जनता टाइम्स

१९ जेष्ठ २०८१, शनिबार १३:५९

बजेटमाथि छलफलमा सहभागी हुनुअघि सांसदहरूलाई पूर्वअर्थमन्त्रीको प्रशिक्षण


काठमाडौं, १९ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी बैठकमा बजेटमाथि छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीका सांसदहरुलाई पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलपार्टी महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडाले प्रशिक्षण दिइरहनुभएको छ ।

भोलिबाट सरकारले ल्याएको बजेटमाथि छलफल सुरु हुन लागेकाले आज दलको बैठक राखेर प्रशिक्षण दिइएको हो । बजेटमाथि सांसदहरुलाई प्रशिक्षणपछि अध्यक्ष ओलीले सम्बोधन गरेर बैठक टुंग्याउने तयारी छ ।

बैठकमा सांसदहरुलाई बजेटको पक्षमा प्रभावकारी भूमिका खेल्न अध्यक्ष ओलीले निर्देशन दिनुहुनेछ । यस्तै, बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा उठेको आशंकाको बिषयमा पनि छलफल हुने जनाइएको छ ।