठाउँ पायो भने आलु लगाएका छन् । खेत पायो भने धान लगाइएको हुन्छ । भैँसी, गाई केही पाल्न पायो भने त्यो पनि गरिएको छ । त्यहाँ हरेक जमिनको सदुपयोग भएको छ । सायद नेपालमा सबभन्दा गरिबी कम भएको जिल्ला इलाम नै होला । इलाममा खान लाउनै नपाउने गरिबी छैन । किनभने त्यहाँ जनतामा जागरण छ । जमिनको सदुपयोग गरिएको छ । त्यसो भएपछि मानिसले कुनै न कुनै हिसाबले रोजगारी पाउँछ र आम्दानी बढाउँछ । हामीले त्यसैगरी समय, जमिन, साधन, स्रोतको सदुपयोग गर्नुपर्छ । जसले रोजगारीका अवसर सिर्जना गर्छ । जसले आम्दानीका बाटा बनाउँछ । जसबाट हामी बालबालिकाको शिक्षादेखि लिएर ज्येष्ठ नागरिकको हेरविचारसम्म गर्न सक्ने अवस्थामा हुन्छौँ । त्यसकारण कृषिको आधुनिकीकरण अत्यन्त महत्वपूर्ण विषय हो र यसको नेतृत्व किसानले नै हो ।

तपाईंहरू नमुना किसान बन्नुपर्छ । तपाईंको बारीमा अलिक ठूलो घोगा मकै फल्नुपर्छ । अलिक झपक्क खुर्सानी फल्नुपर्छ । झपक्क टमाटर फल्नुपर्छ । ठूलै टमाटर फल्नुपर्छ । तपाईंका धानका बालाभन्दा झपक्क लामा र धेरै दाना फलेका हुनुपर्छ । कसरी गर्ने भन्नेबारे तपाईंले सिक्नुपर्छ । तपाईंकोमा सब्जीको कुनै अभाव हुनुहुँदैन । किसान नेताहरू नमुना किसान हुनुपर्छ । सङ्गठनको मात्रै होइन, किसान नेता भनेको उत्पादनको नमुना हुनुपर्छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक तथा शपथग्रहण समारोहमा दिनुभएको मन्तव्यको सम्पादित अंश ।)