जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १४:३५

हामी सत्ताको गणितीय खेलमा छैनौँ, ८४ पर्खेर बस्छौँ: वर्षमान पुन


पाल्पा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको दाबी गरेका छन्। पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने जिकिर गरेका हुन्।

‘हामी सत्ताको गणीतय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ’, पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ। गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ। गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ।’

यसैबीच फरक प्रसंगमा उनले प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव र सहसचिव भइसकेका र उत्पीडित समुदाय र जातजातिभित्रका धनी मानिसले समावेशी कोटाबाट अवसर लिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन्।

‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव, सहसचिव भइसकेकाहरूले र निजी शैक्षिक संस्थाबाट राम्रो शिक्षा पाएकाहरूले समावेशीतामा अवसर पाउनुहुन्न। मन्त्री भइसकेका मेरा छोराछोरीले समावेशीताबाट होइन, प्रतिस्पर्धाबाट आउनुपर्छ’, उनले भने, ‘जनजातिले पाउनुपर्छ तर गरिब, किसान र पढ्न नपाएका जनजातिका छोराछोरीले अवसर पाउनुपर्छ। दलितले पाउनुपर्छ, नेता दलितले होइन, कमजोर र पछि परेको दलितले पाउनुपर्छ। मगरको नाममा काठमाडौँका महँगा निजी स्कुलमा पढेका मगरले समानुपातिक कोटाबाट अवसर लिने होइन, पाल्पाको गाउँमा सरकारी विद्यालय पढेका मगरले पाउनुपर्छ।’

१० जनयुद्धले एकात्मक र केन्द्रीकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय र क्षेत्रका जनतालाई राज्यमा बराबरी हकदार बनाएको उनले बताए। एक लाख हाराहारीमा रहेको निजामती प्रशासनमा २८ हजार महिलाको प्रवेश भएको तथा सरकारी अड्डामा दलित, जनजाति, मधेसी र थारु कर्मचारी भेटिने गरेको तथ्य उनले सुनाए।

‘२८ हजार ममिहलाहरू समावेशीबाट निजामती सेवामा प्रवेश गरिसकेका छन्। आज तपाईं अड्डा-अदालतमा जाँदा जनजाति, महिला, दलित, मधेसी सबै जातका मानिसहरू कर्मचारीका रूपमा देख्नुहुन्छ’, पुनले भने, ‘यो कमरेड प्रचण्डको नेतृत्वमा भएको जनयुद्धका कारण सम्भव भएको हो। यो ऐतिहासिक उपलब्धि हो, क्रान्ति हो।’

यस क्रममा पुनले शासकको भाषा नै सबैको भाषा, शासकको संस्कृति नै सबैको संस्कृति र शासकले लगाउने पोसाक नै राष्ट्रिय पोसाक भन्ने व्यवस्था हटाएर सबै जातजाति, सम्प्रदायका भाषा, संस्कृति र पोसाकलाई राष्ट्रिय मान्यता दिने गणतन्त्र ल्याउनु ठूलो उपलब्धि भएको बताए। पुनले जनजाति भएकै कारण उपेक्षा गरिएका राणा शासनविरोधी आन्दोलनका प्रथम सहिद लखन थापामगरलाई गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले उनलाई सहिदको मान्यता दिएको सुनाए।

‘राज्यमा जाति र क्षेत्रका आधारमा पहुँच हुने र नहुने असमानता हटेको छ। राज्यको मूल प्रवाहबाट पछि परेका जाति, लिंग वा समुदाय र क्षेत्रीय रूपले उत्पीडन र विभेदमा परेकाहरूलाई संविधानले नै व्यवस्था गरेर राज्यको मूल प्रवाहमा समाविष्ट गरेको छ’, पुनले भने, ‘हामी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र सामाजिक न्यायका अधिकार सहितका नेपाली जनता हौँ।’

जनतालाई सार्वभौम, मालिक र निर्णायक बनाउने आन्दोलनको नेतृत्व गरेका कारण आफ्ना अध्यक्ष प्रचण्डलाई राजनेता मानिएको दाबी उनले गरे।

‘यस अर्थमा हामी कमरेड प्रचण्डलाई राजनेता मान्छौँ। राजनेताले कि इतिहास बदल्छ कि इतिहास मोड्छ। अरू नेताले सामान्य निरन्तरतामा सुधार मात्र गर्छन्’, पुनले भने। माओवादी जनयुद्धले समाजमा विद्यमान सबै विभेदमा प्रश्न उठाएको र समाजलाई रुपान्तरणसमेत गरेको जिकिर उनले गरे।

फरक प्रसंगमा पुनले प्रचण्ड प्रधानमन्त्री भएका बेला पहिलोपटक मगर समुदायको माघे संक्रान्तिसहित विभिन्न समुदायका पर्वलाई राज्यले राष्ट्रिय पर्वको मान्यता दिएकामा केपी ओली नेतृत्वको तत्कालीन सरकारले हटाएको आरोप लगाए। तत्कालीन नेकपा नेतृत्वको ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा बादलले विभिन्न समुदायका राष्ट्रिय पर्वमा दिइने बिदा हटाएर वार्षिक क्यालेन्डर मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको आरोप पुनले लगाए।

त्यतिबेला ऊर्जामन्त्री रहेका पुनले आफू, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टले मात्र मगरलगायत समुदायका पर्व क्यालेन्डरबाट हटाउन नहुने भन्दै फरक मत राखेको तर अरू मन्त्री चुप बसेको पनि सुनाए।

‘प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि मगरहरूको पर्व माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा सरकारले मान्यता दियो। बादलजीले गृहमन्त्रीका रूपमा वार्षिक क्यालेन्डर मन्त्रिपरिषदमा प्रस्तुत गर्दा मगरको माघे संक्रान्ति, राई लिम्बूहरूको उधौली-उभौली, तामाङको, शेर्पा र गुरुङका ल्होसार र सुदूरपश्चिमको पहिचानका रूपमा रहेको गौरा पर्वलाई राष्ट्रियबाट हटाइएको थियो। दुई/तीन वर्षसम्म सबैको बिदा काटियो। प्रचण्ड फेरि फर्किएर प्रधानमन्त्रीमा आउनुभयो अनि ओलीजीले हटाएका राष्ट्रिय पर्वलाई मान्यता दिनुभयो।’

उनले नेपालमा बोलिने सबै भाषा, लगाइने पोसाक र मनाइने संस्कृति सबै राष्ट्रका गहना भएकामा जोड दिए। अर्को एक प्रसंगमा पुनले १८ महिना सरकारमा रहँदा प्रचण्डले भ्रष्टाचारका फाइल खोलेपछि संसद्‌का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको टिप्पणी गरे। सरकारबाट हटेपछि आफूहरूको ध्यान व्यवस्थाको सर्भिसिङ गर्नतिर गएको भन्दै पुनले त्यसैका लागि हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सकाएर हाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको उल्लेख गरे।