जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १३:५७

हेटौँडामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार र सरोकारवालाको भूमिका विषयक कार्यक्रम


मकवानपुर, १० जेठ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयको आयोजनामा गते हेटौँडामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले नेपालको संविधानको सही  कार्यान्वयन गर्ने हो भने विश्वकै उत्कृष्ट संविधान भएको बताउनुभयो । श्रेष्ठले अहिले जनताका आधारभूत विषयसँग सम्बन्धित धेरै कुराको सुविधा गाउँ ठाउँमा पुगेको भए पनि त्यसको उपभोग गर्ने नागरिक भने सहर र विदेश पसेका कारण गाउँ खालि भएका बताउनुभयो । ‘खाद्य अधिकार सुनिश्चितताको लागि सिँचाई कुलो खेतमा पुगेको छ तर खेत बाँझो छ, काम गर्ने जनशक्ति छैन, गाउँमा ज्येष्ठ नागरिक मात्र छन्, सबै सुविधा खोज्दै सहर र विदेश पलायन भएको अवस्था छ’, उहाँले भन्नुभयो ।

उहाँले सीमान्तकृत, एकल महिला, दलित सबैको अधिकारका विषयमा सरकार गम्भीर हुनु पर्ने बताउनुभयो । उहाँले अपाङ्गता श्रम र एकल महिलासम्बन्धी नीति बन्न आवश्यक रहेको बताउनुभयो । दलित, विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको परिपूर्तिका लागि ती समुदायको समस्या पहिचान गरी राज्यले काम गर्नुपर्ने श्रेष्ठले धारणा राख्नु भयो ।

उहाँले जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी र दायित्व बोध गरे नगरेको बारेमा नागरिक समाजका तर्फबाट पनि अनुगमन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक वाग्मती प्रदेश संयोजक गणेश भण्डारीले संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चितता गरेका अधिकार अझै ऐन र नियमावली नबन्दा नागरिकले उपभोग गर्न नपाएका बताउनु भयो ।

कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव विनोद अमात्यले नागरिकको अधिकार कार्यान्वयनका लागि कार्यक्रममा उठेका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

श्रम रोजगार तथा यातायात मन्त्रालयका विज्ञ सल्लाहकार तुलसीप्रसाद रिजालले मानव अधिकारका क्षेत्रमा अनुगमन गर्न यथोचित बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । नागरिक अधिकार रक्षाका लागि दबाब दिन आवश्यक रहेको उहाँको धारणा छ । श्रम रोजगार र नागरिकको आधारभूत अधिकारको अवस्था नाजुक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत लक्ष्मण पुडासैनीले बाल विवाह अन्त्यको लागि  मन्त्रालयबाट विशेष कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

गैसस महासंघ वाग्मती प्रदेश समितिका कार्यबाहक अध्यक्ष कमलकुमार विश्वकर्माले सबैका अधिकारका बारे सबैले बोल्नु पर्ने बताउनुभयो । सामूहिक पहलले मात्र नागरिकको अधिकार रक्षा सुदृढ हुने उहाँले बताउनु भयो ।