जनता टाइम्स

९ आश्विन २०८१, बुधबार १९:०९

दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौं, असोज ९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

असोज ६ गते पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलमा पनि चरित्र हत्या गर्ने गरी बोलेको आरोपमा प्रसाईविरुद्ध जाहेरी दर्ता भएको छ ।

देश दुनियाँ खबरमा प्रसाईंको अन्तर्वार्ता प्रसारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल फरार हुनुहुन्छ । प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिनुभएको थियो । अर्का एकजना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका छन । आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।