जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार ०२:०३

मध्यपश्चिम बिश्वबिद्यालयले कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी काम गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारको ध्यान मुलुकको रूपान्तरणमा केन्द्रित रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको मध्यपश्चिम विश्वविद्यालयको १५ औँ सभामा कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार मुलुकको समृद्धिका यात्रामा अघि बढेको बताउनुभयो । उहाँले सरकारको सम्पूर्ण ध्यान मुलुकको सकारात्मक रूपान्तरण र विकासमा केन्द्रित रहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभयो । देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न उहाँले विश्व विद्यालय टिमलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गर्नुभएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले १ सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गर्नुभयो ।