काठमाडौं, असोज ८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार असोज ९ गते बुधबारदेखि मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । बुधवार सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन?चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।
यी हुन उच्च जोखिमका जिल्ला
असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमका जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ ।
महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् । यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ । यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ ।
शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्