जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार १५:५९

अमेरिकी राष्ट्रपतिको बाइडनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी


वासिङ्टन, मङ्सिर १७ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ । ‘हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो,’ राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भन्नुभएको छ ।

विशेष गरी यस्तो समयमा जब भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई र न्याय विभागमा वफादारहरू नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित छ । ‘बाइडेन जुनियर’लाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उहाँले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गर्नुभएको छ तर उहाँले सजाय भोग्नुभएको छैन ।

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनुभएको थियो । ‘मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु,’ राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उहाँले भन्नुभएको छ,‘काङ्ग्रेस (संसद्मा) मेरा धेरै राजनीतिक प्रतिद्वन्द्वीहरूले उनीहरूलाई ममाथि आक्रमण गर्न र मेरो चुनावको विरोध गर्न उक्साएपछि मात्र उहाँको मुद्दामा आरोप लगाइएको हो ।’ ‘म न्याय प्रणालीमा विश्वास गर्छु, तर जसरी मैले यससँग कुस्ती खेलेको छु, मलाई यो पनि विश्वास छ कि कच्चा राजनीतिले यो प्रक्रियालाई सङ्क्रमित गरेको छ र यसले न्यायको तुषारापात गराएको छ ।’

सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्तिसम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो । गत मे महिनामा बाइडेनलाई गलत व्यापारिक रेकर्ड बनाएको अभियोगमा ऐतिहासिक दोषी ठहर गरिए पनि राष्ट्रपति बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीले हन्टर बाइडेनलाई जेल बस्नुपर्ने बाध्यता भने थिएन । अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका थिए ।

बिल क्लिन्टनले आफ्नो सौतेनी भाइलाई पुरानो कोकिनको आरोपको लागि माफी दिनुभएको थियो र ट्रम्पले कर छलीको लागि आफ्ना सम्धी (ज्वाईँका पिता) लाई माफी दिनुभएको थियो । यद्यपि दुबै अवस्थामा ती व्यक्तिहरूले पहिले नै आफ्नो जेल सजाय भुक्तान गरिसकेका थिए । ट्रम्पले सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउन जनवरी ६, २०२१ मा अमेरिकी संसद भवनमा भएको भीषण दङ्गामा आक्रमण गर्ने समर्थकलाई माफी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आइतबार अबेर सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘यस्तो दुव्र्यवहार र न्यायमाथिको तुषारापात ! के जो (जो बाइडेन) ले हन्टरलाई दिएको क्षमादानमा जे–६ बन्धकहरू पनि सामेल छन्, जो अहिले वर्षौंदेखि जेलमा छन् ?’ हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उहाँलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

बाइडेनका वकिलले हन्टर राष्ट्रपतिका छोरा भएकै कारण अदालतमा उपस्थित गराइएको बताउनुभएको छ । हन्टरले पूराना करहरू भुक्तान गर्नुभएको छ र अधिकारीहरूले लगाएको जरिवाना पनि । यसपहिले हन्टर बाइडेनलाई जेलमा जान नपर्ने गरी एउटा सम्झौता गराइएको थियो तर त्यो सम्झौता अन्तिम समयमा रद्द भएको थियो । उहाँको मुद्दा लामो समयदेखि बाइडेन परिवारको पक्षमा काँडाको रूपमा रहेको छ । विशेष गरी, यो चुनावी वर्षको दौडानमा रिपब्लिकनहरूले हन्टरलाई धेरै नरम व्यवहार देखाइएको आरोप लगाएका थिए ।