जनता टाइम्स

३ मंसिर २०८१, सोमबार १०:५०

दोलखाको गौरीशंकरमा यसरी चुनाव जित्दैछ एमाले


दोलखा, मंसीर ३ । राजनीतिक दलहरु मंसिर १६ गते हुने उप–निर्वाचनमा होमिसकेका छन् । दोलखाका राजनीतिक दलहरु पनि मनोनयन दर्ता अघिदेखि नै आफ्ना उम्मेदवारहरु घोषणा गर्दै चुनावी तयारी तथा प्रचार अभियानमा व्यस्त छन् ।

गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले एक चरण घरदैलो गर्न समेत भ्याइसकेका छन् । यो उपनिर्वाचनमा यी प्रमुख तीन दलका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । तुलनात्मक रुपमा यो पटक एमालेलाई जित निकाल्न परिस्थिति केही अनुकुल देखिन्छ ।

त्रिपक्षीय प्रतिस्पर्धा

अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा एमाले अगाडि देखिन्छ । २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कसिलो गठबन्धन हुँदा एमाले एक्लै प्रतिस्पर्धामा थियो । फलस्वरुप अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भए । मंसिर १६ गते उपाध्यक्षका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन् । जसको फाईदा एमालेले लिन सक्छ ।

गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच कसिलो गठबन्धन हुँदा अध्यक्ष उम्मेवारबीचको मतान्तर एक हजार बराबरको थियो भने उपाध्यक्ष उम्मेदवारको मतान्तर १३ सय हाराहारी थियो । गठबन्धन नहुँदा यो मत कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको आफ्नो उम्मेदवारलाई बाँडिदा आफ्नो उम्मेदवाको जित निकाल्न सहज हुने एमालेको आँकलन छ । एमालेको प्रारम्भिक मत सर्वेक्षण अनुसार एक हजार बढी मतान्तरका साथ पार्टी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले जित्न सक्ने सम्भावना छ ।

जुँगुमा बुथ कब्जा असंभव

गाउँपालिकाको वडा नम्बर १ र २ का मतदान केन्द्रहरु सम्वेदनशिल मानिछ । यहाँको निर्वाचनको निष्पक्षतामा एमालेले प्रश्न उठाउँदै आएको छ । जुँगमा यसअघिको निर्वाचनमा अप्रिय घट्नाहरु समेत भएका थिए । २०७४ सालको निर्वाचनका क्रममा युवा कुलबहादुर तामाङको माओवादी आक्रमणबाट हत्या भएको थियो ।

संघीय सांसद गंगा कार्की विश्व, पूर्वराज्यमन्त्री देवी खड्का, वागमती प्रदेशका पूर्वमन्त्री एवं माओवादी जिल्ला इन्चार्ज विशाल खड्का र गाउँपालिका अध्यक्ष विस्वास कार्की यसै भेगका स्थानीय समेत हुनुहुन्छ । यसअघिका चुनावमा ती स्थानहरुमा माओवादीले बुथ कब्जा गरेर बिदेशतिर भएकाको मात्र नभई स्वर्ग र नर्क सवैतिरका फर्जी मत हाल्ने गरेको थियो । ती मतदान केन्द्रहरुमा आफ्ना मतदाताहरुले स्वतन्त्र रुपमा मत हाल्न नपाएको तथ्यलाई एमाले नेताहरुले राख्दै आएका छन ।

उपनिर्वाचन हुँदै गर्दा सत्तामा कांग्रेस र एमाले छन् । उनीहरुले माओवादीबाट हुनसक्ने सम्भावित वलजफ्ती र फर्जी मत रोक्न मतदान कडा सुरक्षा व्यवस्थाबीच गराउन सक्छन् । एमालेका स्थानीय नेताहरु शान्तिपुर्ण र स्वतन्त्र मतदान हुँदा ती मतदान केन्द्रहरुबाट आफ्ना उम्मेदवारलाई सम्मानजनक मत प्राप्तहुने बताउँछन । जुन जितको लागि पर्याप्त हुनसक्छ ।

निकम्मा स्थानीय सरकारप्रति असन्तुष्टि

कांग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनसँगै गौरीशंकरको स्थानीय सरकार माओवादीको एकलौटी जस्तै छ । कतिपय मतदाताहरु निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार काम नभएको भन्दै असन्तुष्ट देखिन्छन् । मतदाताको अपेक्षा सम्बोधन गर्न नसक्दा स्थानीय सरकारप्रति मतदाता तहमा माओवादीभित्रै पनि असन्तुष्टि रहेको छ ।

गौरीशंकरमा विकासे योजनाहरुमा माओवादी भित्रका पनि टाठाबाठाहरुको हालीमुहाली रहेको, परिवारवाद हावी भएको, अनियमितता र बेथिति बढेको, निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार काम नभएको जस्ता आरोप लाग्ने गरेको छ । यस्तै हाइड्रोमा लुट मच्चाएको आरोप पनि माओवादीका उल्लेखित नेताहरुमाथि रहेको छ । एमालेले उक्त असन्तुष्टिको मत आफूतर्फ तान्ने रणनीति बनाउन सक्छ ।

स्थानीय सरकारमा अमुक दल विशेषको एकलौटी रोक्न उपाध्यक्षमा अर्को पार्टीका उम्मेदवार निर्वाचित गराउनु पर्ने मत पनि मतदातामा छ ।

उपयुक्त उम्मेदवार छनोट

एमालेले भुगोल, उमेर समुह र योग्यताका आधारमा उम्मेदवार छनोट गरेको बताएको छ । तुलनात्मक रुपमा अन्य भन्दा आफ्नो उम्मेदवार योग्य र उपयुक्त रहेको एमालेको दाबी छ । एमालेले अर्थशास्त्र अध्ययन गरेकी, उद्यमसँग जोडिएकी ३४ वर्षकी उमा शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

जिल्ला सचिव सोयमबहादुर खड्काले युवा, उद्यमी, पढेलेखेको बहुआयामिक उम्मेदवार एमालेले अघि सारेको बताउनु भयो । ‘गौरीशंकरका लागि सबैभन्दा उपयुक्त उम्मेदवार एमालेले अघि सारेको छ । युवा, पढेलेखेको, उद्यमी सबै हिसाबले योग्य उम्मेदवारलाई जिताउने मतदाताका लागि अवसर पनि हो,’ गैरीशंकर गाउँपालिकाका संस्थापक अध्यक्षसमेत रहनुभएका एमाले सचिव खडकाले भन्नुभयो ।

राजनीतिमा युवाले अबसर पाउनु पर्ने नयाँ पुस्तामा बढ्दै गएको डिमाण्ड पनि एमालेले सम्बोधनको प्रयास गरेको नेताहरुको भनाई छ ।

रणनीतिक तयारी

सांगठानिक रुपमा निकै बलियो मानिएको एमालेले यो उपनिर्वाचनमा आफ्नो उम्मेदवार जिताउन केही रणनीतिक तयारी गरेको बुझिएको छ । एमाले स्रोतका अनुसार उच्च मनोबलका साथ युवा दस्ता परिचालन गर्नेदेखि प्रतिस्पर्धी दलका मतदाता तान्नेसम्मको योजना बनेको छ ।

काठमाडौंमा रहेका मतदाता र गाउँका प्रत्येक मतदातामाझ पुगेर प्रचार अभियानलाई प्रभावकारी बनाउने रणनीति छ । जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले पार्टीको उम्मेदवार जिताउन सबै रणनीतिक बिकल्प प्रयोग गरिने बताउनु भयो । ‘गाउँपालिकामा एमालेले पाएको समानुपातिक मत हेर्दा एमाले सबैभन्दा ठुलो दल हो, त्यसले नै एमाले उम्मेदवार विजयी हुने कुराको पुष्टि गर्छ, मानन्धरले भन्नुभयो, ‘एमालेको चुस्तदुरुस्त बलियो संगठन, प्रतिवद्ध मतदाता छँदैछन । त्योबाहेक चुनाब जित्न अरु सबै बिकल्प प्रयोग गरिन्छ ।’

धेरै मास केन्द्रीत गरेर तडकभडक देखाउने भन्दा मतदाताको मनसम्म पुग्ने रणनीतिक योजना प्रयोग गर्ने एमाले नेताहरुको योजना छ । गौरीशंकरमा १२ स्थानमा २१ वटा मतदान केन्द्रहरु रहनेछन । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो गाउँपालिकामा कुल मतदाता संख्या १५ हजार ७ सय १८ रहेका छ ।