काठमाडौं, १० जेठ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ घर भई काठमाण्डौ महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ३० वर्षीय शक्ति खड्का र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २७ वर्षीय प्रविनकुमार मण्डल रहेका छन् ।
शक्तिले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ५५ लाख र प्रविनले कुवेत पठाइदिने भन्दै २ जनाबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्