जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार ०९:५५

नेपाल–चीनका उच्चस्तरीय भ्रमणको विगत


काठमाडौं, असोज २३

सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन् । राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए ।

परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप–प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन् । नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ । उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ ।

महेन्द्रको राज्याभिषेकमा चिनियाँ उप–प्रधानमन्त्री

विभिन्न पुस्तकमा लेखिए अनुसार सन् १९५६ मेमा काठमाण्डूमा भएको राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप–प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए । श्रेष्ठको पुस्तकमा तत्कालिन चिनियाँ उप–प्रधानमन्त्री वु लाङ्फुले नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको उल्लेख छ । लाङ्फुले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाएको पाइलाका लागि सहयोग गर्ने वचन दिएको पुस्तकमा लेखिएको छ । त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए । उनलाई चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री पनि भन्ने गरिन्छ ।

चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण

टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन् । आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए । त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्।

कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे । उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल–चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन् । चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्‌मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन् ।

उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, ‘चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले…. पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।’ सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन् ।

शान्ति तथा मैत्री सन्धि

नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ । त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रणमको निम्तो दिएर नेपाल आएका थिए । त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे । उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन् । त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो । उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए ।

सीमा सन्धि

त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो। सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए ।

उक्त छलफलमा माओत्सेतुङले ‘नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छ’ भनेको श्रेष्ठले लेखेका छन् । सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन् । उक्त समूहले नेपाल–चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ । उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन् ।

त्यसपछिका भ्रमणहरू

नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ । त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन् । तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन् ।

पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ । ‘इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए ।

कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ । हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन् । (बिबिसीबाट)