काठमाडौं, असोज ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार र स्थानीय तहबीचको प्रभावकारी सहकार्य र समन्वयबाट मात्रै नागरिकका आवश्यकता सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ।
ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापाले प्रदेश र स्थानीय तहबीच सहकार्यलाई थप मजबुत बनाएर विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।
‘स्थानीय तह र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि वाग्मती प्रदेश सरकार स्थानीय तहसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छ।’
मुख्यमन्त्री थापाले ललितपुर महानगरपालिकाको विकास र समृद्धिको यात्रामा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। उहाँले जनताको प्रत्यक्ष सरोकार रहेका विकास निर्माण र सेवा प्रवाहका विषयमा प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

बुधबार ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुख्यमन्त्री थापालाई महानगरपालिकामा स्वागत तथा सम्मान गर्नुभएको थियो।
सो अवसरमा ललितपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै महानगरको समग्र विकास, पूर्वाधार, सेवा प्रवाह तथा समृद्धिका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा नगर प्रमुख महर्जनले महानगरपालिकाले हालसम्म गरेका तथा सञ्चालन गरिरहेका विभिन्न विकास निर्माण र सेवा प्रवाहसम्बन्धी कामबारे मुख्यमन्त्री थापालाई जानकारी गराउनुभएको थियो।
उहाँले समृद्ध ललितपुर निर्माणका लागि प्रदेश सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै महानगरका विकास योजनामा प्रदेश सरकारबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्