जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०८:३६

बागमती प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रदेश सरकारकाे आग्रह


हेटौंडा, असोज ७ । बागमती प्रदेशमा असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने जनाएको छ। यसबाट सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।

मन्त्रालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै, अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन मन्त्रालयले अनुरोध गरेको छ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन, पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत आग्रह गरिएको छ।

मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिन तथा निर्देशनको पालना गर्न अनुरोध गरेको छ।

प्रदेश सरकारसम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरिएको छ।

मन्त्रालयले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपाल १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ। साथै मन्त्रालयको विपद् सम्पर्क व्यक्तिको नम्बर ९८६९६९१२७४ रहेको सूचनामा उल्लेख छ।